टी–२० विश्वकप एसियाली छनौट

नेपालले कतारलाई दियो १२३ रनको लक्ष्य

फाइल तस्बिर

काठमाडौँ – ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर १२२ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले १७ बलमा २८, उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ तथा सोमपाल कामीले १२ बलमा ११ रन बनाए । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । त्यसपछिका विकेट अधिकांश चाँडो गए ।

कतारका इक्बाल हुसनले तीन तथा तमूर साजद र नूमन सर्वारले दुई–दुई विकेट लिए ।

पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई परातिज गरेर राम्रो सुरुवात गरेको छ ।

यो प्रतियोगितामा नेपालसहित सिंगापुर, कतार, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेताले ग्लोबल छनौटमा स्थान बनाउने छ ।
सिंगापुर पुग्नुअघि मलेसियामा अभ्यास गरेको नेपाली टोलीले मलेसियासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अन्तर्राष्ट्रिय शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्