मनसुनी वर्षा पुनः सक्रिय, बाढी तथा पहिरोको जोखिम

काठमाडौँ – मनसुनी वर्षा पुनः सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय हुने देखिएको मौसमविदले बताएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसमविदले बताएका छन् । बुधबार देशभर सामान्यदेखि पूर्ण बलदी भई अधिकांश स्थानमा वर्षा हुनेछ । थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

यस्तै बिहीबार पनि देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशखाले आग्रह गरेको छ ।

वर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्