सुनुवाईको क्रममा विशेष काउन्सिल रोबर्ट म्युलर

‘ट्रम्पलाई प्रतिवेदनमा पूर्णरुपमा दोषमुक्त भनिएको छैन’

अमेरिकाको राष्ट्रपति चुनावमा रुसी दखल र त्यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे अनुसन्धान गरी आफ्नो प्रतिवेदन बुझाएका स्पेशल काउन्सिल रोबर्ट म्युलरले आफ्नो प्रतिवेदनमा राष्ट्रपति ट्रम्पलाई पूर्णरुपमा दोषमुक्त नगरेको बताएका छन् ।

कंग्रेसमा भएको सुनुवाईको क्रममा विशेष काउन्सिल म्युलरले आफ्नो प्रतिवेदनमा राष्ट्रपति ट्रम्पलाई पूर्णरुपमा दोषमुक्त उल्लेख नगरेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले न्याय सम्पादनमा प्रभाव पार्न खोजेको या अवरोध गरेको कुरा प्रतिवेदनमा उल्लेख रहेको र त्यसका लागि उनी दोषमुक्त नरहेको सुनुवाईको क्रममा विशेष काउन्सिल म्युलरले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर राष्ट्रपति ट्रम्पले भने म्युलरको प्रतिवेदनमा आफू पूर्णरुपमा दोषमूक्त उल्लेख भएको भन्दै कंग्रेसमा भएको सुनुवाईको क्रममा विशेष काउन्सिल म्युलरले दिएको बयानको खण्डन गरेका छन् । ट्रम्पले सुनुवाईमा म्युलरको प्रस्तुतिको आलोचना गरे पनि आफ्ना लागि उत्कृष्ट दिन रहेको बताएका छन् ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावको क्रममा रुसी दखल रहेको र त्यसमा ट्रम्पलाई फाइदा हुने गरी सम्बन्ध रहेको भन्ने आरोपबारे विशेष काउन्सिल म्युलरको टिमले दुई वर्ष लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको थियो ।

सो प्रतिवेदन केही महिनाअघि उनले कंग्रेसलाई बुझाएका थिए । प्रतिवेदनमा ट्रम्पको चुनावी अभियान र रुसबिचको सम्बन्ध स्थापित गरिएको थिएन । तर रुसले ट्रम्पको पक्षमा जाने गरी चुनावमा दखल दिएको भने प्रतिवेदनमा उल्लेख छ ।

विशेष काउन्सिल म्युलरको टिमले ३५ जना तथा तीन कम्पनीमाथि आरोप प्रमाणित भएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर ट्रम्प परिवारका कोही पनि त्यसमा समावेश छैनन् ।

संघीय अनुसन्धान ब्युरो (एफबिआई) का पूर्व निर्देशक म्युलरको टिमले राष्ट्रपति ट्रम्पविरुद्ध कुनै आरोप लगाएको थिएन तर उनलाइए पूर्णरुपमा दोषमुक्त पनि भनेको छैन ।

म्युलरले ४४८ पृष्ठ लामो प्रतिवेदनमा ट्रम्पले न्याय सम्पादनमा प्रभाव पार्न खोजेको उल्लेख गरेका छन् । यस्तै अमेरिकी प्रजातन्त्रमाथि रुसी आक्रमण बढ्दै गएको पनि उल्लेख छ ।

कंग्रेसमा भएको सुनुवाईको क्रममा पनि उनले त्यसैलाई जोड दिएका छन् । उनले ट्रम्पलाई आफूले पूर्णरुपमा दोषमूक्त नभनेको बताएका छन् । न्याय प्रक्रियामा बाधा गर्न खोजेकोमा ट्रम्प दोषी रहेको उनको भनाई छ ।

साउन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्