लमही–कोइलावास सडकको गुणस्तरमा प्रश्न

दाङ – सडक छेउको नालामा पानी बढी हुँदा बाटोको छेउ भत्कायो । बाटो पुनः ढलान गरिएको छ । हतार गरेर भत्किएका संरचनामा टालो हाल्ने काम सुरु गरिएको छ । वर्षाको पानीले लमही–कोइलावास निर्माणाधिन सडकमा ठूलै क्षति पुर्‍याएको भनिए पनि सडकको गुणस्तरमा समेत प्रश्न उठेको छ ।

लमही–कोइलावास सडक निर्माणाधिन अवस्थामै भत्किएपछि ‘वर्षाको पानीले मात्रै’ भत्किएको भन्न नसकिने अनुगमन टोलीले निष्कर्ष निकालेको छ । १२ मिटर चौडा फैलिएको सडकको मध्य भागमा बनेको कालोपत्रे समेत चिरा–चिरा परेर भत्किएपछि वर्षाको पानीलाई मात्रै दोष दिन नसकिने र कालोपत्रे भत्किनुको कारण खोज्नुपर्ने अनुगमन टोलीले निष्कर्ष निकालेको हो ।

‘सरसरर्ती हेर्दा सडकको अवस्था राम्रो छैन । लमही–कोइलावास सडक पहाडी क्षेत्रमा सन्तोष गर्ने लायकले निर्माण भएको पाइएको छैन’ अनुगमन टोलीका प्रमुख, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने ‘पानीले नभेट्ने ठाउँमा पनि सडक दबेको छ । अनि कालोपत्रे चिरिएको छ । किन यसो हुन गयो यसको प्राविधिक जाँच गर्नुपर्छ ।’

लमही–कोइलावास सडक निर्माणाधिन अवस्थामै भत्किएपछि त्यसको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, निर्माण कम्पनी, कन्सल्टेन्सीका प्रतिनिधि सहभागी टोलीले निर्माणाधीन लमही–कोइलावास सडकको अनुगमन गरेको हो ।

लमही–कोइलावास सडक सपनाको सडक भएको भन्दै सडक निर्माणमा कुनै पनि कमिकमजोरी क्षम्य हुन नसक्ने हुलाकी सडक निर्माण उपभोक्ता सहयोग समितिका संयोजक भेषराज पाण्डेले बताए । ‘वर्षाैँअघि हामीले देखेको सपना लमही–कोइलावास सडक हो । सडक निर्माणमा कुनै पनि कमीकमजोरी हुन नदिन सबै सचेत र सजग हुनैपर्छ’ उनले भने ‘गुणस्तरहिन भयो भनेपछि पछुताउने भन्दा अहिले नै सच्याएर हुलाकी सडक आयोजनाअघि जानुपर्छ ।’

लमही–कोइलावास हुलाकी राजमार्गको अन्तर्गत पहाडी क्षेत्रमा बनेको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै चिरा चिरा परेर भत्किएको छ । पहाडी क्षेत्रमा वर्षाको पानी थेग्न नसक्ने साँघुरो नाला निर्माण गरिएको छ । जसले गर्दा नाला सँगै कालोपत्रे गरिएको सडकनै चिरा चिरा हुनेगरी भत्किन पुगेको हो ।

भारत सरकारको लगानीमा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग हुलाकी राजमार्ग आयोजनाबाट लमही–कोइलावास सडक कालोपत्रे भैरहेको हो । लमहीबाट कोइलावास सम्म ३३ किलोमिटरको दूरी छ ।

जस मध्ये १५ किलोमटर सडक कालोपत्रे भैसकेको छ । बाँकी सडक क्षेत्रमा पिचको तयारी चल्दै थियो । वर्षा सुरु भएपछि सडक निर्माणको काम रोकिएको छ । ७६ करोडको लगातमा विगत दुई वर्षदेखि लमही–कोइलावास सडकको निर्माण कार्य भैरहेको हो ।

मुआब्जाको मुल्यांकन कम हुदा कालोपत्रे प्रभावित

लमही नगरपालिका वडा नं. ४ सेम्रहवामा कालोपत्रे गर्ने तयारीका साथ सडक निर्माणको कामअघि बढे पनि अहिले त्यो काम रोकिएको छ । सडक निर्माणको काम प्रभावित भएपछि अहिले सो खण्डमा ठूला ठूला खाडल परेर पानी जम्मा हुने समस्या छ ।

स्थानीयले आफ्नो क्षेत्रको जग्गाको मुल्यांकन ५० रुपैयाँ वर्गमिटर मात्रै गरेको र नजिकैको जग्गाको १५ सय रुपैयाँ वर्गमिटर गरेर भेदभाव गरेको भन्दै सडक कालोपत्रेको काम रोकिदिएका हुन् । यो समस्या समाधान गर्न जग्गाको मुल्यांकनमा केही हेरफेर गर्न सकिने गढवामा आयोजित सर्वपक्षीय छलफमा ध्यानाकर्षण गराइएको छ ।

मुआब्जा बुझे पनि संरचना हटेन

लमही–कोइलावास सडकसँग जोडिएका जग्गाधनीले मुआब्जा रकम बुझे पनि संरचना नभत्काउँदा सडक निर्माणमा समस्या उत्पन्न भएको छ । गढवा बजार क्षेत्रमा रहेका सडक क्षेत्रमा पर्ने पूर्वाधार हटाउने बिषयमा भएको छलफलले साउन मसान्तभित्र अनिवार्य संरचना हटाउनुपर्ने सूचना जारी गर्ने निर्णय गरेको छ ।

सो समय भित्र संरचना नहटेमा प्रहरी, प्रसासन तथा गाउँपालिकाको सहयोगमा संरचना हटाई खाली गर्ने निर्णय गरिएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

यस्तै मुआब्जा नलिएका, बुझन बाँकी व्यक्तिहरुलाई यही साउन महिना भित्र मुआब्जा लिन जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्