दक्षिण कोरियाको निजी क्षेत्रलाई नेपालमा लगानी गर्न मन्त्री विष्टको आग्रह

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कारियाको निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अब नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन् ।

मंगलबार दक्षिण कोरियाबाट फर्केका नेपाली कामदारहरुले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानाकर्षण गराए ।

मन्त्री विष्टले दक्षिण कोरियाबाट फर्केका कामदारहरुको सिप र अनुभवलाई भरपुर उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

दक्षिण कोरियाले आफ्नै स्रोत र साधनको उपयोग गरेर समृद्धि हासिल गरेको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै पाठ सिक्न सक्ने पनि बताए ।

मन्त्री विष्टले दक्षिण कोरिया आफ्नै मिहिनेतको बलमा समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै त्यसलाई ग्रहण गरेर नेपालले पनि अघि बढने योजना तय गरिरहेको पनि बताए ।

सरकारी तथ्यांक अनुसार हालसम्म ६३ हजार नेपाली कामदारले दक्षिण कोरियामा रोजगारी पाएका छन् ।

मन्त्री विष्टले उनीहरुको ज्ञान, सीप र अनुभवले पनि नेपाललाई समृद्ध बनाउन सघाउन पु¥याउने विश्वास व्यक्त गरे ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्