मड्रिड डर्बीमा रियल मड्रिडको लज्जास्पद हार, खायो सात गोल

नयाँ सिजनको तयारीमा रहेको स्पेनिस ला लिगा क्लब रियल मड्रिड छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग लज्जास्पद हार बेर्होन बाध्य भएको छ ।

प्रि–सिजन भ्रमण अन्तर्गत अमेरिकाको न्युजर्सीमा नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ ले पराजित गरेको हो । प्रि–सिजन मड्रिड डर्बीमा एथ्लेटिको निकै बलियो देखिएको हो ।

एथ्लेटिकोको जितमा डिएगो कोस्टाले चार गोल गरे । पहिलो मिनेटमा नै गोल गरेका उनले पहिलो हाफमा ह्याट्रिक पूरा गरे । हालै अनुबन्धित भएको ओएओ फिलेक्सले पनि क्लबका लागि पहिलो गोल गरे । पहिलो हाफमा एथ्लेटिको मड्रिडले ५–० को अग्रता लिएको थियो ।

कोस्टाले दोस्रो हाफमा व्यक्तिगत चौथो गोल गरे । उनको गोलअघि ६१ औँ मिनेटमा कोस्टा र रियल मड्रिडका डानी कार्वाहालले रातो कार्ड पाए । दुई खेलाडबिच मैदानमा झगडा भएको थियो ।

एन्जल कोरिया र अल्भारो मोराटाले पनि गोल गरे । वितोलोले ७० औँ मिनेटमा एथ्लेटिकोका लागि सातौँ गोल गरे ।

रियल मड्रिडले ६–० ले पछि परिसकेको अवस्थामा मात्रै गोल फर्काउन सुरु गरेको थियो । रियलका लागि नाचोले पहिलो गोल गरे । त्यसपछि करिम बेन्जिमा र हाविएर हर्नान्डेजले गोल गरेका हुन् ।

चिनियाँ क्लब जाने भनिएका ग्यारेथ बेल सुरुमा बेन्चमा थिए । उनी अन्तिमको ३० मिनेट मैदानमा उपस्थित रहे ।

रियल मड्रिड प्रि–सिजन अमेरिका भ्रमणमा समस्यामा देखिएको छ । पहिलो खेलमा बार्यन म्युनिखसँग ३–१ ले पराजित भएको रियल मड्रिड दोस्रो खेलमा निर्धारित समयमा आर्सनलसँग २–२ को बराबरीमा रोकिएको थियो । तर पेनाल्टीमा रियल मड्रिडले खेल जितेको थियो ।

साउन ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्