विधि प्रक्रिया अनुसार खर्च गर्दा बजेट खर्च कमः मुख्यमन्त्री

बुटवल–प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विधि प्रक्रिया अनुसार नै खर्च गरेका कारण प्रदेशको बजेट कार्यान्वयन कम देखिएको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसँग सम्बन्धित बिषयमा सोमबार प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिको बैठकमा भएको छलफलमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले विधि प्रक्रिया उल्लंघन नगरी काम गरेको बताए।

संगठन संरचनासहित प्रदेशलाई व्यवस्थित बनाउदै लैजाने काम भैरहेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि ओएनएम सर्भेको काम भैरहेको जानकारी दिए।

योजना र कानून निर्माणका हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश नं ५ अग्रस्थानमा रहेको दाबी गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशले ४२ वटा कानून निर्माण गरेको बताए।

पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित भएका मुख्यमन्त्रीले सांसदहरुले सोधेका प्रदेशको सुरक्षा, विप्लव नेतृत्वको नेकपाका गतिविधि, विकासको अनुगमन र मानवअधिकारको विषयमा जवाफ दिएका थिए।

मुख्यमन्त्री पोखरेलले प्रदेश ५ मा विप्लवका गतिविधिमा कमी आएको दाबी गरे। मुख्यमन्त्रीले प्रदेशको शान्ति सुरक्षामा सरकार गम्भीर रहेको बताए। सुरक्षा संगठन प्रदेश मातहत नभएपनि प्रदेशमा रहेका सुरक्षा निकायसंग समन्वय गरेर काम भइरहेको उनले बताए।

मुख्यमन्त्री पोखरेलले शान्ति सुरक्षालाई सहयोग पुराउने गरी प्रदेशमा सिसिटिभी जडानलाई अभियानकै रुपमा शुरु गरिएको बताए। जिल्ला प्रशाशन र सुरक्षा निकायलाई आवश्यक पर्ने स्थानमा सिसिटिभी जडानका लागि आग्रह गरिएको भन्दै उनले प्रदेश सरकारले यसलाई अभियानकै रुपमा अघि बढाएको बताए।

मुख्यमन्त्री पोखरेलले शुशासनको विषयमा मुख्यमन्त्री कार्यालयले नै नियमन थाल्ने बताए। प्रदेशका सेवाप्रदायक कार्यालयको अनुगमनको तयारी भइरहेको उनले जनाकारी गराए।

बैठकमा समिति सभापति दामा शर्माले रुकुम पूर्वमा प्रदेशको कुनै पनि कार्यालय नरहेकोमा जनताको गुनासो रहेको भन्दै मुख्यमन्त्रीको ध्यानकर्षण गराएकी थिइन। उनले जिल्लाहरुमा प्रदेशको एकीकृत कार्यालय खोल्ने विषयका सुझाव संकलन भएको समेत बताइन।

मुख्यमन्त्री पोखरेलले रुकुमपूर्वको सदरमुकाम विवाद नटुंगिएकाले कार्यालय खोल्न नसकिएको बताए। उनले यसै आर्थिक वर्षमा जिल्ला अस्पताल भने सञ्चालनमा ल्याइने बताए।

समितिको बैठकमा मुख्यमन्त्री पोखरेलले प्रदेशले क्वारेन्टाइन, जैविक विषादी परीक्षणको क्षमता बढाउने तयारी गरेको जानकारी गराए। भौतिक पूर्वाधार सामग्रीको परीक्षणका लागि चन्द्रौटा डिभिजन सडक कार्यालयमा प्रशोगशाला यसै वर्ष बन्ने समेत जानकारी गराए।
बैठकमा सांसद भोजप्रसाद श्रेष्ठ, भुवनेश्वर चौधरी, खड्ग बहादुर केसी, रमा अर्याललगायतले सरकारका काम कारबाही र प्रगतिका बारेमा जिज्ञासा राखेका थिए।

प्रदेश ५ का पर्यटन मन्त्रीसहितको टोली चीन भ्रमणमा जाने


बुटवल। प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीसहितको टोली चीन भ्रमणमा जाने भएको छ। मुख्यमन्त्री शंकर पोखरेललाई आएको निमन्त्रणामा मन्त्री गिरीसहितको नौ जनाको टोली चीन जान लागेको हो।

चीनको गान्सु प्रान्तको निमन्त्रणमा भदौं १० गतेदेखि हुने सात दिने भ्रमणलाई मन्त्रीपरिषद् बैठकले स्विकृति दिएको छ।

भ्रमण टोलीमा अर्थ, उद्योग तथा वातावरण समितिका सभापति दधिराम न्यौपाने, नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री, सांसदहरु बाबुराम गौतम, सरस्वती गौतम, मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनन्ज्वय पौडेल, कर्मचारी कृष्ण केसी, लुम्बिनी प्रादेशिक अस्पतालका डा. सागर न्यौपाने रहेका छन्।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले खानेपानी तथा स्वस्च्छतासम्बन्धी कार्यबिधि, शैक्षिक परामर्श सेवा तथा भाषा पशिक्षणसम्बन्धी कार्यबिधि पारित गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए। शैक्षिक परामर्श कार्यबिधि पारित भएपछि एजुकेश्नल कन्सल्टेन्सी खोल्ने स्विकृति प्रदेशबाटै लिन सकिने चौधरीले जानकारी दिए।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्