कक्रहवा खोलामा अस्थायी तटबन्ध

खोलाको त्रास कम गर्न जुटे स्थानीय, तीनै सुरक्षा निकायको साथ

दाङ – कसैले बोरामा बालुवा हाल्दै छन् । कोही बालुवा भरेको बोरा पास गर्दै खोलाको डिलसम्म र्पुयाइराखेका छन् । केहीले खोलाको डिलमा बालुवाको बोराले अस्थायी तटबन्ध बनाइरहेका छन् । यो दृश्य हो, दाङको गढवा गाउँपालिका वडा नम्बर ७ स्थित कक्रहवा खोलामा अस्थायी तटबन्ध गरिँदै गर्दाको ।

असार अन्तिम साता आएको काढी मकनहवा गाउँमा पसेपछि डुबान र कटान भयो । त्यसपछि गाउँलाई जोगाउन स्थानीय गाउँले सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्तरूपमा जनश्रमदान गरी काम गरेका छन् ।

स्थानीय सरकारको नेतृत्वमा जिल्ला सुरक्षा समन्वय समितिको स्वीकृतिमा तीनै सुरक्षा निकायको सहभागितामा तटबन्ध निर्माण थालिएको हो । ‘कक्रहवा खोलामा आएको बाढीले गाउँ जोखिममा परेपछि अस्थायी तटबन्ध बनाउने काम भएको छ’, गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले भने, ‘यो तटबन्ध बाट एक सय घरधुरी सुरक्षित हुन्छन् ।’

नेपाली सेना रिपुमर्दन गण (क) गुल्म लमहीका निमित्त गुल्मपति दीपककुमार बुढाथोकीको नेतृत्वमा २५ जना, सशस्त्र प्रहरी २९ नम्बर ज्वालामाइ गण भालुबाङ्गका सशस्त्र प्रहरी नायव निरिक्षक मीनबहादुर ढेडीमगरको नेतृत्वमा ३५ जना र इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरीराज भण्डारीको नेतृत्वमा १५ जना जवान तटबन्ध निर्माणमा खटिएका थिए ।

‘विपद पर्दा हामी जनताको सेवामा खटिन्छौँ । संयुक्तरूपमा परिचालन भएका छौँ’ इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख गिरीराज भण्डारीले भने ‘अस्थायी तटबन्धले मात्रै पुग्दैन । स्थायी तटबन्धको आवश्यक छ ।’

ढुंगा अभाव देखाउँदै तटबन्ध भएन, बस्ति जोखिममा


जल तथा सिंचाइ डिभिजन कार्यालय दाङले बहुवर्षीय ठेक्का अन्तरगत कक्रहवा खोलामा तटबन्ध गर्न थालेको हो तर, गत वर्ष यो खोलामा तटबन्धको काम हुनै सकेन ।

ढुंगा अभाव देखाउँदै र बजेट निकासा ढिलो भएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्दा मकनहवा गाउँमा बाढी पसेको हो । यस वर्ष जसरी भएपनि स्थायी तटबन्धको काम गराउने गाउँपालिकाले जनाएको छ ।

यस्तो छ समस्या


तिलकराम चौधरी गाउँका अगुवा हुन् । उनको घर खोला किनारमा छ । खोलाको डिलमा घर भएकाले कटानको जोखिम उच्च छ । हरेक वर्ष बाढीले पीडित हुँदै आएका यहाँका नागरिक अस्थायी तटबन्ध बनाउन सेना, सशस्त्र र प्रहरी सँगसँगै श्रमदानमा खटिएका हुन् । ‘हिँड्ने बाटो बगायो । अब घर कहिले बगाउँछ भन्ने त्रास ।’ गीता चौधरीले भनिन्, ‘जसरी भएपनि हामीलाई सुरक्षित बनाउनु पर्यो ।’

कक्रहवा खोला वर्षामा उर्लेर आउँछ । छेउको मकनहवा गाउँमा कटान र डुबान हुन्छ । पानी पर्न थाल्यो भने गाउँलेमा त्रास छाउँछ । असार अन्तिमसाता परेको पानीले पनि कक्रहवा खोला बढ्यो । बस्तिमा पस्यो । घर डुबायो। बाटो बिगार्यो । गाउँहरु स्थानीय सरकारको सरणमा पुगे ।

त्यसपछि कक्रहवा खोलाको तत्कालको समस्या समाधान गर्न अस्थायी बाँध बनाउने निष्कर्षमा गढवा गाउँपालिका पुग्यो । गाउँहरुले प्रत्येक घरधुरीबाट एक हजार रुपैयाँ रकम समेत संकलन गरेका थिए । खोला खोलेर ड्याम उठाउने काम गाउँलेले आफै गरे । त्यसपछि ड्याममाथी बोरामा बालुवा हालेर बाँध बनाउने काममा तीन ओटै सुरक्षा निकायबाट सहयोग जुट्यो ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्