'जस्टिस फर भिक्टोरिया'

दुई वर्षे बालिकामाथि स्कूलमै बलात्कार, सन्तुलन गुमाउँदै सुकी सरकार

हामीले उनको तस्बिर देखेका छैनौँ सामाजिक सञ्जालमा । उनको वास्तविक नाम पत्रपत्रिकामा पढिएको छैन । तर पूरै देशले उनकै बारेमा कुरा गरिरहेको छ र उनले भोगेको अपराधबाट सबै स्तब्ध छन् ।

म्यानमारमा ‘भिक्टोरिया’ केसले उत्कर्ष रुप लिएको छ ।

मे १६ को बिहान दुई वर्षकी बालिका आफू पढ्दै आएको निजी नर्सरी गइन् । राजधानी नायी यिइ तावमा रहेको नर्सरीमा उनले त्यो दिन भयानक पीडा सहनु पर्‍यो । उनी बेलुका घर फर्कनु भन्दा अघि नर्सरीमै रहेका बेला बलात्कारमा परेको उनको परिवार तथा प्रहरीले बताउँदै आएको छ ।

कानून अनुसार उनको नाम सार्वजनिक गर्न मिल्दैन । उनको न्यायका लागि अभियान चलाएकाहरुले उनलाई नाम दिएका छन् ‘भिक्टोरिया’ ।

हाल उनी तीन वर्षकी भइन् । उनलाई थाहा छैन कि उनले भोगेको पीडाका कारण जन्मिएको अभियानले उनी हुर्किरहेको देशमा बालबालिकाको सुरक्षाको अवस्था र यौन हिंसाका बारेमा कडा प्रश्न तेर्साएको छ ।

बलात्कारका एक मात्र आरोपित बुधबार अदालतमा उपस्थित हुँदै छन् । बुधबार नै भिक्टोरियाको परिवारका सदस्यले न्यायाधीश सामु आफ्नो कुरा प्रस्तुत गर्ने छन् । तर यो मुद्दा सुरु भएदेखि नै कमजोर प्रमाणका कारण अन्तर्विरोधले घेरिएको छ ।

भिक्टोरियाकी आमाले उनी चोटग्रस्त भएको थाहा पाएपछि अस्पताल लगेको र उनको स्वास्थ्य परीक्षणबाट यौन हिंसा भएको थाहा लागेको प्रहरीले जनाएको छ । भिक्टोरियालाई उनको नर्सरी बाहिरको सिसिटिभीको फुटेज देखाउँदा आरोपित व्यक्ति तर्फ स्वतः औँला देखाएको भिक्टोरियाका पिताले बताएका छन् ।

उनले आफूसँग ‘मलाई को को ले स्कूलमा यस्तो गरेको हो’ भनेको भिक्टोरियाका पिताले बताएका छन् । बर्मिज भाषामा वयस्क पुरुषलाई आम रुपमा को को भन्ने गरिन्छ ।

भिक्टोरियालाई दिइएको औषधिका कारण सुरुमा आफूहरुले कुरा गर्न नपाएको प्रहरी अधिकारीले बताएका छन् । भिक्टोरियाले पछि बयान दिएको उनका पिताले बताएका छन् ।

मे ३० मा प्रहरीले २९ वर्षका अङ्ग क्योव मायोलाई प्रहरीले पक्राउ गरेको छ । उनी भिक्टोरियाको स्कूल बसका ड्राइभर हुन् । आरोपित भएर पक्राउ परेका उनलाई प्रमाणको अभावमा पछि रिहा गरियो ।

तर केही फेसबुक प्रयोगकर्ताले बलात्कारको संकास्पद सो घटनाबारे थाहा पाए । त्यसपछि उनीहरुले न्यायको माग गरे । बिस्तारै यसले सबैको ध्यान खिच्यो ।

त्यसको दुई हप्तापछि स्वास्थ्य तथा खेलकुद मन्त्रालयका उच्च अधिकारी विन को को थिनले ‘जस्टिस फर भिक्टोरिया’ अभियान सुरु गरे । उनले सो घटनामा भएका विसंगतिहरु बारे बताए । उनी पक्राउ परे र उनलाई मानहानीको मुद्दा लगाइयो ।

तर उनको अभियान बिस्तारित भयो । सेलिब्रेटीहरुले उनको अभियानलाई साथ दिए । हजारौँ फेसबुक प्रयोगकर्ताले आफ्नो प्रोफाइल परिवर्तन गरे । कारका झ्यालहरुमा अभियानको समर्थनमा स्टिकर टाँसिन थाले ।

जुन ३० मा आङ सान सुकी सरकारका प्रवक्ताले सरकार अभियानको माग बारे जानकार रहेको र घटनाको सत्य तथ्य थाहा पाउनका लागि प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको बताए ।

तर देशका शासकप्रति नागरिकले विश्वास गरेनन् अझ अभियानका समर्थहरुले । भ्रष्टाचार र सरकारी पदमा रहेकाहरुको असक्षमताका उदहारणले उनीहरु भिक्टोरिया केसमा न्याय पाउनेमा शंकामा रहे । सरकारले भिक्टोरिया घटनामा न्याय दिनु भन्दा पनि कसैलाई ‘बलीको बोका’ बनाउन सक्ने भय जताउँदै अभियन्ताहरुले आन्दोलन थप चर्काएका छन् ।

आक्रोश बढ्दै थियो । जुलाई ३ मा मुख्य आरोपित अङ्ग क्योव मायो पुनः पक्राउ गरेपछि अभियन्ताहरु थप आक्रोशित भएका छन् । धेरैलाई लागेको छ कि उनलाई सरकारी अधिकारीले ‘बलीको बोका’ बनाउन खोजेका छन् ।

६ हजार भन्दा बढीले सो सप्ताअन्त हामी न्याय चाहन्छौँ लेखिएको सेतो टि सर्ट लगाएर मार्च गरे । उनीहरुले याङ्गुनमा रहेको केन्द्रीय अनुसन्धान विभाग अघि प्रदर्शन गरेका थिए । हाल सिआइडीले नै अनुसन्धानको जिम्मा लिएको छ । देशका अरु क्षेत्रमा पनि प्रदर्शन हुँदै आएका छन् ।

उनीहरुले भिक्टोरियाका लागि मात्रै न्याय मागेका छैनन्, विशेष गरी बालबालिकामाथि हुने गरेका यौनजन्य हिंसा अन्त्यका लागि विस्तृत काम गर्न उनीहरुको माग छ ।

भिक्टोरिया घटनाले म्यानमारको सुकी सरकारले सन्तुलन गुमाउँदै गएको छ । समस्यामा परेको छ ।

भिक्टोरिया अध्ययन गर्ने विद्यालयका शिक्षकलाई भने विद्यालयमै यस्तो भयो होला भन्ने लाग्दैन ।

बिबिसीको सहयोगमा

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्