विप्लवसँगको वार्ता सकारात्मक, शान्ति प्रक्रियामा ल्याएरै छाड्छौँ : गृह मन्त्री थापा

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग वार्ता भइरहेको र जारी वार्ता सकारात्मक रहेको बताएका छन् ।

देशको पछिल्लो सुरक्षा अवस्था र गृहको कार्य प्रगति बारे जानकारी दिन मंगलबार बिहान मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपालाई शान्ति प्रक्रियामा ल्याएरै छाड्ने बताएका हुन् ।

उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग वार्ता भइरहेको छ । हामी उनीहरुलाई शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति र सुरक्षा प्रत्याभूत गर्न प्रतिबद्ध छौँ ।’

यस्तै बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मल पन्तका दोषी पत्तालगाउने सम्बन्धमा काम भइरहेको दाबी गृहमन्त्री थापाले गरे । उनले भने, ‘निर्मला पन्तका सम्बन्धमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि लामो समय लागेका घटना विगतमा पनि थिए । यसले गर्दा समय लाग्यो भनेर आत्तिनु पर्दैन ।’

पत्रकार सम्मेलनमा मन्त्री थापाले पछिल्लो एक वर्षको अवधिमा तस्करीका घटना उल्लेख्य मात्रामा कमी आएको दाबी गरे । छिटफुट बाहेक तस्करीका घटना नभएको मन्त्री थापाले बताए ।

यस्तै समयमा काम नसक्ने १८ सय भन्दा बढी ठेकेदारलाई कारवाहीका लागि प्रक्रिया सुरु भएको उनले जानकारी दिएका छन् । मन्त्रालय सबै काम तोकिएका समयमा पूरा हुन् र देशमा शान्ति–सुव्यवस्था कायम होस् भन्नेमा लागि परेको उनले बताए ।

अझै पनि सुरक्षा व्यवस्था मजबुद बनाउनका लागि गर्नु पर्ने कामहरु रहेको र आफूहरुले त्यसमा काम गरिरहेको उनले पत्रकार सम्मेलनमा बताए ।

गएको आर्थिक वर्षमा मन्त्रालयका लागि चालू तर्फ बिनियोजन भएको बजेट मध्ये ९६.९ प्रतिशत तथा पूँजीगत तर्फ ८७.२ प्रतिशत खर्च भएको जनाइएको छ ।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्