संसदमा बाढी-पहिरो र डुबानबारे छलफल, उद्धार राहत प्रभावकारी नभएको देउवाको आरोप

फाइल तस्बिर

काठमाडौँ – प्रतिनिधिसभामा पछिल्लो समय आएको बाढी, पहिरो र डुबानको समस्याबारे छलफल भइरहेको छ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ ।

प्रस्तावको कांग्रेसकै पुष्पा भुसाल र राजपाका राजकिशोर यादवले समर्थन गरेका छन् । प्रस्ताव प्रस्तुत गर्दै कांग्रेसका सांसद रिजालले उद्धार, राहत र पुनस्थापनका कामलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

बाढी पहिलो आउन लागेको दुई हप्ता बितिसक्दासमेत अझै पनि रातह उद्धार प्रभावरी हुन नसकेको उनको भनाइ थियो ।

छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका विपक्षी दलका नेता शेरबहादुर देउवाले राहत उद्धार र पुनस्थापनको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको आरोप लगाए ।

तराईंका बाढी प्रभावित जिल्लामा पुग्दा त्यहाँको अवस्था दयनीय रहेको देउवाले संसदमा उल्लेख गरे । उनले प्रभावित क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको बताए ।

‘तराईका जिल्लामा पुगेर आएँ त्यहाँको अवस्था नाजुक छ । जनताले खान पाएका छैनन् । सरकारले राहत पुर्याको कहीँ देखिन मैंले रेडक्रमहरु कतै कतै देखेँ । केन्द्र सरकारको त कुरै छाडौं स्थानीय सरकारसमेत पुगेको छैन, देउवाले भने ।

देउवाले ठूलो प्राकृतिक विपदी आउँदासमेत सरकार कहाँ के गर्ने भन्ने अन्योलमा देखिएको आरोप लगाए । उनले भारतले बनाएको बाधका कारण तराईका जिल्लामा डुबान भएको उल्लेख गर्दै कुटनीतिक रुपमा समस्याको समाधान गर्न सरकारसँग आग्रह गरे ।

देउवाले प्रश्न गरे, ‘भारत सरकारसँग गम्भीर रुपमा कुरा गर्न आवश्यक छ । यसरी कहिलेसम्म चल्छ ?’ कांग्रेसका सभापति समेत रहेका देउवाले प्राकृतिक विपदीलाई राजनीति गर्ने विषय बनाउन नहुने उल्लेख गरे ।

‘सबै दल एक भएर जनताका समस्या समाधान गर्न लाग्नुपर्छ । यो राजनीति गर्ने विषय होइन । कांग्रेस सहकार्य गर्न तयार छ । तर सरकारले चाहेको छैन, उनले भने ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राजपा अध्यक्ष मण्डलका संयोजकसमेत रहेका सांसद राजकिशोर यादवले पीडामा रहेका जनतालाई मल्हम लगाउन सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।

‘उद्धार राहतका लागि सांसदका तर्फबाट खेल्नुपर्ने भूमिकाका निर्वाह गर्न हामी तयार छौंँ । वर्षा, बाढी आउने कुरा प्रत्येक वर्ष निश्चित जस्तै भए पनि सरकारले पूर्व तयारी गरेको देखिएन । झारा टार्ने गरी सरकार अघि बढेको देखिन्छ, यादवले भने ।

उनले विपदको समना गर्दा पुननिर्माण प्राधिकरण जस्तै स्थायी खालको संयन्त्र बनाउन सुझाव दिए ।

प्रस्तावको समर्थन गर्दै सांसद पुष्पा भुसालले पहाड र तराईंमा भएको क्षतिलाई सरकारले गम्भीर पूर्वक लिनुपर्ने बताइन् । भुसालले भने, ‘नागरिकको सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चित होस् ।

रातह र उद्धारको कामलाई प्रभावकारी बनाउनु पर्यो । स्थानीय तहसँग सहकार्य होस्, उनले भनिन् ।

प्रस्तावमाथि दुई घण्टा छलफल भएर गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनेछन् । जवाफपछि संसदले विशेष प्रस्ताव पारित गर्नेछ ।

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्