उद्योगमन्त्री यादव र सचिव खतिवडाबीच संसदीय समितिमै बाझाबाझ

बैठकमा सहभागी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र उद्योग सचिव यामकुमारी खतिवडालगायत ।

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र उद्योग सचिव याम कुमारी खतिवडाबीच संसदीय समितिमै बाझाबाझ भएको छ ।

मन्त्रालयले पेश गरेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पुगेका मन्त्री र सचिव समितिमा आफैँबीच झगडा गरेका हुन् ।

विधेयकमा परेका संशोधनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे विना तयारी समितिमा पुगेका मन्त्री र सचिवले एउटै विषयमा दुई खाले धारणा राखेपछि आपसमै बाझाबाझ गरेका थिए ।

मन्त्री र सचिव नै झगडा गर्न थालेपछि समितिका सभापति विमलप्रस्ताव श्रीवास्तवले ‘तपाईंहरु मन्त्रालयमै छलफल गरेर आउनुहोस्’ अवस्थालाई सहजीकरण गरेका गरे ।

विधेयकको प्रस्तावना र दफा ४ च मा सांसदहरु बिन्दा पाण्डे र विनाकुमार श्रेष्ठले दर्ता गरेको संशोधन प्रस्तावलाई हेर्ने दृष्टिकोणमा मन्त्री र सचिव नै विभाजित भए ।

मन्त्री र सचिव नै झगडा गर्न थालेपछि विधेयकलाई अर्को दिन टुंग्याउने भन्दै सभापति श्रीवास्तवले बैठक नै शुक्रबार बिहानसम्मका लागि स्थगित गरेको समितिका एक सदस्यले जानकारी दिए ।

ऐनको प्रस्तावनामा रहेको ‘श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएको छ’ भन्ने वाक्यांसलाई संविधान अनुकुल बनाउनु पर्ने सांसद पाण्डे र श्रेष्ठ दर्ताको प्रस्तावलाई मन्त्री यादवले समर्थन गरे ।

तर, सचिव खतिवडा र कानुन मन्त्रालयका प्रतिनिधिले अरु कानुनमा पनि यस्तै वाक्य अन्त पनि भएकाले एकमुष्ट हटाउनुपर्ने भन्दै मन्त्रीको भनाइलाई प्रतिवाद गरे ।

समितिका एक सदस्यका अनुसार कर्मचारीहरुले विधेयकको जन्म नै त्यही समयमा भएकाले हटाउन नहुने र हटाउनु पर्ने भए नयाँ विधेयक नै ल्याउनु पर्ने जिकिर गरेका थिए ।

कर्मचारीले आफ्नो भनाइको विरोध गरेपछि मन्त्री मात्रिका यादवले आक्रोशित हुँदै भने, ‘मिल्छ भने म सरकारको तर्फबाट स्वीकार गर्न तयार छु । समितिले त्यो हटाउने निर्णय गरोस् ।’

त्यस्तै विधेयकको दफा ६ को ३ मा औद्योगिक प्रतिष्ठान गठन गर्दा मन्त्रालयले नियुक्त गरेको व्यवस्थापन विज्ञमा एकजना महिला हुनुपर्ने संशोधनलाई सचिव खतिवडाले मन्त्रीको अनुमति विनै समथर्न गरिन् ।

खतिवडाले मन्त्री यादवतर्फ संकेत गर्दै भनिन्, ‘मन्त्री ज्यू पनि यहीँ हुनुहुन्छ । प्रतिष्ठानमा महिला नियुक्त गर्ने प्रावधान राखिनुपर्छ । यसमा मेरो समर्थन छ ।’

सचिवको भनाइ भुइमा खस्न नपाउँदै मन्त्री यादव फेरि जंगिदै सचिवलाई हकारे । उनले सचिव खतिवडालाई चेतावनीको शैलीमा भने, ‘तपाईं कानुनका कुरा मात्र गर्नुहोस् । अरु कुरा होइन।’

साउन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्