नेकपाका नेतालाई दोहोरो जिम्मेवारी, मन्त्री र सांसदले पाए इन्चार्जको जिम्मा

बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाँडफाँड गरेको जिम्मेवारी अनुसार प्रदेश ५ मा अधिकांश नेताले दोहोरो जिम्मेवारी पाएका छन् ।
मन्त्री र सांसदको भूमिकामा रहेका नेकपाका नेतालाई थप जिम्मेवारी नेकपा केन्द्रीय कमिटिले दिएको छ ।

प्रदेश ५ मन्त्रीको जिम्मेवारी सम्हालिरहेका दुई मन्त्री नेकपाको जिल्ला इन्चार्ज बनेका छन् । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी रुपन्देही इन्चार्ज भएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी नवलपरासी पश्चिमको इन्चार्ज भएका छन् ।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, रुपन्देहीका जिल्ला समन्वय समितिका संयोजक एकराज विक र प्रदेशसभा सदस्य दधिराम न्यौपाने रुपन्देहीको सह–इन्चार्ज तोकिएका छन् । गिरी, भट्टराई र बिक पूर्व एमाले हुन् भने न्यौपाने पूर्वमाओवादी हुन् ।

यसअघि केन्द्रले जिल्ला सचिवको जिम्मेवारी दिएर राजीनामा गरेका न्यौपाने अहिले सह–इन्चार्ज भएका छन् । पूर्वमाओवादीका नेता हकिकुल्लाह खाँलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने चर्चा भए पनि उनलाई नेकपाले जिल्लामा कुनै जिम्मेवारी दिएन ।

पाल्पाको इन्चार्ज प्रतिनिधिसभा सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पाएका छन् भने प्रदेश सांसद तुलाराम घर्तीलाई सहइन्चार्ज बनाइएको छ । पाण्डे पूर्वएमाले हुन् र घर्ती पूर्वमाओवादी हुन् ।

कपिलवस्तुमा गिरीधारीलाल न्यौपाने इन्चार्ज र विमला घिमिरे सह इन्चार्ज भएका छन् । न्यौपाने पूर्वमाओवादी हुन् भने घिमिरे वाणगंगामा पूर्वएमालेबाट नगरप्रमुखमा पराजित भएकी थिइन् ।

गुल्मीको इन्चार्जमा प्रदेश सांसद् दिनेश पन्थी, अर्घाखाँचीको इन्चार्जमा नजिर मिया, सह इन्चार्जमा सुशीला श्रीपाली, प्युठानमा प्रदेश सांसद् कृष्णध्वज खड्का इन्चार्ज भएका छन् । पन्थी र खड्का पूर्वमाओवादी हुन् भने मिया पूर्वएमाले हुन् ।

दाङमा घोराही उपमहानगरपालिकाको प्रमुखमा पराजित भएका पूर्वमाओवादीका जिल्ला इन्चार्ज जीवन गौतमले इन्चार्जको जिम्मेवारी पाएका छन् । भागवण्डा मिलाउन दाङमा ९ जना सहइन्चार्ज बनाइएको छ । जसमा प्रतिनिधि सभा सांसददेखि प्रदेश सांसद र स्थानीय तहका प्रमुखलाई समेत सहइन्चार्जको जिम्मा दिइएको छ ।

प्रदेश सांसद इन्द्रजित थारु, प्रदेश सांसद दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, भागवत विश्वाशी, प्रतिनिधि सभा सांसद् मेटमणि चौधरी, हेमराज शर्मा, प्रतिनिधि सभा सांसद् तथा नेकपा सचेतक शान्ता चौधरीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । इन्द्रजित, दामाकुमारी, निर्मल र हेमराज पूर्वमाओवादी हुन् भने नरुलाल, भागवत, मेटमणि र शान्ता पूर्वएमाले हुन् ।

रुकुमपूर्वको इन्चार्जमा खेममान खड्का र सह इन्चार्जमा कमला रोका र प्रदेश सांसद तेजबहादुर ओली, रोल्पाको इन्चार्जमा प्रदेश सांसद दिपेन्द्र पुन, सह इन्चार्ज ताराकुमारी घर्ती र नविन रोकामगरलाई दिइएको छ ।

बाँकेको इन्चार्जको जिम्मेवारी दिनेश यादव, सह इन्चार्ज प्रतिनिधि सभा सांसद पूर्णाकुमारी सुवेदी, प्रतिनिधि सभा सांसद महेश्वरजंग गहतराज र महम्मद हारुन र बर्दियाको इन्चार्जमा लक्ष्मण ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । नवलपरासी पश्चिम, गुल्मी, प्युठान, बर्दियाले सहइन्चार्ज तोकिएको छैन ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्