नेपालगञ्‍जको आन्तरिक आम्दानी १४ करोड

बाँके-नेपालगञ्‍ज उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७५-७६ मा १४ करोड बढी आन्तरिक आम्दानी गरेको छ। नेपालगञ्जले यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी आम्दानी गर्न सफल भएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले १४ करोड ११ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार आम्दानी गर्न सफल भएको प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए।

उपमहानगरपालिकाले सम्पति करबाट चार करोड २० लाख, भाडा तथा बहालबाट एक करोड १३ लाख, बहाल कर एक करोड ७२ लाख, नक्सा पास दस्तुर दुई करोड ८७ लाख, सिफारिस दस्तुर तथा बक्सौनी एक करोड १७ हजार रुपैया राजश्व संकलन गरेको छ।

उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि राजश्व संकलन बढेको हो।दक्ष जनशक्ति, बाणिज्य संघ, मालपोतलगायतको सहयोग र जनतामा कर तिर्नुपर्छ भन्ने भावनामा विकास भएपछि आम्दानी लक्ष्य अनुसार भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए।

करको दायरामा अझ धेरैलाई समेटन बाँकी रहेको भन्दै प्याकुरेलले केही प्रतिशत आम्दानी वडामा उपलब्ध गराउने नीति लिइएको बताए।

राजश्व संकलन बढाउन मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापामगर लगायत वडा अध्यक्षहरुको महत्वपूर्ण भूमिका रहेको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको भनाई थियो। लामो समयसम्म नेपालगञ्ज उपमहानगरपालिकाले लक्ष्य पूरा गर्न सकेको थिएन।

साउन १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्