बोरिस जोन्सन आज बन्दै छन् बेलायतको प्रधानमन्त्री, उपनाम–ब्रिटेनका ट्रम्प

बोरिस जोन्सन बुधबार बेलायतको नयाँ प्रधानमन्त्री बन्दै छन् । उनले निवर्तमान प्रधानमन्त्री टेरिजा मेको ठाउँ लिने छन् । ब्रेक्जिट अर्थात बेलायतलाई युरोपियन युनियनबाट अलग गराउने अभियानका प्रमुख अभियन्ता जोन्स मंगलबार कन्जरभेटिभ पार्टीको नेतामा चुनिएका हुन् ।

उनले वर्तमान विदेश मन्त्री जेरोमी हन्टलाई पराजित गरेर बेलायतको भावी प्रधानमन्त्रीका रुपमा आफूलाई स्थापित गरेका हुन् । कन्जरभेटिभ पार्टीको नेताका लागि भएको चुनावमा जोन्सनले ९२ हजार १५३ मत पाए । अर्का प्रत्यासी हन्टले ४६ हजार ६५६ मत पाएका थिए ।

लण्डनका पूर्व मेयर तथा पूर्व पत्रकार जोन्सनले बुधबार औपचारिक समारोहकाबिच बेलायतको प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्ने छन् । उनले आउँदो अक्टोबर ३१ मा बेलायत डिल या विथआउट डिल युरोपियन युनियनबाट बाहिरिने बताएका छन् ।

तर ब्रेक्जिटकै विवाद मिलाउन नसक्दा पद छोडेकी टेरिजा मेका पूर्व विश्वास पात्र जोन्सनका लागि पनि सहज हुने छैन । टेरिजाको मन्त्रीमण्डलबाट एक वर्षअघि बाहिरिएका जोन्सन हाल टेरिजा इतरका हुन् ।

उनले जसरी भए पनि बेलायत इयुबाट बाहिरिने बताएका छन् । तर पछिल्लो समय बेलायतीहरुमा इयुबाट नबाहिरिने पक्षमा मत बढ्दै गएको छ । उनीहरुले पुनः जनमत संग्रह हुनु पर्ने माग गरिरहेका छन् । विशेष गरी आयरल्याण्डसँगको सीमा व्यवस्थापन बारे विवाद रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पले जोन्सनलाई बधाई दिएका छन् । उनले अति नै राम्रो व्यक्ति बेलायतको प्रधानमन्त्री बन्न लागेको बताए । उनले भने, ‘जोन्सनलाई बेलायतीहरुले–ब्रिटेनको ट्रम्प भन्दा रहेछन् । त्यहाँ मलाई मन पराउने रहे छन् ।’

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्