पूर्व बडामहारानी रत्नसँग भिडियो कुराकानी

महेन्द्रपत्नी रत्नले भनिन्- ठीक छ सबैथोक

काठमाडौँ- प्रभुत्वशाली पूर्वराजा महेन्द्र शाहकी धर्मपत्नी एवम् उनको कामलाई नजिकबाट नियालेकी सहयात्री रत्न राज्यलक्ष्मी देवी शाह एकछत्र शक्ति र वैभवका बेला पनि विवादमा आइनन्, कहिल्यै बोलिनन्।

बरु, प्रधानमन्त्री बीपी कोइरालालगायत राजनेताहरुलाई राजाका पाहुनाका रुपमा आफैँले पकाएर, पिर्कामा राखेर खाना खान दिइन् अनि मिठो मुस्कानसहित बिदा गरिन्।

पूर्व वडामहारानीका रुपमा जीवनका पछिल्ला चरणमा परोपकारी संस्थाहरुसँग जुटिन् नेतृत्वदायी भूमिकामा। बालमन्दिर लगायतमा आश्रय पाएका गरिब बालबालिकाकी आमा बनिन् र ममता बाँडिन् उनले।

२०६३ सालयता राजसंस्था निलम्वन र अन्त्यपछिको जीवनलाई नियतिको खेल मानेर उनले सहर्ष स्वीकार गरिन्।

आगामी भदौमा ९२ वर्षमा टेक्ने उनको जीवन नारायणहिटी परिसरको महेन्द्र मञ्जिलमा साँघुरिएको छ।

२०७२ सालको भूकम्पले चर्किएको महेन्द्र मञ्जिलमा पूर्व मुमा बडामहारानी सम्भवत: जीवनकै पहिलोपटक कुनै सञ्चारमाध्यममा आएकी छिन्।

देशसञ्चारकी दीपा दाहालले मंगलबार लिएको भिडियो अन्तर्वार्तामा देशको राजनीतिबारे प्रवेश गर्न चाहिनन् तर आफ्नो दैनिकी र स्वास्थ्यबारे जानकारी दिएकी छिन् उनले। त्यो बेला उनको खुलेको अनुहार र मुस्कानलाई ९२ वर्षको  बुढ्यौलीले छेक्न सकेको थिएन।

हरेक मंगलबार उनको स्वास्थ्य जाँच गर्दै आएका पूर्व ‘रोयल फिजिसियन’द्वय  डा. खगेन्द्रबहादुर श्रेष्ठ र डा. मृगेन्दराज पाण्डेले पनि उनको स्वास्थ्यबारे खुलेर जानकारी दिनुका साथै खुसी व्यक्त गरेका छन्।

अन्तर्वार्ता हेर्नुहोस्:

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्