‘दुईचार झापड नलगाई ठाउँमा आउँदैनन् महिलाहरु’

‘फुर्सतमै भए कल गर न!’ साथीको म्यासेज आयो। फुर्सतमै थिएँ, खासै केही काम थिएन। बिहानै दुई चारवटा समाचार र लेखले दिनको सुरुवात राम्रो भइरहेको थिएन। ग्राण्डीको लापर्वाही, शिल्पा घरेलु हिंसाको शिकार, पत्रकारको यौन दुर्व्यबहार अनि यस्तैयस्तै।

साथीलाई फोन लगाएँ अनि मनका छट्पटी बाँड्न थालेँ। साथीले सजिलै भनिन्, आजकलको जमानामा अलिअलि दुईचार झापड नलगाई त ठाउँमा पनि आउँदैनन् आइमाईहरु, ठिक्क पारेछ!

थोरै अक्मक्किएँ, एकछिन आफैँलाई विश्वास भएन। ठट्टा गरिन् कि जस्तो भयो। तर हैन, उनको आफ्नै विश्वास थियो। हिजोआज नेपाली आइमाईहरू मात्तिएका छन् र उनीहरूलाई ठाउँमा ल्याउन श्रीमानहरूले दुईचार झापड लाउनै पर्छ! उनकै श्रीमान् पनि ठाउँमा ल्याउन बेलाबेला उनलाई ठिक पार्छन् र यो कुरा उनलाई सहज लाग्छ। कहिले गुनासो गर्छिन्, अनि भोलिपल्ट फेरि ‘श्रीमानले काममा जानुअघि लञ्च प्याक गर्दिसिन्छ’ अनि यो माया र त्यागको युगौँयुगको सम्बन्ध हुन जान्छ।

‘पुलिस बोलाइदेऊ न!’ बेलाबेला उनको शरीरका दाग देखेर सम्झाउने गर्छु तर उनका लागि यो श्रीमानले देखाएको अधिकार हो, केटा मान्छेको रिस हो। यो कुनै नौलो घटना होइन।

यो सजिलै समाधान हुन सक्ने समस्या होइन। यसरी यो कुरा सही हो भन्दै छोराछोरी हुर्काइरहेकी मेरी साथीले कस्तो संस्कार आफ्ना छोराछोरीलाई दिँदै होलिन्?

हाम्रो समस्या चेतनामा मात्र होइन, घरपरिवार र सेरोफेरो (जुन सजिलै परिवर्तन असम्भव छ) मा छ। एकातिर केही अभियन्ताको आफ्नै समस्या छ। उनीहरू जति अरूको समस्यामा बोल्छन्, त्यत्ति नै घरका समस्याहरू लुकाउँछन् (समाजको लागि)। महिला हिंसा र अधिकारको लडाइँ लड्ने साथीलाई उनकै घरमा बाबुले आमालाई यौन दुर्व्यवहार गरेको सहज लाग्यो। मैले सम्झाएँ- विचार गर है, मलाई त डर लागेको छ। छुट्टयाउन परे छुट्टाउनु पर्छ। घटना सामान्य थिएन।

साथी सकेसम्म घरमै सुल्झाउन पर्छ भन्नेमा थिइन् जुन मलाई पनि ठिकै लाग्यो। बीचबीचमा हाम्रो कुराकानी भए पनि उनका बुवाआमाको बारेमा कुरा गर्न साथीले मन गरिनन्, मैले छोडिदिएँ। यो घटनाको केही महिनामा म साथीकै घर गएँ।

आमालाई सञ्चो-बिसञ्चो सोध्दै भनेँ, ‘कस्तो छ अहिले?’

‘ए उस्तै हो। अझ बेसी होला कम भा’छैन।’

साथीले बीचैमा रोकिन् अनि हामी निस्कियौँ। कफी खाँदै सोधेँ, ‘के सोचेकी छौ।’

भनिन्, ‘आमा पनि निउँ खोज्ने हो। सुरू जहिले आमा गर्नुहुन्छ। बुवालाई जे कुरा चित्त बुझ्दैन, त्यही गर्दिने।’

मैले बोल्न जरूरी सम्झिन। नारी हिंसा र अझ घरेलु हिंसाको आवाज बनेकी साथीको वास्तविकताले नराम्रोसँग पोल्यो।

श्रीमानको कुटाइ खाए पनि तिजमा उसैको खुट्टाको पानी खाएर ब्रत तोड्ने मेरी अर्की साथीभन्दा मेरी यो साथीले मेरो विश्वास नराम्रोसँग तोडिन्।

अमेरिकाको १५ वर्षको बसाइमा म यस्ता धेरै घटनाको साक्षी बनेको छु। कहिले रक्सी खाएपछि मात्रै हो पिट्ने भनेर चित्त बुझाउने पनि भेटेको छु। योभन्दा बाँकी मानसिक रूपमा पीडा दिनेहरू अनगिन्ती छन्।

‘खै केलाई के नपचेको भन्याजस्तो!’

एउटा नेपाली जमघटमा एक महिलाको अर्की महिलाबारे यस्तो कमेन्टले मेरो ध्यान तान्यो। श्रीमान अर्कैसँग लागेको थाहा पाएपछि उनी पारपाचुके गरेर एक्लै बस्न थालेकी रहिछन्। श्रीमानले माफी मागे, उनले माफी दिन जरूरी सम्झिनन् अथवा उनको आत्मसम्मानको कुरा थियो, यो उनको निजी विषय हो। श्रीमानले अर्की बिहे गरेछन्। उनले बिहे नगर्ने निर्णय गरिन् या पछि गर्छिन्- यो पनि उनको निजी विषय हो। तर, समाजले जहाँजहाँ उनको उपस्थिति हुन्छ, उनलाई ‍लाञ्छना लगाएकै हुन्छ। जसरी मैले उल्लेख गरेको जमघटमा पनि उनैलाई लाञ्छना लाग्यो।

म धेरै जमघटमा सरिक हुन्नँ। म नारीवादी हो र धेरैले यसलाई गालीका रूपमा प्रयोग गर्छन्। म प्रतिवाद नगरी बस्न सक्तिनँ। त्यसैले सबैमाझ प्रिय पनि बन्न सकिनँ। जमघटहरुमा चाहे ती महिलाले नै किन नहुन्, तिनको आवाज पृत्तिसत्तात्मक समाजको पैरवीमा उभिएका हुन्छन्, महिलाले भोग्नु परेका अन्याय, अत्याचार, शोषण, हिँसालाई सजिला र सस्ता टिप्पणीले न्यायोचित ठहराउँछन्। म प्रतिवादमा उत्रिन्छु, अनि आँखाको कसिँगर बन्न पुग्छु। जानैपर्ने बाहेक अन्य जमघटहरु प्रायजसो जाँदिनँ।

शिल्पाले के गरिन्, के गरिनन्- आफ्नो ठाउँमा छ। छविले हात उठाउनु कुनै पनि समाजको कुनै पनि नियममा अपराध हुनुपर्छ। यसमा कसले के कति सहनुपर्थ्यो भन्ने निर्णय एउटै व्यक्तिले गर्न सक्छ र त्यो पीडित आफैँ हो, तपाईँहामी हैनौँ।

जब घरेलु हिंसा हाम्रा लागि लोग्नेस्वास्नीको सामान्य झगडा मात्र हुन्छ, हामीमा भएको मानिस मरिसकेको हुन्छ। हाम्रो समाजमा घरबाहिरका हिंसा त मुद्दा बन्छन्, तर एउटै छानामुनी हुने शारीरिक र मानसिक हिंसाहरु मुद्दा बन्न नपाउँदै संस्कार, चरित्रलगायतका विभूषणहरु भिराउँदै पतन गराइन्छ।

जसरी श्रीमानको कुटाइ मेरो साथीलाई सामान्य लाग्छ, श्रीमान् अर्कैसँग लाग्दा अर्कीलाई सह्य हुँदैन। पीडा भोग्ने व्यक्तिपिच्छे तनाव र यसलाई गरिने व्याख्या फरक हुन्छ।

जब घरेलु हिंसा हाम्रा लागि लोग्नेस्वास्नीको सामान्य झगडा मात्र हुन्छ, हामीमा भएको मानिस मरिसकेको हुन्छ। हाम्रो समाजमा घरबाहिरका हिंसा त मुद्दा बन्छन्, तर एउटै छानामुनी हुने शारीरिक र मानसिक हिंसाहरु मुद्दा बन्न नपाउँदै संस्कार, चरित्रलगायतका विभूषणहरु भिराउँदै पतन गराइन्छ। महिलालाइ नितान्त यौन प्रयोजनको वस्तुभन्दा पर नसोच्ने पुरुषहरु अझै पनि बहुसंख्यक हिस्सामा रहेको बुझ्न धेरै टाढा जानु पर्दैन। सामाजिक सञ्जालहरुमा आउने महिला लक्षित नकारात्मक टिकाटिप्पणीहरु हेरियो भने बुझ्न सकिन्छ।

श्रीमानले मनलाग्दी अधिकार जमाउन नपाउने हो भने विवाहको औचित्यमाथि प्रश्न उठाउने एउटा ठूलै जमात छ। यो जमातले हाम्रो समाजको असाध्यै कुरूप पाटोको प्रतिनिधित्व गर्छ।

यसलाई हामीले अनपढ जमात भनेर पन्छिन मिल्दैन, किनभने सामाजिक सञ्जालमा त्यस्ता टिकाटिप्पणी गर्नेहरुको अग्रपंक्तिमा पढेलेखेका भनिएका पुरुषहरुको नै वर्चश्व देखिन्छ। के यसमा दोषी हाम्रो समाज, हाम्रो संस्कार र सामाजिक सेरोफेरो छैन?

२१औं शताब्दीमा टेकिसक्दा पनि हाम्रो समाजमा श्रीमती वस्तु होइनन्, साथी हुन् भनेर बुझाउनुपर्ने बाध्यता आफैँमा लज्जास्पद छ।

समाजले अघोषित रुपमा पुरूषलाई महिलामाथि अधिकार जमाउने विशेष छुट दिएको छ। कानुनले भलै वर्जित गरेको होस्, समाजको एउटा ठूलो हिस्साले महिला हिंसालाई पुरूषार्थ सम्झन्छ।

एउटी श्रीमतीमाथि श्रीमानले गर्ने यौन हिंसा त एकादुईमात्र बाहिर आउँछन्। यौनजन्यबाहेक अरु शारीरिक हिंसा पनि सितिमिति बाहिर आउँदैनन्। समाज र प्रतिष्ठाको डर एउटा कारक तत्व हो, तर त्यही मात्रै एकल कारक तत्व भने कदापि होइन।

हाम्रो समाजले सम्बन्धलाई यसरी ब्याख्या गरेको छ, योबाट उम्किने उपाय हुँदैन। पारिवारिक कलहले आत्महत्या गर्नेको संख्या पनि ठूलै छ। सम्बन्ध भनेको एउटा पेचिलो जालो हो। माइतीको इज्जतको डरले कैयौँ महिला दबिएर बस्छन्। आफ्नो जाने ठाउँ नभएर दबिएर बस्ने अर्को तप्काका महिला छन्। सम्बन्धको बीचमा बालबच्चा भएपछि तिनलाई बिचल्ली के पार्नु भनेर चुपचाप सहेर बस्नेहरुको संख्या पनि थोरै छैन। घरमा कमाउने पुरुष मात्रै भएको हकमा त झनै मानसिक र शारीरिक हिंसाको पर्यायवाची नै हुन्छ पुरुष।

सार्वजनिक स्थानमा महिलामाथि हिंसा भयो भने त्यो हिंसा बन्छ, तर घरमा भयो भने ‘बुढाबुढीको झगडा परालको आगो’ भनेर सामसुम पारिन्छ।

एक त्यान्द्रो परालमा लागेको आगोलाई त ‘लौ त नि परालको आगो’ भनेर अगाडि बढौँला तर यहाँ त त्यही उखानको सहारामा परालको टौवा नै खरानी हुँदा पनि कसैको घैटौँमा घाम लाग्दैन। हि‌ंसा हिंसा हो, त्यो जहाँसुकै होस्, जस्लेसुकै गरोस्, त्यो न्यायोचित कदापि हैन र त्यसलाई न्यायोचित बनाउन खोज्नु मानवीय अपराध हो। यत्ति बुझ्नलाई धेरै पढ्न पर्दैन, चेतनशील प्राणी बनेमात्र पुग्छ।

बिहा गरेर ल्याएकी श्रीमती भन्नेबित्तिकै उसको शरीरमाथि अधिकार जमाउने अनि पशुवत व्यवहार गर्न पाउनुपर्छ भन्ने सोच संकीर्णमात्र हैन, घृणित छ। यस्ता सोचाइ राख्ने व्यक्तिलाई गाली गर्नुभन्दा पहिले यो सोचको जन्म कसरी भयो र कसरी हुर्काइयो भन्ने अध्ययन जरुरी छ। औपचारिक शिक्षामा पनि परिमार्जन आवश्यक छ।

यसैगरी संस्कारको नाममा पालिएका र फैलाइएका कुरीति जरैदेखि उन्मुलन गर्नुपर्छ। एउटा अंग्रेजी भनाइ छ- परिवर्तन शुरूवातमा असम्भव, सुरू भएपछि भद्रगोल र अन्त्यमा अत्यन्तै सुन्दर देखिन्छ। अहिले महिला हिंसा बिरुद्धको लडाइँ पहिले असम्भव थियो, अहिले आएर भद्रगोल भएको छ। नतिजा अवश्य सुन्दर हुनेछ।

 

साउन ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्