मदन भण्डारी राजमार्ग बने राष्ट्रिय एकतामै असर: पूर्वराष्ट्रपति यादव

पुस्तक विमोचन कार्यक्रममा सहभागी पूर्वराष्ट्रपति रामवरण यादवसहितका व्यक्तिहरु ।

काठमाडौँ – पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरे पहाड र भित्री मधेस हुँदै निर्माण थालिएको मदन भण्डारी राजमार्ग बने प्राकृतिक स्रोतको चरम विनासका साथै राष्ट्रिय एकतामा असर पर्ने चेतावनी दिएका छन्।

पूर्वराष्ट्रपति यादवले चुरेमाथिको दोहन दिनदिनै बढिरहेका बेला त्यसै क्षेत्रबाट राजमार्ग बनाउँदा प्राकृतिक स्रोतमाथि झन भार पर्ने र त्यसले भयावह अवस्था सिर्जना गर्ने भएकाले मदन भण्डारी राजमार्ग बनाउन नहुने जिकिर गरेका हुन्।

पूर्वमहालेखा परीक्षक भानुप्रसाद आचार्यले लेखेको ‘नेपालमा उदारवाद, प्रयोग र परिणाम’ पुस्तक सार्वजनिक कार्यक्रममा यादवले मदन भण्डारी राजमार्ग भन्ने नाम नलिई त्यसको निर्माण रोक्न बौद्धिक समुदायसँग अपिल गरे।

यादवले भने, ‘चुरे हुँदै बनाउन लागिएको राजमार्गले तराईलाई झन् खराब गर्छ। मलाई त्यसप्रति चिन्ता छ। विद्वानहरुले कमल चलाउनुहोस्। वातावारण संरक्षण गर्नुहोस्।’

उनले किताबले नेपालको अर्थतन्त्रको वास्तविक अवस्था बुझ्न सहयोग गर्ने बताउँदै विश्व तापमान वृद्धि र प्राकृतिक स्रोतको दोहनले तराई मधेसलाई मरुभुमिकरण गर्न लागेको भन्दै चिन्ता व्यक्त गरे।

उक्त सडक पूर्वपश्चिम राजमार्गसँग समानान्तर हुने गरी बन्न लागेको सडक निर्माण भए राष्ट्रिय एकतामा समेत असर गर्ने जिकिर गरे। ‘राजमार्ग निर्माण भए राष्ट्रिय एकतालाई समेत असर गर्दछ । त्यो रोकिनुपर्छ । मलाई पीर भइरहेको छ,’ यादवले भने।

तत्कालीन एमालेका महासचिव एवं हालकी राष्ट्रपति विद्यादेवी भण्डारीका पतिसमेत रहेका मदनको नाममा तराई, भित्री मधेसका १४ जिल्लालाई जोड्ने गरी सडक बनाउन केपी ओली नेतृत्वको सरकारले गत आर्थिक वर्षमा चार अर्ब ५० करोड विनियोजन गरेको थियो ।

यस आर्थिक वर्षमा पनि सरकारले उक्त सडकमा लागि ४ अर्ब ८२ करोड छुट्याएको छ ।

दुई लेनमा विस्तार हुने १२ सय किलोमिटर लामो सडक छापाको शान्तिनगरबाट सुरु भएर डेडेलधुराको रुपालसम्म पुग्नेछ । उनले हामी आफैंले डडेलो लगाइ रहेको टिप्पणी गरे । उनले नेपालको भुभाग नै नरहने गरी तराईदेखि हिमालसम्मका जंगल विनास भइरहेको बताए ।

पूर्व राष्ट्रपति यादवले भने, ‘चुरिया खनेर समाप्त पार्न खोजिँदै छ । तराई मरुभुमीकरण भइरहेको छ ।’ यादवले आफ्नो कार्यकालमा सकेसम्म प्राकृतिक विनास रोक्न पहिल गरेको दाबी गरे ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्