विदेशीको अवैध बसाई, सुरक्षामा चुनौती

पोखरा – एकै परिवारका ३ लेबनानी नागरिकलाई पर्यटक प्रहरी पोखराले गत चैत २१ गते लेकसाइडबाट पक्राउ ग¥यो । उनीहरु पक्राउ पर्नुको कारण भिसा अवधि सकिएपछि पनि नेपालमै रहनु र विभिन्न गतिविधिमा संलग्न हुनु थियो ।

लेबनानी नागरिक अली सेलिमेन, उनकी २ छोरी मरियम र फातेमीको भिसा अवधि सन् २०१७ मे ३० मा सकिसकेको थियो । अली र उनकी १ छोरी मरियम ७ सय ७६ दिन र अर्की छोरी फातेमी ८ सय ४७ दिन ओभरस्टे थिए ।

भिसा अवधि सकिएपछि पनि यहीँ रहनु अवैधानिक हो । खपौदी क्षेत्रमा झन्डै ३ वर्षसम्म बिनाभिसा रहँदै आएका उनीहरुलाई पर्यटक प्रहरी पोखराले खानतलासी गर्दा ओभरस्टे पाएपछि अध्यागमन कार्यालय पोखरामा बुझाएको थियो ।

भिसा अवधि सकिएका, कागजातबिना रहँदै आएका विदेशीलाई आवश्यक छानबिनपश्चात पर्यटक प्रहरीले पक्राउ गर्दै आएको छ ।

प्रहरीले सूचनाको आधारमा वा शंकास्पद लागेका पर्यटकलाई पछिल्लो समय निगरानी समेत बढाएको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायब निरीक्षक रविन पाण्डे बताउँछन् । ‘घुम्ने बहानामा नेपालमा आएर लुकिछिपी बस्ने विदेशीलाई चेक गर्दै आएका छौं,’ उनले भने, ‘बजार क्षेत्रसँगै गाउँतिर पनि हामीले निगरानी थालेका छौं ।’

लेकसाइडबाट केही पर ओभरस्टेमा रहेका १ विदेशीलाई हालै प्रहरीले पक्राउ गरेको थियो । फिलिपिन्सका अल्बर्ट क्याइसीप पोखरा २३ धारापानीमा डेढ वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए ।

पर्यटक भिसामा नेपाल आएका उनले व्यवसाय गर्ने अनुमति बेगर फार्म सञ्चालन गरेको पाएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सन् २०१७ मे ३० मा भिसा अवधि पनि सकिसकेका उनलाई गत पुस ९ गतेमात्रै पर्यटक प्रहरीले पक्राउ ग¥यो र अध्यागमन कार्यालय पोखराको जिम्मा लगायो ।

पोखरा कार्यालयमार्फत थप कारबाहीका लागि काठमाडौंस्थित अध्यागमनमा पठाइएका २२ घटना दर्ता भएका छन् । जसमा अधिकांश रसियाली नागरिक रहेको अध्यागमन कार्यालय पोखराका वरिष्ठ अध्यागमन सहायक चेतराज आचार्यले जानकारी दिए ।

भिसा र कागजातबिना बस्दै आएका ७ रसियालीलाई कारबाही गरिएको रेकर्डमा छ । परिवारसहित लेकसाइडमा बस्दै आएका ४ रसियाली नागरिकलाई एकैदिन पर्यटक प्रहरीले पक्राउ गरेको थियो ।

सन् २०१६ देखि दिमित्री खामोभ उनकी श्रीमती भेलरिया र उनका छोरा बोग्दानसहित यहाँ बस्दै आएका थिए । उनीहरुले सन् २०१७ जनवरी १ मा १ छोरा इमिलिएनलाई जन्माए । उनको कुनै पनि कागजात बनेको थिएन । भारत हुँदै नेपाल छिरेका ३ जनाको भिसा अवधि सन् २०१६ जुलाई १० मा गुज्रिसकेको थियो । गत मंसिर २६ गते मात्रै उनीहरु पक्राउ परेका थिए ।

नेपालस्थित रसियाली दूताबासको आग्रहमा ४ जनाको ओभरस्टे बापतको झन्डै ९ लाख र बिलम्ब शुल्क मिनाहा गरी फिर्ता पठाइसकेको छ । अवैध रूपमा बसेका उनीहरूले भिसा र विलम्ब शुल्कबापतको रकम तिर्न नसक्ने आधार प्रष्ट भए परराष्ट्र र गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्दै आइरहेको छ ।

गत असार १६ गते लेकसाइडबाट नै रसियाली नागरिक निकोले ओलेगोभिचलाई पक्राउ परे । बिनाकागजात लेकसाइड क्षेत्रमा बस्दै आएका उनले माला, क्युरियो लगायत सामग्री बेचबिखन गर्थे ।

पर्यटक भिसामा आएर व्यवसाय गर्ने, लागुऔषध कारोबारमा संलग्न हुने विदेशी नागरिकहरुको संख्या ठूलो रहेको सुरक्षा निकायका अधिकारी बताउँछन् । पोल्यान्डका नागरिक राकोल मार्सिन गत असार २२ गते लागु औषध कारोबार र ओभरस्टेकै कारण पक्राउ परेका थिए ।

त्यस्तै, अध्ययन भिसामा आएर धर्म प्रचार गर्ने विदेशी नागरिकलाई समेत सरकारले कारबाही गरेको थियो । गृह मन्त्रालयले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध समेत लगाई देश निकाला गरेको हो ।

पोखराको फुलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न भन्दै विद्यार्थी भिसामा आएका उनीहरुले धर्मप्रचार गरेको पाइएपछि निकाला गरिएको अध्यागमनको रेकर्डमा छ ।

कुनै पनि व्यक्तिको धर्म परिवर्तन गराउने वा खलल पार्ने गतिविधि गर्न नहुने संविधानमा उल्लेख छ । गत चैत २७ मा उक्त २ जापानी नागरिकलाई गृह मन्त्रालयका सचिवस्तरीय बैठकबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

पोखराबाट पक्राउ पर्नेमा यमन, चिनिया, नेदरल्यान्डस्, बेलायत, जर्मनी, टर्की, फ्रान्स, केन्याका लगायत देशका नागरिक छन् । उनीहरु ओभरस्टे र बिनाकागजात रहनु प्रमुख कारण रहेको अध्यागमनका वरिष्ठ अध्यागमन सहायक आचार्यले जानकारी दिए ।

बालबालिकाको अवैध ओसारपसारमा समेत विदेशीको संलग्नता रहेको पोखराकै एउटा घटनाले देखाएको छ । दक्षिण कोरियाबाट पर्यटक भिसामा नेपाल छिरेकी किम नाराले पोखराबाट १ बालकलाई आफ्नो छोरा बनाएपछि उक्त रहस्य खुलेको थियो ।

पोखरामा मजदुरी गर्दै आएका मगर परिवारका छोरालाई आफ्नो नामबाट कोरियाली राहदानी बनाएर कोरिया लैजाने प्रपञ्च प्रहरीले पत्तो पाएपछि पक्राउ परेकी थिइन् । १ वर्षे बालकलाई उनले किम छानोराङ नामबाट राहदानी बनाइसकेर कोरिया उठाउने तर्खरमा रहँदा गत वैशाख १८ गते त्रिवि अध्यागमनमा पक्राउ परेकी हुन् ।

उक्त घटनाले समेत विदेशी नागरिकहरु नेपाल घुम्ने मात्र नभई अपराधिक मनस्थिति बोकेर आउने गरेको स्पष्ट हुन्छ । निषेधित क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गर्ने घटनामा समेत विदेशीको संलग्नता छ । त्यस्ता घटनामा प्रहरीले प्रशासनको रोहवरमा क्यामेरा र व्यक्तिलाई नियन्त्रणमा लिई दृश्य मेटाई जरिवाना तिराउँदै आएको छ ।

शंकास्पद गतिविधि देखिए विदेशी नागरिकमाथि निगरानी बढाएसँगै पक्राउ परेका विदेशी नागरिकलाई अध्यागमन कार्यालय पोखराको आफ्नै हिरासत कक्ष नहुँदा भने समस्या देखिएको छ । पक्राउ परेकै दिन काठमाडौं पठाउन सम्भव नभए अध्यागमनको आग्रहमा वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राख्ने गरिएको छ ।

गृह मन्त्रालयले विदेशी नागरिक अनुगमन निर्देशिका बनाएको छ । जसको सबल रुपले कार्यान्वयन हुन नसक्दा जतिमात्रामा अवैध गतिविधिमा संलग्न विदेशी नागरिक छन् उनीहरुको माथिको निगरानी कम भएको सरोकारवालाहरुको गुनासो सुनिन्छ ।

कागजात भएका तर प्रयोजन विपरीत काममा संलग्न हुने विदेशी नागरिकमाथि चेकजाँच गरिदिन भन्दै गोप्य सूचना पर्यटक प्रहरीका पुग्ने गरेका छन् ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्