अस्ट्रेलियामा सडक दुर्घटनामा परी दुई नेपालीको मृत्यु, तीन घाइते

फाेटाे: एबिसी न्यूज ।

सिड्नी – सिड्नीबाट स्नोई माउन्टेनतर्फ जाँदै गरेको कार सडक दुर्घटना हुँदा त्यसमा सवार दुईजना नेपालीको घटनास्थलमैँ मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

तीव्र गतिमा रहेको उक्त कारले सडक छोडेर पल्टिएपछि उक्त घटना भएको जनाइएको छ । सडक छोडेर एउटा रूखसँग ठोक्किएपछि पछिल्लो सिटमा रहेकी महिला केही मिटर पर हुत्तिएकी तथा गाडीले करिब १ सय ६० मिटरसम्म चिप्लिएर घस्रिएको प्रहरीले जनाएको छ ।

न्यू साउथवेल्स प्रहरीका अनुसार आइतबार स्थानीय समयअनुसार बिहान ३ बजेर ४० मिनेट जाँदा इमर्जेन्सी सेवालाई रोजभ्याली रोड, बनयननजिक पर्ने मोनारो हाइवेमा बोलाइएको थियो ।

सो स्थान कुमाबाट १० किलोमिट उत्तरमा तथा राजधानी क्यानबेराबाट करिब १ सय १५ किलोमिटर दक्षिणमा पर्दछ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने २२ वर्षीय चालक तथा १९ वर्षीय दुई यात्रुहरूको टाउकोमा चोट लागेको छ । घाइते चालक र दुई यात्रुलाई न्यूसाउथवेल्स एम्बुलेन्सका रामेडिक्सले घटनास्थलमा प्राथमिक उपचारपश्चात् नजिकैको कुमा अस्पतालमा पुर्‍याएका थिए ।

त्यहाँबाट चालक र एक यात्रुलाई थप उपचारका लागि हेलिकप्टरबाट क्यानबेरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेहरू खतरामुक्त रहेको र उनीहरूलाई सामानय वार्डमा सारिएको जनाइएको छ ।

दुर्घटनामा परेकामध्ये भट्टराई, देवकोटा, सुवेदी, कँडेल र भण्डारी थरका युवाहरू रहेको बताइएको छ भने पूरा विवरण प्रहरीले अझै सार्वजनिक गरेको छैन ।

दुर्घटनामा परेकाहरूसँगै अन्य १० जनाको समूह पनि हिउँ खेल्नका लागि अर्को दुईवटा कारमा गएको बताइएको छ ।

बाटोमा पर्ने क्याम्पिङ साइटमा सँगै क्याम्पमा बसे पनि उनीहरू बिहान अरूभन्दा अगाडि नै आफ्नो गन्तव्यतर्फ लागेको बताइएको छ । स्नोई माउन्टेनमा पुगिसकेपछि मात्रै आफूहरूले सो दुर्घटनाबारे थाहा पाएको उनीहरूलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका थिए ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा क्यानबेरा राज्यका संयोजक राजन ढुङ्गेलले घटना भएको थाहा पाउना साथ आफूहरू सहयोग गर्न लागिपरेको बताए ।

उनले भने, “एनआरएनएका प्रतिनिधिहरू, अस्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटी लगायतका स्थानीय समाजसेवीहरूले आवश्यक समन्वय र सहयोग गर्न बिहानैदेखि लागिपरेका छौं । नेपाली दूतावासका प्रतिनिधिहरूले यस घटनालाई सहकार्य गर्न अग्रणी भूमिका खेलिरहेका छन् । यस दुःखद् खबरले समस्त नेपाली समुदायलाई स्तब्ध पारे पनि समुदायले देखाएको ऐक्यवद्धता र साथले केही मात्रामा भए पनि राहत भने पक्कै दिनेछ ।”

दुर्घटनाको कारणबारे प्रहरी अनुसन्धान गरिरहेको बताएको छ ।

साउन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्