विकासले विनाशको समस्या

हुलाकी सडक र बाँधका कारण कैलालीको लालबोझिका जनतालाई बाढीको चिन्ता

धनगढी- वर्षा सुरु भएसंगै कैलालीको भजनी त्रिशक्ती नगरपालिका वडा नम्बर-७ लालबोझिका जनतालाई रात दिन एउटै पिरलोले सताउँने गरेको छ। मोहना नदी र कान्द्रा नदीको विचमा पर्ने सो गउँमा जुनसुकै समयमा पनि बाढीको खतरा छ।

५–५ फिट सम्म पानी जम्ने सो स्थानका नागरिक अहिले कुन नदीमा बाढी आउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्न थालेका स्थानीय दुखीराम चौधरीले बताए। नदीमा थोरै पानीको सतह बढेपनि गाउँमा पानी पस्ने गरेको उनले बताए। भारतले मोहना नदीमा उच्चो बाँध बाँधे पछि डुवान बढी हुने गरेको बताए।

भारतले आफ्नो क्षेत्रमा उच्चो बाँध बाँधेको छ’ उनले भने–‘जसका कारण नदी साँघुरो बनेर गाउँमा डुवान हुने गरेको छ।’ उनले मोहना नदीमा बाढी आए दक्षिण क्षेत्रका गाउँ डुवान हुने गरेको र कान्द्रा नदीमा बाढी आए उत्तर पट्टिको गाउँ जलमग्न हुने गरेको बताए।

यस्तै पछिल्लो समय निर्माण् गरिएको हुलाकी सडकका कारण पनि यो बस्ती डुवान हुने गरेको छ। बस्ती भन्दा कम्तिमा पनि ६ फिट अग्लो हुलाकी सडक निर्माण भएकाले पानीको निकास नभई बर्षायाम भरि नै बस्ती डुवान पर्ने गरेको स्थानीयको भनाई छ।

राम प्रसाद डगौराले बर्षायाम सुरु भएपछि गाउँलेहरु जंगलको पानी नलाग्ने ठाउँ रोज्न व्यस्त हुन थालेका बताए। उनले भने–‘नदीमा पानीको सतह बढेसंगै गाउँमा ५–६ फिट पानी जम्ने गर्छ, जसका कारण हामीहरुको एक साता सम्म नै जंगलमै बास हुन्छ, अहिले ठाउँ नरोजे पछि जंगलमा पनि बस्ने ठाउँ पाइदैन।’ गाउँको विचमा बाँध जस्तै उच्चो हुलाकी सडक निर्माण गरेपछि लालबोझिमा झनै डुवान हुने गरेको उनले बताए।

गाउँका चौकिदार समेत रहेका उनले भने–‘पहिला मोहना र कान्द्रामा एकैपटक बाढी आए मात्रै डुवान हुने गर्दथ्यो तर अहिले दुवै नदीको विचमा ७ फिट सम्म उच्चो बनाएर हुलाकी सडक निर्माण गरिएको छ, जस्ले गर्दा एउटा नदीमा बाढी आएपनि गाउँ डुवानको चपेटामा पर्न थालेको छ।’

भारतले आफ्नो क्षेत्रमा धेरै बाढी आए नदीको ढोका बन्द गर्ने गरेका कारण लालबोझिमा झनै डुवान हुने गरेको उनले बताए। लालबोझि संगै चर्रा, लवास्टपुर र दक्षिणपुर गाउँ समेत मोहना र कान्द्रा नदीमा आएको बाढीका कारण डुवानमा पर्ने गरेको उनले बताए।

भजनी नगरपालिका वडा नम्बर–७ हिम्मतपुरका रामकुमार चौधरीले गाउँमा बाढी आएपछि डुङ्गाका माध्यामबाट जंगल जाने गरेको बताए। उनले भने–‘गाउँ डुवान हुन थालेपछि कोहि पहिला नै जंगलको उच्चो स्थानमा गएर बसिहाल्छन् तर घरका सामाग्री थन्क्याउँदा थन्क्याउँदै ढिला भएर गाउँमै अड्किने केही मानिसलाई भने डुङ्गाको माध्यामबाट जंगल पुर्‍याउनु पर्ने हुन्छ।’

वर्षा याम सुरु भएपछि गाउँमा बाढी आएका वेला मानिस र खाद्यान्न ओसार्न छुट्टै डुङ्गा तयार गरेर राख्ने गरेको उनले बताए। अहिले नदीमा मानिसलाई ओहोर दोहोर गराउने डुङ्गा गाउँमा बाढी आएपछि गाउँलेलाई जंगल ओसार्ने काममा प्रयोग हुन्छन, उनले भने–‘डुङ्गाकै माध्यामबाट खाद्य सामाग्री पनि जंगलमा लगिन्छ। बाढी पछि गाउँमा जमेको पानी निकास हुन एक साता लाग्ने गरेका कारण सो समयावधी सम्म गाउँले पशुपञ्छि संगै सुत्ने गरेको उनले बताए।

अघिल्लो बर्ष एक साता सम्म जंगलमै चुलो लगाएर बसेको स्मरण गर्दै स्थानीय जंगि डगौराले भने–‘त्यो क्षेण सम्झेर अहिले पनि मन भारी हुन्छ, फेरी त्यस्तो अवस्था आए कसरी दिन गुजार्ने हो, चिन्ता लाग्न थालेको छ।’ एकसाता सम्म जंगलमै बस्नु पर्दा गाउँमा रोगको महामारी फैलिने गरेको उनले बताए।

‘बाढी आए पछि गत बर्ष पनि अधिकांस मानिस बिरामी परेका थिए’।उनले भने–‘समयमै उपचार नपाउँदा केही मानिसलाई अहिले पनि राम्रो संग सञ्चो लागेको छैन। गाउँमा भरपर्दा स्वास्थ्य संस्था नहुँन र टाढा गएर उपचार गर्ने क्षमता गाउँले संग नहुँदा रोग पालेर बस्नु पर्ने बाध्यता रहेको उनको दुःखेसो छ।

साउन ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्