पाँच महिनापछि पाउन थाले सुत्केरी भत्ता

हुम्ला, सिमकोट – गत फागुन महिनाबाट रोकिएको जिल्ला अस्पतालको प्रसूति गृहमा बच्चा जन्माए बापत पाउने भत्ता हुम्लाका महिलाहरुले पुनः पाउन थालेका छन् ।

कर्णाली प्रदेशबाट उक्त शिर्षकको बजेट कोष तथा लेखा नियन्त्रण कार्यालयका निकासा आएपछि उनीहरु सबैलाई सुत्केरी भत्ता वितरण सुरु गरिएको हो ।

बजेट निकासा नभएकै कारण फागुन महिनामा पाउनु पर्ने प्रसूति भत्ता रोकिएकोमा अहिले आएर पाएको सिमकोट पाँचकी जानदेवी रोकायाले बताईन् । सुत्केरी भएकै दिन पाउनु पर्ने उक्त भत्ता ढिलो पाएका हुन् ।

गर्भवति भएकी महिलाहरुले प्रसूति गृहमा सुत्केरी भए बापत तीन हजार र चारपटक गर्भ जाँच गरेपछि एक पटकका लागि चार सयका दरले भत्ता सरकार उपलब्ध गराउँदै आएको छ ।

समयमा भत्ता आए सुत्केरीलाई पोषिलो खानेकुरा किन्न सहज हुने भएको भए पनि भत्ता नआउँदा त्यसो गर्न नपाएको भत्ता पाउने महिलाहरुको गुनासो रहेको छ ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्