साफ महिला टोलीका प्रशिक्षकसहित २६ जनालाई नगदसहित सम्मान

प्रदेश-१ मा राष्ट्रिय महिला ए डिभिजन राष्ट्रिय लिग हुने

मोरङ-राष्ट्रिय महिला ए डिभिजन लिग फुटबल प्रतियोगिता प्रदेश एकको राजधानी बिराटनगरमा हुने भएको छ।

बिराटनगरमा सोमबार महानगरपालिकाद्वारा आयोजित साफ महिला च्याम्पियन्सीप प्रतियोगिताका खेलाडीको स्वागत तथा सम्मानमा मेयर भीम पराजुलीले महिला लिगका लागि महानगरपालिका तयार रहेको बताए।

सम्मानका क्रममा मेयर पराजुलीले अखिल नेपाल फुटबल संघले आयोजनाका लागि अवसर दिदाँ महानगर पछि नहट्ने उल्लेख गरे। कार्यक्रममा मेयर पराजुलीले भने, ‘साफ महिला च्याम्पियन्सीप सम्पन्न गरेको महानगरपालिका यसका लागि पनि सक्षम र तयार रहेको छ। एन्फाले प्रतियोगिताका लागि अवसर दिनुपर्यो हामी सकारात्मक छौ।’

यसअघि कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भव्य रुपमा साफ महिला च्याम्पियनसीप सम्पन्न गरेको महानगरले इच्छा गरे, महिला ए डिभिजनको ब्यवसायिक लिग सुरु गर्न सक्ने बताएका थिए। व्यावसायिक रुपमा समेत महिला खेलाडीको आर्थिक पक्षलाई लिगले सबल बनाउने बताएका अध्यक्ष शेर्पाले लिगपछि महिला टेक्निकल सेन्टर निर्माणको लागि पहल गर्ने उल्लेख गरे।

उनले भने, ‘फुटबलको उर्वरभूमि बिराटनगरमा लिग भएसंगै एन्फालाई महिला टेक्निकल सेन्टर स्थापनाका लागि बाटो खुल्नेछ।’ करिब डेढ महिनाभन्दा कम समयमा साफको तयारी सकेको बताएका अध्यक्ष शेर्पाले साफले बिराटनगरलाई अन्र्तराष्ट्रियस्तरमा साफले चिनाएको छ।

कार्यक्रममा महानगरका मेयर पराजुलीले विराटनगर महानगरपालिकामा खेल विद्यालयको अवधारणा पनि अघि बढाइने बताएका थिए। एन्फाले विगतमा समेत राम्रो अवसर दिदैं आएको बताएका मेयर पराजुलीले विश्वकप छनोटको खेलका लागि अवसर दिए त्यसमा समेत आफूहरु तयार रहेको बताए। उनले भने, ‘काठमाडौंमा रङशाला अभाव रहेको हो भने, महानगर खेल आयोजनाका लागि तयार रहेको छ।’

कार्यक्रममा महिला टोलीका प्रशिक्षक हरि खड्काले साफ महिला च्याम्पियन्सपमा उपविजेतामा सिमीत भएपनि आउँदो दक्षिण एशियाली खेलकुदमा उच्च मनोबलका साथ मैदानमा उत्रने बताए।

देशले के दिन्छ भन्दापनि देशलाई के दिन सकिन्छ भन्ने भावनाबाट मैदानमा उत्रने बताएका प्रशिक्षक खड्काले भने ‘मैदानमा खेलाडी प्रशिक्षक सबैको ध्येय जित नै हुन्छ। त्यही अनुसार नै हामी सबै खेल्छौ।’ हार जित खेलको पाटो भएपनि बिराटनगर महानगरले गरेको सम्मानले खेलाडीलाई थप हौसला मिलेको उनको भनाइ थियो।

कार्यक्रममा महानगरका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, प्रवक्ता किरण राई, पूर्व खेलाडी एवं प्रशिक्षक शिवभक्त जोशी, सन्तोष बानिँया लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा महागरपालिकाले साफ महिला टोलीका प्रशिक्षक खड्कासहित २६ जनालाई जनही ५० हजार रुपैयासहित सम्मान गरेको थियो। साफ महिलाको उपाधि भिडन्तको पूर्वसन्धामा महानगरले खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको थियो। साफको उपाधि भीडन्तमा नेपाली टोली भारतसंग ३ एक गोलले पराजित भएको थियो।

साउन ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू