दावा ग्याल्मोसँगको साक्षात्कार

‘मितज्यू नाइट’ बाट सुरु भएको त्यो अबिरल यात्रा

तस्बिरहरु: प्रभात खनाल

दार्जिलिङका त्रिदेवी (नेपाली सांगीतक क्षेत्रका) का रुपमा परिचित अरुणा लामा, शान्ति ठटाल र दिलमाया खाती, पछिको उम्दा स्वरकी धनी। अरुणा लामापछि ‘दर्द’ भरिएका गीतरुलाई सहज–सरल रुपमा प्रस्तुत गर्न सक्ने क्षमताकी गायिकाका लिइन्छ उनलाई।

नेपाली सांगीतक क्षेत्रमा उनका गीतहरुको चर्चा पुरानो नहुने गरी बसेको छ गीतहरु पुरानो हुँदै जाँदा पनि। गायिका हुन् दावा ग्याल्मो।

असारको अन्तिम हप्ता उनी नेपालमा थिइन्। दार्जिलिङको नेपाली परिवेशमा हुर्की बढेर, त्यहीँबाट नेपाली संगीतमा स्थापित दावा ग्याल्मो पोखराका गायिकाहरुको समूह हार्मोनीले गरेको सम्मान थाप्न आएकी थिइन्।

पोखरामा सम्मान थापेर काठमाडौँ फर्केकी उनीसँग झरी पर्दै गरेको असारे साँझमा भेट्ने चाँजो मिलेको थियो। बिहानैदेखि घुमघाम, भेटघाट र किनमेलमा व्यस्त रहेकी दावा ग्याल्मो बेलुका हुँनै लाग्दा पनि उस्तै उर्जामा थिइन्, जस्तो बिहान दिन सुरु गर्दा थिइन्।

कुराको मेलो काठमाडौँबाट दार्जिलिङ आफन्त–साथीसंगीका लागि लैजान जोडेका चिनोहरुबाट भयो। त्यसपछि सुरु भयो उनको सांगीतक यात्रासँग जोडिएका स्मृतिहरुको पोको फुकाउने क्रम।

कालो गुलाबको त्यो गीत
दावा ग्याल्मोको नामसँग जोडिएर आउँछ, ‘शहर भित्र के को हल्ला मेरो मायालु आउने बेलैमा…’ । राज वीरेन्द्रको राज्यभिषेक (सन् १९७५, फेब्रुअरी) का बेला दार्जिलिङबाट बोलाइएका कलाकारहरुको समूहमा दावा पनि थिइन्।

तेजेन्द्र गुरुङको रचनामा रहेको शहर भित्र के को हल्ला… दावाले सोही बेला बसन्त क्षेत्रीको संगीतमा रेडियो नेपालमा रेकर्ड गराइन् । त्यसपछि यो गीत कलकताको एच.एम.भी. मा पुनः रेकर्ड गरिएको थियो।

उसो त त्यो गीत रेकर्ड गर्दाको बेला काठमाडौँ शहरमा हल्ला निकै कम हुने गर्थ्यो। तर गीतले बोल्न खोजेको हल्लाको कुरा अर्कै थियो। गीतले उठाएको हल्लासँग स्रोताको मनको तार जोडियो। गीत हिट भयो। अझैसम्म बासी भएको छैन त्यो गीत।

यसपटक काठमाडौँ आउँदा शहरको बाहिरी हल्ला पनि निकै बढेछ जस्तो लाग्यो उनलाई। प्रसंगै प्रसंगमा उनले हल्लाहरु छिचोलेर हल्लाको गीत पुनः गाइन्। अहिले उनी आफ्ना पुराना गीतहरुलाई केही नयाँ ‘मेलोडी’मा रेकर्ड गराइरहेकी छन्।

हल्लाहरुकै बीच या त्यसलाई छिचोलेर भएको भेटमा उनले हल्लाको गीत निकै शान्त भएर सुनाइन्। नेपाल पस्दा आफ्नो माइती आए जस्तो लाग्छ प्रायः दार्जिलिङबासी नेपालीहरुलाई।

हल्लाहरु पछि उनले शुभकनामको कुरा गरिन्। ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर’, बोलको गीत उनी आफैँलाई औधी मन पर्ने मध्ये रहेछ। बद्री–दुर्गा खरेलको संगीतमा रहेको यो गीतको भाव उनलाई मन छुने लाग्छ। नोर्देन रुम्बाले नाटकका लागि रचना गरेको गीतमा प्रयोग भएका दुई खाली शब्दले रित्तो र एकपटक मात्रैको सन्दर्भलाई जनाउँछन्। दावा ग्याल्मोलाई यस्ता गहन अर्थ लाग्ने गीतहरुको माध्यम आफू बन्न पाएकोमा गर्व लाग्छ।

मितज्यूकी प्यारी गायिका
नेपाली संगीतमा मितत्यू (नारायणगोपाल र गोपाल योञ्जन) को योगदान सीमाहरुमा समेट्न नसकिने छ। दावा ग्याल्मोले दुई गोपालका साथमा गाउन पाएकी थिइन्।

उनी शायद १५ वर्षकी थिइन्। सानो बुवा (सानिमाका श्रीमान) बादु लामाले उनलाई गीत सिकाएका थिए, गाउन सक्छे भन्ने ठानेर। दावाले गाउँथिन् पनि। उनको स्वरको क्षमता नारायणगोपाल र गोपाल योञ्जनले पनि चिनेका थिए। त्यसैले त दार्जिलिङ, खर्साङ्ग र कालिङ्पोङमा भएको मितज्यू नाइटमा उनीहरुले गायिकाका रुपमा दावालाई रोजेका थिए।

दावाले सानै उमेरमा दुई गोपालका बिचमा बसेर गाउने मौका पाइन्। उति बेला त्यस्तो केही लागेको थिएन। तर अहिले सम्झँदा लाग्छ कर्म र भाग्यको संगम थियो त्यो घटना। त्यसले नै उनको भावी पहिचानको रेखा कोर्‍यो।

दावाले मितज्यू नाइटमा ‘जीवनको हरेक मोडमा’ बोलको गीत गाइन्। गोपाल दाजु (गोपाल योञ्जन) ले दावालाई भनेका थिए, ‘ए बैनी तैँले गाउनु पर्छ है यो गीत।’ उनले हुन्छ भनिन्। राम्रो गाइन्। पछि सो गीत नारायणगोपाल र अरुणा लामाको स्वरमा रेकर्ड भयो।

नारायणगोपालले पनि उनलाई निकै स्नेह गर्ने। दावा ग्याल्मोलाई नारायणगोपाल–गोपाल योञ्जनसहित नेपाली संगीतमा सक्रिय रहेको त्यो समय स्वर्ण युग लाग्छ। उनीहरुले नेपाली संगीतलाई गतिलो खजाना दिएर गएको दावालाई लाग्छ।

दावालाई पनि उनीहरुले उस्तै रुचाएका थिए। र, त उनको नामै उपमा योञ्जन घोषित गरेका थिए गोपाल योञ्जनले। दावाको नाम केटाको जस्तो भन्नेहरु धेरै थिए। गोपाल योञ्जनलाई पनि नाम फेर्नु पर्छ जस्तो लाग्यो। उनको स्वरमा रहेको जादूलाई कुनै उपमाले समेट्न नसक्ने बताएका गोपालले नामै उपमा घोषित गरेका थिए। दावा उपमा भन्दा पनि दावाकै रुपमा सुपरिचित भइन्। तर उनलाई गोपाल योञ्जनले दिएको उपमा योञ्जन नाम अहिले पनि आफ्ना लागि सर्वप्रिय सम्मान लाग्छ।

दावाका घरमा तीन दावा छन्, दाजुको नाम पनि दावा, र बहिनीको पनि। ग्याल्मोको अर्थ रानी हुने भएकाले बुझ्नेहरुले थाहा पाइहाल्ने उनले बताइन्। आफू नेपाली संगीतका दुई अमूल्य रत्न ‘मितज्यू’ ले रुचाएको गायिका हुन पाउनु आफ्ना लागि सम्मान र गर्वको कुरा लाग्छ दावालाई।

एक छिमलका गीत छुटे
अरुणा लामा पछिको रिक्तता पूर्ण गर्ने गायिकाका रुपमा लिइएकी दावाले सन् ७० को दशकको अन्त्यदेखि सक्रियता देखाउन सकिनन्। यद्यपि उनको सबैभन्दा उर्जावान समय त्यही थियो। सन् १९७९ मा विवाह भएसँगै उनी हङकङ गइन्। काम र परिवारको रेकदेखमा व्यस्त हुँदा संगीतलाई समय दिन नसकेको दावाले बताइन्।

तर उनलाई यसमा खासै गुनासो छैन। ‘मैले चाहेको भए सक्रियता देखाउन सक्थेँ। तर सन्तान र परिवारलाई समय दिएँ। म कुनै कार्यक्रममा जाँदा घरमा छोराछोरीले–मेरो आमा त आएन आज, भन्थे। त्यो सहन गर्ने क्षमता शायद ममा थिएन।’

दावा घर परिवार र काममा व्यस्त रहेकै समय उनको मन ‘चुकचुकाउने’ गीतहरु रेकर्ड भइरहेका थिए। शायद उनको भागमा आउने थिए केही गीतहरु।

डेजी बराईलीले गाएको एउटा खुल्ला किताब हुँ म र तिमीले पनि खेलाउने उसले पनि नचाउनेसहितका गीतहरु सुन्दा, अनि आफ्नो सूर र स्वरमा तिनलाई बाँध्न नपाएकोमा अचेल पनि उनलाई थकथक लाग्छ। तर डेजीको स्वरमा ती गीतहरु उत्कृष्ट सुनिएकाले दावाको मनमा शान्ति मिल्छ। ‘कर्म योञ्जन, बसन्त क्षेत्री, बद्री–दुर्गा खरेलसहितले बनाएका धेरै गीत त्यो समयमा छुटे मबाट। तर दुःख मनाउ गर्दिन, जसले गाउन पाए उनीहरुको स्वरमा ती गीतहरुले सजीव हुने सुअवसर पाएका छन्।’

दार्जिलिङको सिंमाडीमा हुर्केकी दावाले कला मन्दिरमा जान थालेपछि संगीतका हस्तीहरुसँगको संगत पाएकी थिइन्। त्यो संगत आफूलाई अहिलेको अवस्थामा उभ्याउन र जीवनपर्यन्त प्रेरणा बनिरह्यो।

भिडियो हेर्नुहोस्:

ढुक्कले बिदा भइने थियो
उता (दार्जिलिङ) र यता (नेपाल) मा नयाँ पुस्ताले पनि राम्रो गीत सिर्जना गरिरहेको मान्छिन् दावा। तर अहिलेका गीतमा पहिले आफूहरुले गाउँदाको बेला जस्तो स्वादिला गीत धेरै कम आएजस्तो पनि लाग्छ।

सांगीतिक परिवेशको कुरा गर्दै गर्दा उनीले आफू हुर्केको क्षेत्रको राजनीतिक अवस्थाबारे कुरा उप्काइन्। दार्जिलिङका नेपाली भाषी भारतीय जहिले चेपुवामा परेको जस्तो लाग्छ दावालाई। नेपाली भाषी बाहुल्य दार्जिलिङमा गोरखाल्याण्डको माग गर्दै भएका धेरै आन्दोलनको साक्षी उनी पनि बनेकी छन्। कति आन्दोलनका लागि उनले गीत पनि गाएकी छन्। तर आफूहरुका आन्दोलन यतिका वर्ष हुँदा पनि केही पाइला भन्दा अघि जान नसकेकोमा मन पिरोलिन्छ।

‘माग्यो नेपाल तिर जाओ भन्छन्। हाम्रो माग त जहिले नाजायज बनिरहेछ’, दावाले मनको बह बिसाइन्, ‘कति चियाको बोटमा पैसा फल्छ भनेर गए, कोही लडाईँका लागि गए। यतिका वर्ष जुन देशको सेवा गरेर बसियो, अब त हामी त्यही देशको भइएन र ? तर जहिले हामीलाई लान्छना लाग्छ। नेपालसँग हृदयको नाता छ। तर हामी त भारतीय नागरिक हो नि। हाम्रो माग नाजायज माग भइरहेको छ। अतेस लाग्छ।’

लामो संघर्षको निराशा दावाले पोखिन्, ‘नहुने रैछ भन्ने हुन्छ। हामी पछि नानीहरु छन्, हाम्रा नातिनातिनाको पालामा के होला जस्तो लाग्छ। गोरखाल्याण्ड सपना मात्रै होला जस्तो छ, विपना बन्दैन होला।’

तर अलिकति आश भने छ र भन्छिन्, ‘विपना बने त कति राम्रो हुने। मरेपछि जहाँ गएपनि आत्माले शान्ति पाउने थियो। म त गाउने मान्छे, साँच्चै हाम्रो सपना विपना बन्यो भने म त्यो दिन गएर नाच्छु नै।’

राजनीतिक चेतको कुरा फुकाएकी उनी फेरि संगीतमै फर्किन्। अचेल युट्युबमार्फत राग सिक्दै रहिछन्। नयाँ गीतको प्रसंग पुनः जोडेकी उनले अजित बस्नेतको रचना र बसन्त क्षेत्रीको संगीतमा रहेको ‘मनको ईश्वर भागेपछि मान्छेलाई मान्छेकै डर…’ गीत सुनाइन्। उनीले हल्लाहरुबाट सुरु भएको हामीसँगको बसाई मनको ईश्वरमा आएर बिट मारिन्। र भनिन्, ‘हिजोको कर्मले बाँचिरहेकी छु, त्यो भन्दा बढी श्रोताको मायाले सजीव तुल्याएको छ।’

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्