मौलाउँदै विदेशीको अवैध क्रियाकलाप

धर्म प्रचार गर्ने तीन विदेशी पोखरामा पक्राउ

सांकेतिक तस्बिर

पोखरा – धर्म प्रचार गरेको आरोपमा तीन विदेशी नागरिकलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको छ ।

जापानी महिला रैको सेकिया (३७) र पुरुष जायरो सेकिया (३७), इसाई धर्म प्रचारको आरोपमा सोमबार पक्राउ परेका हुन् । उनीहरुलाई रत्नचोकस्थित धर्म प्रचार गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

तीन वर्षयता पोखरा बस्दै आएका उनीहरु लेकसाइडस्थित बस्ने कोठाबाट केही थान बाइबलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

धर्म प्रचारमा संलग्न दक्षिण कोरियाका चो योसाङ (७३), समेत पक्राउ परेका छन् । पक्राउ परेका तीनजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता केसीले जानकारी दिए ।

कुनै पनि व्यक्तिको धर्म परिवर्तन गराउने वा त्यसमा खलल पार्ने गतिविधि गर्न नहुने संविधानमा उल्लेख छ ।

यसअघि पनि सरकारले अध्ययन भिसामा आएर धर्म प्रचार गर्ने दुई विदेशी नागरिकलाई कारबाही गरेको थियो । गृह मन्त्रालयले इसाई धर्म प्रचारमा संलग्न जापानी नागरिक मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध लगाई देश निकाला गरेको हो ।
पोखराको फुलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न भन्दै विद्यार्थी भिसामा आएका उनीहरुले धर्मप्रचार गरेको पाइएपछि देश निकाला गरिएको थियो ।

गत चैत २७ मा ती दुई जापानी नागरिकलाई गृह मन्त्रालयका सचिवस्तरीय बैठकबाट निष्कासन गर्ने निर्णय भएको थियो ।

यसैबिच बाल यौन दुराचारको आरोपमा मंगलबार पोखरा–६, डिहिकोपाटनबाट अष्ट्रेलियन नागरिक थोमस अल्फ्रेड बेरिम्यान पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र कास्की प्रहरीको संयुक्त टोलीले थोमस बस्ने घरमा अनुसन्धान गर्दा अप्राकृतिक यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा दुई बालकसहित नियन्त्रणमा लिएको थियो । दुई बालकको उमेर १४ वर्षमुनि छ ।

थोमस कामदार भिसामा नेपाल आएका हुन् । तीन वर्षयता पोखरामा प्याराग्लाइडिङ पाइलटको रुपमा रहँदै आएका थिए । उनीबाट थप बालबालिका पनि यौन हिंसामा पीडित भएको अनुमान प्रहरीको छ ।

बाल यौन दुराचारको मुद्दामा मंगलबार नै जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

भिसा अवधि सकिएपछि पनि नेपालमै बस्दै आएका विदेशी नागरिक, भिसा प्रयोजन विपरितको क्रियाकलापमा संलग्न विदेशीलाई प्रहरीले शंकास्पद गतिविधिको आधारमा प्रक्राउ गर्दै आइरहेको छ।

पक्राउ पर्नेमा अधिकांश ओभर–स्टे अर्थात तोकिएको भन्दा बढी बस्नेहरु छन् ।

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्