सुदूरपश्चिम प्रदेशमा लोकसेवा आयोग सम्बन्धि विधेयक पारित

धनगढी– सुदूरपश्चिम प्रदेश सभा बैठकबाट ‘प्रदेश लोक सेवा आयोग विधेयक २०७६’ पारित भएको छ। मंगलबारको प्रदेशसभा बैठकबाट उक्त विधेयक पारित भएको हो।

प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समितिले तयार गरेको लोक सेवा सम्बन्धी विधेयकमाथिको प्रतिवेदनमाथि छलफल भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहको प्रस्तावमा विधेयक पारित भएको हो।

विधेयक पारित भएसँगै प्रदेश सभाको अर्को बैठक अनिश्‍चित भएको छ। सभामुख अर्जुन बहादुर थापाले अर्को बैठकबारे सूचना प्रकाशित गरि सबै सदस्यहरुलाई जानकारी गराइने बताए।

विधेयक पारित हुनुपूर्व प्रदेश सभाका सदस्यहरुले छलफलका क्रममा उठाएका प्रश्‍नहरुको जवाफ दिँदै मन्त्री शाहले समावेशी र समानुपातिक जस्ता विषय सर्वस्वीकार्य भएकोले विधेयकमा नलेख्दैमा ति छुट्ने र लेख्दैमा संविधानविरुद्ध भइहाल्ने स्थिति नभएको बताए।

उनले लोक सेवा आयोगको गठन भएपछि निजामति सेवा ऐन, प्रहरी सेवा ऐन जस्ता ऐनहरु बनाउँदा समावेशी र समानुपातिक हुने विषयहरु ऐनमै उल्लेख गरिने बताए।

यसअघि विधेयक माथिको छलफलका क्रममा प्रदेश सभा सदस्य महेश जोशीले अन्य ऐनहरुमा समावेशीकरणको विषय राखिनु पर्ने र लोक सेवा सम्बन्धी विधेयकमा समावेशी शब्द राखिरहनु नपर्ने बताए।

उनले स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रको संरचनालाई पूर्ण बनाउन लोकसेवा आयोगको महत्वपूर्ण भूिमका हुने भएकोले विधेयक महत्वपूर्ण रहेको बताए।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले कर्मचारी छनौटको आधार निष्पक्षता हुनुपर्ने भन्दै लोक सेवा सम्बन्धी ऐनमै समावेशीको कुरा राख्न नहुने बताए।

नेकपाका प्रदेश सभा सदस्य दुर्गा कुमारी कामीले समावेशी सिद्धान्तका आधारमा लोक सेवा आयोगले कर्मचारी छनौट गर्नेगरी विधेयकमै व्यवस्था गर्न आवश्यक रहेको बताए।

यस्तै कांग्रेस प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले अर्काको वैशाखीमा रहेको सरकार विधेयक पारित भएपछि कर्मचारी भर्ना गरेर आफ्नो खुट्टाको सहारामा हिड्न सक्ने बताए।

नेकपाकी प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले पनि समावेशी सिद्धान्तलाई ध्यान दिनुपर्ने बताइन्।

साउन ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्