विश्वकपको एसियाली छनोट: नेपालले मंगलबार खेल्ने, सिंगापुरसँग कतार पराजित

काठमाडौं : सिंगापुरमा सोमबारदेखि सुरु भएको आईसिसी टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत घरेलु टोली सिंगापुरले शानदार सुरुवात गरेको छ।

आफ्नो पहिलो खेलमा सिंगापुरले कतारलाई ३३ रनले हरायो। पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ८६ रन जोडेको थियो। सिंगापुरका एस चन्द्रमोहनले ४७, टिम डेभिडले ३८ र विकेटकिपर मनप्रित सिंहले ३४ रन बनाए।

ओपनर रोहन रन्गाराजनले पनि ३२ रन जोडे। सिंगापुरले पहिलो विकेटका लागि ४४ र दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो।

कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन जोड्यो। कप्तान तमुर सज्जादले सर्वाधिक ३४ रन जोडे। विकेटकिपर मोहम्मद रिजलानले ३३ रन बनाए।

माथिल्लोक्रमका फैजद जावेदले २९ र मध्यक्रमका मुहमद तनविरले २६ रनको योगदान गरे। सिंगापुरका जनक प्रकाश र अमजाद मबुबले सर्वाधिक तीन तीन विकेट लिए।

कतारले आफ्नो दोस्रो खेलमा मंगलबार नेपालको सामना गर्ने छ। प्रतियोगितामा कतार नेपालको पहिलो प्रतिद्धन्द्धी हो। सोमबारको अर्को खेलमा मलेसियाले कुवेतलाई हरायो।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्