तिलगंगा आँखा अस्पतालका २५ वर्ष

आँखा उपचारमा विश्‍वमै अग्रणी

अधिकांश नेपाली माझ परिचित नाम हो, तिलगंगा आँखा प्रतिष्ठान। नेपालका आँखा अस्पतालहरुको नाम लिनुपर्दा धेरैको मुखबाट सबैभन्दा पहिला यही अस्पतालको नाम निस्कने गर्छ।

२५ वर्ष अगाडि (सन् १९९४) मा स्थापना भएको अस्पतालले यति धेरै चर्चा बटुल्ला भन्‍ने कसैले सोचेका थिएनन्। नेपालमा आँखाका बिरामीहरुका लागि केही गर्नुपर्छ भन्‍ने सोचका साथ डा. रिता गुरुङ र डा. सन्दुक रुइतले त्यो समयमा तिलगंगास्थित एउटा भवनमा अस्पताल सञ्‍चालन गर्ने योजना बनाए।

विज्ञापन

दुवै डाक्टर मिलेर उक्त भवनको दुईवटा कोटाबाट सेवा सुरु गरेका थिए। उनीहरु पालैपालो एकले बिरामीको जाँच गर्ने गर्थे भने अर्कोले शल्यक्रिया गर्ने गर्थे। अहिले अस्पतालमा डाक्टर मात्रै ३२ जान छन्।

उनीहरुसँग त्यति धेरै पैसा पनि थिएन। दुईवटा कोठा। एउटा सानो शल्यक्रिया कोठा अनि अर्कोतिर ‘इन्ट्राअकुलर लेन्स’को लागि कोठा छुट्याइएको थियो। इन्ट्राअकुलर लेन्स अर्थात मोतिविन्दुको शल्यक्रिया पश्‍चात आँखामा राखिने लेन्स ।

त्यो समय अर्थात आजभन्दा २५ वर्ष अगाडि ‘इन्ट्राअकुलर लेन्स’को मूल्य असाध्यै महङ्गो थियो। १५० डलरदेखि २०० सम्म पर्ने गर्थ्यो। जुन नेपालीहरुको आर्थिक पहुँचभन्दा बाहिरको कुरा थियो।

तर अस्पतालले नेपालमा लेन्सको उत्पादन सुरु गरेर महङ्गो शुल्कबाट ७ डलरमा बेच्‍न सक्‍ने वातावरण बनाइदियो। अहिले भने अस्पतालले त्यो मूल्‍य दुई डलरमा झारेर बिरामीलाई लेन्स प्रदान गर्दै आएको छ।

अस्पतालकी कार्यकारी अधिकृत डा. रिता गुरुङका अनुसार मोतिविन्दुका बिरामीहरुका लागि तिलगंगा अस्पतालले गरेको सबै भन्दा ठूलो योगदान यही हो।

अहिले नेपालमा मोतिविन्दुको शल्यक्रिया गरिका एकदमै कम विरामी अर्थात लेन्सको प्रयोग गर्नै नमिल्ने विरामी बाहेक सबैले यो लेन्स प्रयोग गर्ने गर्छन्। यो सम्भव हुनुको कारण नेपालमै लेन्स उत्पादन हुनु मान्छन् अस्पतालका सञ्‍चालक डा. सन्दुक रुइत।

त्यो समयमा उपत्यकामा त्रिपुरेश्‍वरमा नेपाल आँखा अस्पताल मात्रै थियो। तिलगंगा सुरु हुँदा नेपाल आँखा अस्पताल उपत्यकाका बासिन्दा माझ पूर्ण रुपमा स्थापित भइसकेको थियो। तर तिलगंगा भने अलिक फरक ढङ्गले प्रतुस्त भयो। जसका कारण छोटो समयमा नै बिरामीको मन जित्‍न सफल भयो।

अस्पतालको सुरुवाती दिनहरुमा ४० देखि ६० जना बिरामी आँखा परीक्षणका लागि आउने गरेको स्मरण गर्दै डा. गुरुङले भनिन्, ‘अहिले एक दिनमा १४ सयदेखि १५ सयसम्म बिरामीको आँखा परीक्षण हुने गरेको छ ।’ उनले थपिन्, ‘हामी सकेसम्म कुनै पनि बिरामी सेवाबाट वञ्चित नहुन् भन्ने चाहन्छौँ र उनीहरुलाई अस्पताल पुगेर उपचार नगरी नफर्किउन् भन्ने चाहान्छौँ तर कहिले काँही सोचे जस्तो नभइदिन पनि सक्छ।’

अस्पतालका सहयोगीहरु



डा. रुइत र डा. रीता आफ्नो कामप्रति लगनशील भएर लागि परेका थिए। अष्ट्रेलियाको गैर सरकारी संस्था फेड्रल्स फाउन्डेसनले डा. सन्दुक र डा. गुरुङलाई सहयोग गर्न चाहेको बतायो। फाउण्डेशन तिलगंगाको लागि पहिलो अन्तर्राष्ट्रिय साझेदार हो ।

फाउण्डेशनको सहयोग पश्चात अस्पतालले दुई कोठाबाट फराकिलो हुने अवसर पायो। डा. गुरुङले भनिन्, ‘हामीले एकै पटकमा होइन, अलि-अलि गर्दै यो सफलता पाएका हौँ, विस्तारै-विस्तारै हामीसँग अन्य डाक्टरहरु पनि थपिनु भयो।’ अहिले अस्पताललाई अन्य विभिन्‍न गैर सरकारी संस्थाहरुले सहयोग गर्दै आइरहेका छन्।

काम चाहे जुनसुकै किन नहोस्, निःस्वार्थ भावनाले गर्‍यो भने सहयोग गर्ने मानिसहरु धेरै आउने विश्वास डा. गुरुङको छ। उनले भन्छिन्, ‘हामीले गरेको कामलाई अरुले अवलोकन गरिरहेका हुन्छन्। राम्रो गर्‍यौ भने त अरु सहयोग गर्न आउने हुन नि। छलकपट गर्नेलाई कसले मन पराउँछ र? काममा सफल हुनका लागि काम प्रति दृढता भने हुनै पर्छ।’

त्यो समय उनीहरुले प्रत्येक मिनेटको महत्व राखे। न त शनिबार, न बिदाको दिन, न कुनै चाडपर्व नै उनीहरुका लागि खास भयो। उनीहरु लागि परे त केवल आफ्नो काममा। रात दिन कामकै बारेमा साच्‍न थाले। घरभन्दा धेरै समय कार्यलयमै बित्‍न थाले। कुनै दिन शनिबार घरमा बस्यो भने घरका मनिसहरुका लागि मजाका पात्र बन्‍न थाले उनीहरु।

डा. रिता गुरुङले त्यो क्षणलाई स्मरण गर्दै भनिन्, ‘म कुनै दिन अस्पताल नआएर घरमै बसेका बेला दीदीहरुले मलाई ओहो आज अचम्मै हुने भयो, तिमी घरमा बसिराको छौँ,आज कुन चाहिँ पर्खाल लड्ने हो भन्दै दिनभर जिस्काउनु हुन्थ्यो।’

अस्पतालको एकेडेमी एण्ड ट्रेनिङ



वीर अस्पतालमा रहेको नेशनल एकेडेमी अफ मेडिकल साइन्ससँग सम्बन्धन लिएर अस्पतालले यूनिभर्सिटीमा अध्यापन कार्यक्रम चलाइरहेको छ।जहाँ २५ जना आँखाको डाक्टर बन्‍नका लागि अध्‍ययन गरिरहेका छन्। उनीहरुले अब जाँच दिएर उतीर्ण भए लगत्तै आँखाको डाक्टर बन्‍नेछन्। त्यस्तै अर्को फेलोशीप ट्रेनिङ्ग हुनेगर्छ।

जसमा आँखाको डाक्टर भइसकेका डाक्टरहरु फेरि सब इस्पेसिलिस्ट हुनका लागि उनीहरुलाई ‘ट्रेन’ गरिन्छ। अहिले १५ जना सब इस्पेसिलिस्टका लागि फेलोशीप गर्दैछन्। इस्पेसिफिक इस्पेसिलिस्ट बन्‍नका एक वर्षको टेनिङ्ग लिनु पर्ने हुन्छ।

अस्पतालमा फेलोसिपका लागि नेपालका अन्य आँखा अस्पतालहरुबाट समेत डाक्टरहरु आउने गरेका छन् भने वर्मा, माल्दिभ्स जस्ता देशहरुका डाक्टरहरु अस्पतालले फेलोसिप दिइरहेको छ।

त्यसैगरी अस्पतालले अप्थ्यामोल असिस्टेन ( आँखा स्टाफ नर्स) ट्रेनिङ्ग दिने गरेको छ। जुन सिटिभिटीसँग मिलेर सञ्‍चालन गर्दै आएको छ। अप्थोमेट्रिक ट्रेनिङ्ग वा कोर्स जसमा आँखाको अनि चश्‍माको ‘कन्ट्याक्ट लेन्स’को कामबारे ट्रेनिङ्ग दिने गरिन्छ।

अनुसन्धान क्षेत्र



अस्पतालले विभिन्‍न कुराहरुमा रिसर्च गर्दै आइरहेको छ। यो अस्पतालको सबै भन्दा बलियो पाटो भएको डा. गुरुङले बताइन्। उनीहरुले न्यासनल हेल्थ रिसर्च काउन्सिलसँग मिलेर काम गरिरहेका छन्।

रिसर्च गरेर रिसर्चमै राख्ने अस्पतालको उद्देश्य नभएको उनले बताइन्। उनले भनिन्, ‘रिसर्च गरेर जे फेला पर्छ, त्यसलाई कार्यान्वयनमा लानु पर्छ, रिसर्च गरेको कुरालाई सर्वसाधारणमा लैजान्छौँ, जसलाई अरुले पढ्न सकुन्।’

अस्पतालले कुन लेवलमा के काम गर्यो भन्‍ने कुरा उक्त रिसर्चहरुले देखाउने उनको बुझाइ रहेको छ। रिसर्चको प्रसाशनिक टोली र ३२ जान डाक्टरहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको उनले बताइन्।

जिल्लाका कार्यक्रमहरु



अस्पतालले काठमाडौँ बाहिर हेटौँडामा समेत डेटौँडा सामुदायिक आँखा अस्पताल सञ्‍चालन गरेको छ जहाँ तीनजना डाक्टरहरुले सेवा प्रदान गरिरहेका छन्। उक्त अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया समेत हुने गर्दछ।

उक्त अस्पतालमा अहिले जेनरल अप्थ्यामोलोजिस्ट, अप्थोप्लास्टिक सर्जन, पिडियाट्रिक अप्थ्यामोलाजिस्ट गरी तीनजना सब इस्पेसिलिस्ट रहेका छन्। डाक्टरहरुले आफ्नो विशेषज्ञता अनुसार आँखाका विरामीलाई  उपचार सेवा दिइरहेका छन्।

यो सामुदायिक आँखा अस्पताल बाहेक १६ वटा सामुदायिक आँखा केन्द्र (कम्युनिटी आई सेन्टर) रहेका छन्। जहाँ डाक्टरहरु हुँदैनन् तर ट्रेन गरिएका अप्थ्यामोल असिस्टेनहरु हुने गर्दछन्। सामुदायिक आँखा केन्द्र भनेका नेपाल सरकारका हेल्थ पोस्ट जस्तै हुन्।

तर यी केन्द्रले आँखाका लागि काम गर्ने गर्छन्। जहाँ बिरामीले प्राथामिक उपचार पाउने गर्छन्। जहाँ आँखाका बिरामीले आँखा जचाउन, चस्मा बनाउन, आकस्मिक उपचार तथा औषधि पाइरहेका छन्।

डा.रीता गुरुङ

यी बाहेक अस्पतालले अहिले तीनवटा अस्पतालसँग समन्वय गरेर रिजनल आई केयर प्रोग्राम सेन्टर सञ्‍चालन गरेको छ। जुन गोल्छा आँखा अस्पताल विराटनगर, जानकी आँखा अस्पताल जनकपुर, नेटा आँखा अस्पताल धनगढी गरी तीन ठाउँमा सञ्‍चालन भइरहेका छन्। जसका लागि धेरै विदेशी संस्थाहरुले अस्पताललाई सहयोग गरिरहेका छन्।

काठमाडौँमा मात्र नभएर देशका धेरै जिल्लाहरुमा अस्पतालले आँखाका बिरामीका लागि सेवा पुर्‍याइरहेको छ। डा. गुरुङले भनिन्, ‘मनाङ्ग, मुस्ताङ, रसुवा जनसंख्या कम छ भएको जिल्लामा बिरामीहरु पनि छन्। तर बिरामी कम छन् भनेर हामी चुपचाप बस्दैनौँ। अस्पतालको एउटै मान्यता छ। उपत्यकाका बिरामीले जति सेवा सुविधा पाउँछन्। त्यति नै उक्त जिल्लाका बिरामीले पनि पाउँनु पर्छ।’

अस्पतालका सब इस्पेसलिस्ट



अप्थ्यामोलोजिमा हुने सबै सब–इस्पेसलिस्टहरु अस्पतालमा छन्। जसमा कर्निया, पर्दा, जलबिन्दु, अप्थोप्लास्टिक, बच्चाको आँखा, आँखाको नशा, आँखाको क्यान्सर, युभिआइटिस् रोग गरी विभिन्‍न ८ प्रकारका सब इस्पेसलिस्टहरु अस्पतालमा छन्।

सेवाको हिसाबले अस्पतालमा कहिले औषधि पाईँदैन कहिले अरु सामग्री पाइँदैन भनेर अरुमा भर पर्ने बाध्यता त नेपालमा छ नै। तर त्यो स्थिति यस अस्पतालले अहिलेसम्म बेहोर्नु परेको छैन।

कुनै पनि औषधि वा डाक्टर नभएका कारण बिरामी उपचारका लागि बाहिर जानु पर्ने अवस्था यो अस्पतालले अहिलसम्म पनि सृजना हुन नदिएको अस्पतालले दाबी गरेको छ।

चाहे जुन सुकै औषधि होस् वा कुनै विशेष विशेषज्ञ यो अस्पतालमा जुनसुकै अवस्थामा पनि बिरामीका लागि उपलब्ध हुने गर्छन्।

अस्पतालका विभिन्‍न विभाग



इन्ट्राकुलर लेन्स जसलाई जलबिन्दुको शल्यक्रिया पश्चात आँखामा राख्‍ने गरिन्छ त्यससलाई १९९४ देखि नै कमर्सियल प्रोडक्सनको रुपमा सुरु गरिएको थियो।

नेपाललाई चाहिने सबै ‘इन्ट्राकुलर लेन्स’ अस्पतालबाट अन्य अस्पतालहरुले लिन चाहेको खण्डमा अस्पतालले सबैलाई प्रदान गर्न सक्ने अवस्थामा रहेको छ। अस्पताल लेन्स उत्पादनमा पूर्ण रुपमा आत्मनिर्भर भएको डा. रुइतले बताए।

अस्पतालको अर्को महत्वपूर्ण कुरा भनेकै आँखा दान हो। सुरुवाती दिनदेखि नै अस्पतालले नेपाल आँखा दान अर्थात नेपाल आँखा बैंक सञ्‍चालन गर्दै आइरहेको छ। कुनै पनि आँखाको नानी दान गरेका व्यक्तिको उक्त नानी दुष्टिविहीनलाई प्रत्यारोपण गर्ने गरिन्छ।

सबैभन्दा पहिला दुई वटा आँखाको नानी प्रत्यारोपण गरेको अस्पतालले पछिल्लो पटक सन् २०१८ मा ११ सय ७८ वटा नानी प्रत्यारोपण गर्न सफल भएको छ।

डा.सन्दुक रुइत

नेपाल आँखा बैंक तिलगंगाको मात्रै आँखा बैंक होइन, यो नेपालमा भएका सम्पूर्ण आँखा अस्पतालको आँखा बैंक हो। जहाँ डा. गुरुङ जस्ता आँखाका नानीका डाक्टरले काम गर्ने गरेका छन्। अन्य अस्पतालहरुले पनि नेपाल आँखा बैंकबाट आँखाको नानी सजिलैसँग पाउने छन्।

हामी आत्मनिर्भर हुन सकेकै नेपाल आँखा बैंकले गर्दा हो।’ उनले भनिन्,‘जसले कर्निया दान गर्नु हुन्छ र त्यसको सबै प्रोसेस गरेर डाक्टर कहाँ पठाउनु हुन्छ, त्यसैले गर्दा हामी आत्मनिर्भर छौँ।’

अस्पतालको सेवा देश बाहिर


अस्पतालले नेपालमा मात्र नभएर विदेशमा समेत यस्तो सिविर सञ्‍चालन गर्दै आइरहेको छ। घाना, म्यानमार, इन्डानेसिया, उत्तर कोरिया, कम्बोडिया जस्ता देशहरुमा छोटो समयमा सानो टोली गएर गुणस्तरीय सेवा कसरी दिने भनेर त्यहाँको डाक्टरहरुसँग मिलेर सेवा दिँदै आइरहेको छ।

कुनै पनि मनिस पैसा नभएका कारण आँखा देख्‍नबाट वञ्‍चित हुनु नपरोस् भन्‍ने नै अस्पतालको मुख्य उद्देश्य हो।

सरकारबाट सहयोग



नविन्द्रराज जोशी उद्योग मन्त्री हुँदा सरकारले इन्ट्रअकुलर लेन्सका लागि १० करोड रुपैयाँ दिएको थियो। त्यो सहयोगलाई अस्पतालले अस्पतालका विभिन्‍न उपकरणहरु किन्‍नका लागि खर्च गर्ने गरेको छ।

जोशी त्योभन्दा अगाडि सरकारबाट कुनै पनि प्रकारको सहयोग अस्पताललाई भएको थिएन। सरकारी अस्पतालहरुलाई जसरी सरकारले नयाँ आर्थिक वर्षमा छुट्टै बजेट छुट्याउने गर्छ, त्यो प्रकारले कुनै पनि रकम अस्पतालका लागि सरकारले अहिलेसम्म छुट्याएको छैन।

त्यसैगरी अन्य क्यान्सरका बिरामीले एक लाख बराबरको अनुदान सरकारबाट पाइने गरेता पनि आँखाको क्यान्सरका बिरामीले पाउने गरेका छैनन्।तर सरकारले शुक्रबार अस्पतालमा अनुगमन गरे पश्चात अबको केही समयमै आँखाका क्यान्सरका बिरामीले अनुदान पाउने छन् भन्‍ने आशा अस्पतालले गरेको छ।

२५ वर्षको अथक प्रयासपछिको सफलता



डा. गुरुङले भनिन्, ‘हामीलाई सर्वसाधारणदेखि लिएर विभिन्‍न संस्थाहरुले सहयोग गर्ने गरेका छन्। उनीहरुले सहयोग गरेर मात्र पनि हुँदैन अब हामीले कसरी अस्पताललाई चलाउने भन्‍ने कुरा सबैभन्दा महत्वपूर्ण हुनेछ ।’

उनले थपिन्, ‘अर्को महत्वपूर्ण कुरा भनेकै ‘वि ह्याभ भेरी गुड बन्च अफ पिपुल एण्ड हाम्रो टिम एकदमै फेन्टास्टिक छ’ जसका कारण हामीलाई यहाँसम्म पुग्‍न सजिलो भइरहेको छ। म एक्लै पनि यो काम सम्भव थिएन। डा. रुइत मात्रै भएर पनि यो सम्भव थिएन। हार्ड टिम वर्कका कारण यो सब सम्भव भएको हो।’

त्यस्तै, डा. रुइतले पनि आफूले सबै भन्दा राम्रो टीम पाएको बताए। उनले भने, ‘हाम्रो टिम एकदमै राम्रो छ, जुन नभएको भए आज हामी यो ठाउँमा शायदै हुँदैन थिएँ कि?’

यही जुन ४ देखि अस्पतालले विश्व स्वास्थ्य संगठनसँग सहकार्यमा कोलाबोरेट सेन्टर सञ्‍चालन गर्ने सहमति गरेको छ। नेपालको यो पहिलो संस्था हो, जसले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा ‘कोलाबोरेट सेन्टर’ सञ्‍चालन गर्नेछ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोलाबोरेट सेन्टर’  उद्घाटन गरेका छन्।

तस्बिरहरु : रवीन आचार्य/देश सञ्चार