अन्तर्वार्ता

घातक हेपाटाइटिसबारे विशेषज्ञसँग ११ प्रश्नहरु

डा. दिलीप शर्मा।

पछिल्लो समयमा हेपाटाइटिसका बिरामीको संख्या बढ्दै गएको चिकित्सकले बताएका छन्। विभिन्न संक्रमणका कारण कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने गरिन्छ। हेपाटाइटिस कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण हो ।

यसलाई सामान्यतया ‘ए’ देखि ‘ई’सम्म पाँच प्रकारमा वर्गीकरण गरिएको छ। तुलनात्मक रुपमा कुन हेपाटाइटिस गम्भीर मानिन्छन्, यसै विषयमा वीर अस्पतालका कलेजो राेग विशेषज्ञ डा. दीलिप शर्मासँग देशसञ्चार संवाददाता प्रतिभा चन्दले गरेको कुराकानी।

हेपाटाइटिस भनेको के हो?

सामान्य भाषमा हेपाटाइटिस भने जन्डिस हो। हेपाटाइटिसको पहिलो लक्षण भनेकै जन्डिस हो। यो विशेषगरी दुई प्रकारले हुने गर्छ। एउटा फोहोर पानीबाट र अर्को रगत जन्य पद्धार्थबाट हुने गर्छ।

बर्खाको समयमा हेपाटाइटिस ‘ए’ र ‘ई’ धेरै हुने गर्छ। यो प्रकोपमा जन्डिस देखिने हुन्छ। धेरै जसो मानिसहरु जन्डिस देखिएपछि मलाई जन्डिस देखियो भन्दै अस्पताल पुग्ने गर्छन्।

त्यसैगरी अर्को हुन्छ, हेपाटाइटिस ‘बी’ र ‘सी’। हेपाटाइटिस ‘बी’ र ‘सी’ भने शारीरिक यौन सम्पर्कबाट, प्रदुषित रगतबाट, धेरै ड्रग्स वा सिरिन्ज प्रयोग गर्ने व्यक्तिहरुमा धेरै संक्रमण हुने गर्छ।

हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ मध्ये कुनलाई खतरनाक मानिन्छ? 

खतराको हिसाबले भन्दा पनि हेपाटाइटिस ‘ए’ र ‘ई’ले संक्रमण भएपछि यदी खाना राम्रो खाइयो र अन्य कम्प्लिकेशनहरु केही आएन भने यो आफै निको हुन्छ। यसको लागि औषधिको आवश्यकता पर्दैन।

हेपाटाइटिस ‘बी’ र ‘सी’ले दृघकालीन संक्रमणको एउटा रुप लिन्छ। जसले गर्दा पछि गएर लिभर सिरोसिस भएर लिभर कडा हुँदै जाने र लिभर क्यान्सरसम्म बनाउन सक्छ। यही आधारमा सार्वसाधारणले बुझ्ने गरी भन्ने हो भने ‘बी’ र ‘सी’ कडा हेपाटइटिस भनेर बुझिन्छ।

‘ए’ र ‘ई’ भनेको फोहार पानीबाट सर्ने वा साधारण जन्डिस देखिने हेपाटाइटिस हो। तर यो पनि कहिलेकाहीँ समयमै उपचार भएन, नानाथरी औषधि खाइयो र त्यसमै अन्य संक्रमण भयो भने ज्यान समेत जाने हुन्छ।

हेपाटाइटिस कुन उमेर समूहमा बढी देखिन्छ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ विशेषगरी बच्चाहरुमा देखा पर्ने गर्छ। कुनै पनि मानिसमा १२ वर्षको उमेरभन्दा अगाडि नै हेपाटाइटिसको संक्रमण भइसकेको हुन्छ। हेपाटाइटिस ‘ए’ को संक्रमण भएर आफै निको समेत भइसकेको हुन्छ।

शरीरमा हेपाटाइटिस ‘ए’को आइजिजी भन्ने टेष्ट हेर्‍याे भने यसले संक्रमण भइसकेको देखाउँछ। अधिकांश प्रदुषित पानी पिउने, घर बाहिर खाना खाने व्यक्तिहरुलाई हेर्ने हो भने एन्टि एचबिआइजिएम पोजेटिभ देखिने गर्छ। जुन आफै निको भइसकेको हुन्छ।

त्यसैगरी हेपाटाइटिस ‘ई’ सबै ग्रुपमा देखिने गर्छ। तर पनि विशेषगरी युवा अवस्थामा धेरै देखिने गर्छ।

हेपाटाइटिस एकबाट अन्य व्यक्तिमा सर्ने सम्भावना कत्तिको हुन्छ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ बिरामीको प्रदूषित दिसा अनि कहिलेकाहीँ ढल फुटेर पिउने पानीसँग मिसियो भने यसबाट हेपाटाइटिस ‘ए’ र ‘ई’ सर्ने गर्छ। यो मुख्य सर्ने भनेकै प्रदूषित पानी र प्रदूषित खानाबाट सर्ने गर्छ।

हेपाटाइटिस ‘बी’ र ‘सी’ भनेको रगत जम्ने तरल पदार्थ वा शरीरको तरल पदार्थबाट सर्ने गर्छ।

हेपाटाइटिसका बिरामीहरुका कस्ता खालका लक्षणहरु देखा पर्छन्?

एक्यूट हेपाटाइटिस हुँदा सामान्य मानिसहरुलाई भाइरल इल्नेस हुन्छ। कसैलाई रुघाखोकी लाग्न सक्छ। अझ सुरुको अवस्थामा थकाई लाग्ने, अल्छि लाग्ने, मन्द ज्वरो आएको जस्तो हुने, पेट दुख्ने बान्ता होला जस्ता हुने जस्ता लक्षणहरु देखा पर्छन्।

कतिपयलाई सुरुमै जन्डिस देखिने हुन्छ।जसमा आँखा पहेँलो हुने समस्या देखिने गर्छ। सामान्यतया भाइरल इल्नेसको पाटोमा कोही मानिस कलेजोको डाक्टर कहाँ हेपाटाइटिस भयो भन्दै अस्पताल पुग्ने गरेको पाइँदैन। प्राय मानिसहरुले जन्डिस देखिए पछि मात्र कलेजो विशेषज्ञ खोज्दै अस्पताल पुग्ने गर्छन्।

सुरुवातमा बिरामीले हेपाटाइटिस भनेर बिरामीले थाहा पाउने भनेकै जन्डिस देखिएपछि हो। आँखाको रङ्ग पहेँलो देखिन थालेपछि बिरामीले आफूलाई के भएको हो भन्दै अस्पताल पुग्ने गर्छन्।

उपचारको सम्भावना कस्तो छ?

हेपाटाइटिस ‘ए’ र ‘ई’ आफै निको हुने समस्या हो। यसमा राम्रो खाना खाइयो, प्रदूषित पानी, खाना खाइएन, प्रशस्त मात्रामा कार्बोहाइड्रे भएको खाना खाने हो भने ‘ए’ र ‘ई’ आफै निको हुन्छ। हाइजेनिक खाना खाएको केहीबेरपछि बिरामीलाई सबै चिज नर्मल हुँदै जान्छ।

त्यसैगरी, धेरै जसो एक्यूट फेजमा देखिने हेपाटाइटिस ‘बी’ र ‘सी’ भने दृघकालीन रुप लिन्छ। कसैको आमामा हेपाटाइटिस थियो र बच्चामा सर्यो  भने यस्तो कुरा उनीहरुलाई थाहा हुँदैन। उनीहरु विदेश जाने क्रममा वा अन्य कुनै टेष्ट गरेको समयमा यसको संक्रमण देखिने गर्छ।

संक्रमण देखिएपछि यदी हेपाटाइटिसको औषधि खानु पर्ने अवस्था धेरै छ, शरीरमा भाइरस धेरै छ भने हेपाटाइटिस ‘सी’ का लागि हामीसँग खाने औषधि छ। उक्त औषधि १२ हप्ताको सेवनपछि यसको भाइरस शरीरबाट निस्किने गर्छ। हेपाटाइटिस ‘बी’ को हकमा भने सबैलाई औषधि चाहिँदैन।

आजको दिनमा संसासरमा करिब २५ करोड मानिसलाई यसको संक्रमण छ। दीर्घकालीन संक्रमणमा जसलाई हामी क्रोनिक हेपाटाइटिस भन्ने गर्छौँ। ती २५ करोड मध्येको १० प्रतिशतले मात्रै औषधि सेवन गर्नुपर्ने हुन्छ।

बाँकी शरीरले बिस्तारै आफै क्लियर गर्दै गइरहेको हुन्छ। जसलाई हामी क्यारीयर भन्ने गर्छौँ। तर औषधिको जरुरत भने पर्दैन। त्यस्ता बिरामीहरु धेरै जसो हामीसँग औषधि नभएका कारण अन्यत्र जानुपर्छ भनेर जाने गरेको पनि छन्।

डा. दिलीप शर्मा

यसबाट बच्न के कुरामा ध्यान दिन जरुरी छ?

हेपाटाइटिस ‘ए’ र ‘ई’बाट बच्न सरसफाईमा ध्यान दिनुपर्छ। उमालेको पानी पिउने गर्नुपर्छ। एन्टिबायाटिक खानु हुँदैन। सबैभन्दा महत्वपूर्ण कुरा अहिलेको मौसममा बाटोका खाने कुराहरु पानी पुरी, चाट खानु हुँदैन।

हामी धेरैलाई सल्लाह दिने भनेको फ्रेस जुस जुन बाहिर पेलेको हुन्छ, जसमा धेरै फोहोर, प्रदुषण हुन सक्छ। जुन खानु नै हुँदैन। यदी जुस खान मन लागे घरमा आफैले बनाएर खानु पर्छ। यो सँगसँगै उमालेको पानी अनिवार्य खानुपर्छ।

त्यसैगरी हेपाटाइटिस ‘बी’ बाट बच्नका लागि खोप उपलब्ध छ। अहिले सरकारले भर्खरै जन्मिएका शिशुहरुलाई यो खोप अनिवार्य लगाउनु पर्ने व्यवस्था गरेको छ। तर अघिल्लाे पुस्ताका व्यक्तिहरुमा भने आफ्ना अभिभावकलाई हेपाटाइटिस छ वा छैन भनेर पत्ता लगाउने र यदी अभिभावकमा हेपाटाइटिसको संक्रमण छ भने उपचारका लागि जानु पदर्छ।

यदी हेपाटाइटिस छैन भने पनि हेपाटाइटिसको विरुद्धमा खोप लगाउनु पर्छ। ‘बी’को विरुद्धमा खोप छ र ‘सी’को विरुद्धमा भने खोप छैन। त्यसकारण हाम्रो व्यवहार सधैँ सही हुन जरुरी छ। जथाभावी सुईको प्रयोग गर्ने, मल्टिपल सेक्स पाट्नर हुने मानिसहरुलाई यसको संक्रमणको सम्भावना धेरै हुने भएका कारण यस्ता व्यक्तिले ध्यान दिन अत्यन्तै जरुरी हुन्छ।

नेपालमा यसको अवस्था कस्तो छ?

नेपालमा हामीसँग यति नै भनेर अनुसन्धान गरेर निकालिएको ठोस तथ्याङ्क त छैन। तर करिब १ देखि २ प्रतिशतको हाराहारीमा दीर्घकालीन हेपाटाइटिस ‘ए’ र ‘ई’को संक्रमाण भएका बिरामीहरु छन्। यसको अर्थ करिब ६ लाख जनसंख्यामा हेपाटाइटिस ‘ए’ र ‘सी’को संक्रमण छ।

बर्सेनि हामी कहाँ विभिन्न सिजनमा हेपाटाइटिस ‘ए’ र ‘ई’को संक्रमण धेरै देखिन्छ भने कुनै वर्ष कम देखिन्छ। ‘ए’ र ‘ई’ आफै निको हुने भएकाले हामीसँग ठ्याक्कै यति भन्ने छैन।

‘बी’ र ‘सी’ को हकमा भने करिब ६ लाख जनसंख्या यसबाट संक्रमित रहेको अनुमान गरिएको छ।

हेपाटाइटिसकाे स‌ंक्रमण भएका बिरामीले‍ खाने कुरामा कसरी ध्यान दिने?

धेरै मानिसहरुलाई हेपाटाइटिस भएपछि जन्डिस देखिने गर्छ। धेरैको मानसिकता के हुन्छ भने जन्डिस भएपछि नुन, बेसार, तेल खानु हुँदैन भन्ने भ्रम छ। जुन सरासर गतल कुरा हो। यदी कोही व्यक्तिलाई हेपाटाइटिस भएर जन्डिस देखिएको छ भने स्वस्थकर खाना खानु पर्छ। जुन तागतिलो होस्, सफा होस्, इनर्जी, कार्बोहाइड्रेड प्रशस्त भएका खाने कुराहरु खानु पर्छ।

हाम्रो सोचाई के छ भने हाम्रो खानामै बन्देज तथा प्रतिबन्ध लगाउनु पर्छ। जसका कारण लिभर बिग्रेका बिरामीहरु धेरै आउने गरेको पाइन्छ। कतिपयकाे लिभरले काम नगर्ने भएर कुहिएरै जाने समेत गरेको पाइन्छ।

हामीले बुझ्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हेपाटाइटिसकाे एक्यूट फेजमा बिरामीले स्वस्थकर खाना खानु खायो र राम्रोसँग आराम गरेको खण्डमा यसलाई कुनै ठूलो रोग मान्नु पर्दैन।

केही वर्ष अगाडि सरकारले हेपाटाइटिसको निशुल्क उपचार गर्ने भनेको थियो, त्यसकाे प्रक्रिया कहाँ पुग्याे?

आज भन्दा साढे दुई वर्ष अगाडिको सरकारले हेपाटाइटिस ‘सी’को उपचारलाई निशुल्क गर्ने भनेर हामीले मन्त्री ज्यूको भनाई सुन्न पाएको थियौँ। वास्तवमा हेपाटाइटिसको उपचार गर्ने डाक्टरहरुले के भन्यौँ भने कोही मानिसलाई हेपाटाइटिस ‘बी’ र ‘सी’को दीर्घकालीन संक्रमण भयो भने पछि गएर लिभर क्यान्सर हुँदा त्यसको उपचारका लागि एक लाख रुपैयाँ सरकारले दिने गरेको छ। तर त्यो व्यक्तिलाई क्यान्सर लाग्नु भन्दा अगाडि नै एक लाख रुपैयाँ दियो भने उपचार गर्दा निर्मूल नै हुन्छ।

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा त्यो निर्णय भएको थियो। त्यस बारेमा नेपालमा अहिले हेपाटाइटिस पनि राष्ट्रिय तथा एड्स यौन रोग केन्द्रको संयोजकत्वमा गाइडलाइन बन्ने क्रममा छ। त्यसबारे निर्देशिका र कार्यविधि बन्दै छ। आशा गरौँ, यसले छिट्टै नै केही ठोस निर्णय लिएर हेपाटाइटिस ‘सी’ को उपचारलाई नि:शुल्क गर्नेतर्फ छिटो भन्दा छिटो अगाडि बढोस्।

सरकारले गरेकाे निर्णय लागु नहुँदा कस्तो समस्या भइरहेको छ?

यसमा धेरै जसो संक्रमित भाइबहिनीहरुलाई राज्यले निःशुल्क गरिदिन्छ भने किन आफ्नो खल्तीबाट खर्च गर्ने भन्ने छ।

यस्तो सोचाइ राख्दा तुरुन्तै उपचार गर्नु पर्ने केहीले आर्थिक स्थिति कमजोर छ भनेर केही समयपछि उपचार गरौँला भनेर बस्दा लिभर सिरोसिसदेखि लिभर कडा हुँदै जाने समस्या देखिएकाे छ।

त्यसकारण सरकारले यो विषयमा छिटो भन्दा छिटो ठोस निर्णय लिएर अगाडि बढ्न जरुरी छ।

साउन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्