पार्टी एकता यत्तिमा सीमित हुनु हुँदैन : प्रचण्ड

काठमाडौँ – विश्वलाई नेपालबाट समाजवादको नयाँ सन्देश दिनका लागि पार्टी एकताले पूर्णता पाउनु पर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । पार्टी एकतालाई मजबुद बनाएर सरकारका कामकारवाहीलाई चुस्त गराउनु पर्नेमा प्रचण्डले जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको छैठौँ स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘साउनमा स्थायी र केन्द्रीय समतिकिो बैठक सकेर भदौमा जनअभियान सुरु गर्ने हाम्रो चाहना छ । पार्टी एकता यत्तिमा सीमित हुनु हुँदैन । सामाजिक न्यायसहितको समृद्धिको मोडल दिनका लागि पार्टी एकतालाई पूर्ण र बलियो बनाउनु पर्छ ।’

यस्तै कार्यक्रममा नेता माधव नेपालले पार्टी एकतामा विलम्ब गर्न नहुने बताए । उनले भने, ‘पार्टी एकता कसैले भत्काएर भत्किने खालको छैन । यो एकता सजिलै भएको होइन । अब झन मजबुद बनाउनु पर्छ ।’

सरकारको उद्देश्य पूरा गर्नका लागि पनि पार्टी थप एकताबद्ध हुनुको विकल्प नरहेको उनले बताए । यस्तै सबै तहका सरकारको कमजोरी अध्ययन गरी सबैले आफ्नो कमजोरी आफैले सच्याउनु पर्ने पनि उनले बताए ।

साउन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्