त्रिविको विकल्पका रुपमा ‘मदन भण्डारी विश्वविद्यालय’ खडा गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले देशको जेठो र ख्यातिप्राप्त त्रिभुवन विश्वविद्यालयको विकल्पका रुपमा तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा नयाँ विश्वविद्यालय स्थापनाका लागि विधेयक संसदमा दर्ता गराएको छ।

शिक्षा तथा विज्ञान प्रतिविधिमन्त्री गिरिजामणि पोखरेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद सचिवालयमा दर्ता गराएका हुन्।

विश्वविद्यालयको नाम विज्ञान तथा प्रविधि क्षेत्रको पढाइलाई अघि बढाउने जस्तो देखिए पनि हाल त्रिविले पढाउँदै आएका सबै संकाय समेट्ने उल्लेख छ ।

विधेयकको दफा ३ (१) मा उल्लेख गरिएको छ, ‘विज्ञान तथा प्रविधि, मानविकी, तथा समाजशास्त्र, व्यवस्थापन, कानुन र न्यालगायतका विषय र क्षेत्रमा मुलुकभित्र विश्वस्तरीय जनशक्ति उत्पादन गर्न तथा नयाँ ज्ञान र प्रविधिको निकासमा थप योगदान पुर्याउन मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिएको छ।’

देशमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले नाम विज्ञान प्रविधि जोडेर सबै जसो संकाय पढाउने गरी विश्वविद्यालय बनाउने प्रस्ताव अघि सारेको हो।

विश्वविद्यालय मकवानपुर जिल्ला थाहा नगरपालिकाको चित्लाङ रहने प्रस्ताव गरिएको छ भने प्रधानकार्यालय काठमाडौँ उपत्यका वा उपत्यकाको आसपासका उपयुक्त स्थानमा रहने उल्लेख गरिएको छ।

विश्वविद्यालय सञ्चालकनका लागि संरक्षक समिति, प्राविधिक परिषद्, कार्यकारी परिषद् र तोकिए बमोजिमका अन्य निकाय रहने गरी चार तहको संरचना बनाउने उल्लेख छ।

निजी क्षेत्रबाट हाल सञ्चालनमा रहेका विश्वविद्यालयको कुलपति प्रधानमन्त्री स्वत: रहने व्यवस्था भए पनि यस विधेयकमा त्यस्तो व्यवस्था राखिएको छैन।

अध्यक्ष नै विश्वविद्यालयको कार्यकारी प्रमुख हुने र उसको नियुक्ति संरक्षक समितिले बनाएको तीन सदस्य समितिले गरेको सिफारिसका आधारमा हुने उल्लेख छ। विधेयकमा विश्व विद्यालयले सम्बन्धन दिन नपाउने व्यवस्था गरिएको छ।

साउन १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्