पूर्वप्रशासक आचार्यको ‘नेपालमा उदारवाद’ पुस्तक सार्वजनिक

पुस्तक विमोचन कार्यक्रममा सहभागी पूर्वराष्ट्रपति रामवरण यादवसहितका व्यक्तिहरु ।

काठमाडौँ – पूर्वमहालेखा परीक्षक एवं पूर्वअर्थसचिव भानुप्रसाद आचार्यले लेखेको ‘नेपालमा उदारवाद, प्रयोग र परिणाम’ नामक पुस्तक सार्वजनिक भएको छ।

पुस्तकमा नेपालमा २०४६ को जनआन्दोलनपछि अवलम्बन गरिएको उदार अर्थनीतिले नेपालमा पारेका सकारात्मक तथा नकरात्मक असरहरुका बारेमा विवेचना गरिएको छ।

कर अधिकृतका रुपमा २०३२ सालमा निजामति सेवामा प्रवेश गरेका आचार्य २०६३ सालमा अर्थसचिवबाट निवृत्त भएका थिए । उनी २०७० सालदेखि तीन वर्ष महालेखा परीक्षकसमेत भएका थिए। पूर्वराष्ट्रपति डा. रामवरण यादवले सोमबार प्रज्ञाभवन कमलादीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तक सार्वजनिक गर्दै यादवले पुस्तकले नेपालको अर्थतन्त्रका बारेमा जानकारी दिन भएकाले कर्मचारीदेखि राजनीतिकर्मीसमेतले अध्ययन गर्नुपर्ने उल्लेख गरे। पुस्तकमाथि डा. अच्युत वाग्ले, प्रा. डा. कुसुम शाक्य र पृथ्वीराज लिगलले टिप्पणी गरेका थिए।

वाग्लेले उदारवाद लागू गरेपछि नेपालले कस्ता उपलब्धि र असर हासिल गर्यो त्यसका बारेमा पुस्तकले जानकारी दिन बताए । उनले संविधानमा समाजवाद लेखे पनि कुनै पनि राजनीतिक दल र सरकारले त्यसका आधार के के हुन् भनेर औंल्याउन नसकेको बताए।

पुस्तकले नेपालको सार्वजनिक क्षेत्रमा भइरहेका आर्थिक बेथिति र त्यसको समाधानको बाटो देखाएको वाग्लेको भनाइ थियो।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभाग प्रमुख रहेकी कुसुम शाक्यले पनि पुस्तकले नेपाली अर्थतन्त्रको वास्तविक अवस्था बुझ्न सहयोग गर्ने बताइन्। देशका बढी रहेको बेरुजु र भ्रष्टाचार उदारवादकै कारण हो भन्ने प्रश्न किताबले उठाएको शाक्यको भनाइ छ।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्