कर्मचारीको काम सन्तुष्ट छैन, नसच्चिए कठोर रुपमा प्रस्तुत हुन्छु- मुख्‍यमन्त्री राई

मोरङ-प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले कर्मचारीको काम कार्वाही र काम गर्ने शैलीप्रति प्रदेश सरकार पूर्णरुपमा असन्तुष्ट रहेको बताएका छन्।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले काम गर्ने क्रममा ढिलासुस्ती र लापार्वाही गर्ने गुनासो बढ्दै गएको र आफू त्यस्ता प्रवृत्तिका कर्मचारीप्रति कठोर रुपमा प्रस्तुत हुने स्पस्ट पारे।

प्रदेशको डिभिजन वन कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सडक, सिँचाई, खानेपानी र यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुसँग मुख्यमन्त्री राई आक्रोशित भएका हुन्। मुख्यमन्त्री राईले आफ्नै निर्देशनमा ती कार्यालयका प्रमुखहरुलाई कार्यालयमा बोलाएर विशेष निर्देशन दिए।

पछिल्लो समय जिम्मेवार र महत्वपूर्ण घडीबाट मुलुक अघि बढिरहेका बेला कर्मचारी भने कमिसन माग्ने, भ्रष्टाचार गर्ने र जनताको काममा ढिलासुस्ती गर्ने जस्ता गतिविधि र विवादमा मुछिने गरेको मुख्यमन्त्री राईले गुनासो गरे। उनले भने, समृद्ध मुलुक र सुखी नेपाली भन्ने सरकारको अभियानमा यस्ता तत्व बाधक रहेको छ।

असार ३० गते सिँचाई डिभिजन विकास कार्यालय भोजपुरका प्रमुख एवं सिनियर डिभिजन ईन्जिनियर मोहनबाबु यादव १ लाख ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको उल्लेख गर्दै मुख्यमन्त्री राईले कार्यालय प्रमुखलाई बोलाएर बैठक गर्न जरुरी देखिएको बताए।

मुख्यमन्त्री राईले भने,‘कर्मचारी विभिन्न खाले विवादमा मुछिन र घुससहित रंगेहात पक्राउ पर्न थाले। अरु घटना हुनु नदिन सबै जनालाई एकै ठाउँमा राखेर आकस्मिक रुपमा कुरा गर्नु पर्ने अवस्था बन्यो।’

कर्मचारीले गर्ने गरेका अनियमितता र भ्रष्टाचार लगायतका विषयमा आफूले थुप्रै सूचना प्राप्त गरको बताउँदै उनले भने, ‘प्रदेश सरकार बिना सूचना चुप लागेर बसेको छैन। विशेष सूचनाका आधारमा सबै कुरालाई नजिकबाट नियालिरहेको छ।’

केही विवादस्पद विषय प्रदेश सरकारको ‘नोटिस’ मा रहेको भन्दै उनले यसमा सूक्ष्म अनुसन्धान गर्ने काम भइरहेको जनाए। कर्मचारी घुस, कमिसन र भ्रष्टाचारमा लिप्त हुँदा नराम्रो सन्देश प्रवाह भएको भन्दै राईले बेलैमा सचेत भएर आफ्नो बानी सुधार्न र जनपक्षिय काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए।

प्रदेश सरकार सुस्त भएको गुनासो आइरहेकोमा राईले सरकारले आक्रामक रुपमा अघि बढ्ने तयारी गरिरहेको बताए। उनले युग र पुस्ताले सम्मान गर्ने गरी कुकृति अन्त्य गर्दै नैतिक मूल्य र इमानको जगमा उभिएर काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन पनि दिए।

सोही क्रममा मुख्यमन्त्री राईले साउन भित्र ‘एक्सन प्लान’ बनाएर लागू गरिने भएका कारण चालु आर्थिक वर्षको बजेट जेठ १५ भित्रमा खर्च गरिसक्ने स्पस्ट पारे।

कार्यक्रममा प्रदेशका मुख्यसचिव सुरेश अधिकारीले मुख्यमन्त्री राईले विराटनगरमा कार्यालयका प्रमुखलाई झिकाएर गरिएको बैठक सामान्य छलफल र रिपोर्टिङका लागि नभइकन कर्मचारीलाई जिम्मेवार बनाउनका लागि भएको स्पष्ट पारे।प्रदेश सरकार गठनपछि मुख्यमन्त्री राईले पहिलोपटक आकस्मिक रुपमा कार्यालय प्रमुखलाई बोलाएर बैठक गरिएको अधिकारीले बताए।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्