अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुखले छोड्ने भए ट्रम्प प्रशासन

अमेरिकाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख डान कोट्सले पद छोड्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट बाहिरिने उनी पछिल्लो उच्च पदस्थ व्यक्ति हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गरेर कोट्स आउँदो अगस्टको मध्यदेखि पदमा नरहने उल्लेख गरेका छ । उनको ठाउँमा टेक्सासबाट कंग्रेसमा प्रतिनिधित्व गर्ने जोन र्‍याट्क्लिफलाई नियुक्त गर्ने पनि ट्रम्पले जनाएका छन् । र्‍याट्क्लिफको नेतृत्वमा देश महानता तर्फ उन्मुख हुने ट्रम्पले दाबी गरेका छन् ।

ट्रम्प र कोट्सबिच रुस र उत्तर कोरियासँगको सम्बन्धलाई लिएर मत विभाजित हुने गरेको थियो । गएको जनवरीमा राष्ट्रपति ट्रम्पले कोट्स निष्क्रिय रहेको र उनी सो पदका लागि अनुभवहिन रहेको उल्लेख गरेका थिए । इरानका तर्फबाट बढ्दै गएको खतरा आँकलन गर्न नसकेको आरोप ट्रम्पको थियो ।

एक वर्षअघि राष्ट्रपति ट्रम्पले फिनल्याण्डमा हुने एक सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै छन् भन्ने सुन्दा कोट्स हाँसेका थिए । त्यो बेला कोट्सले हाँस्य भावमा भनेका थिए, ‘साँच्चिकै सो भेट विशेष हुनेछ ।’ उनले सार्वजनिक रुपमा गरिएको सो व्यवहारप्रति माफी मागेका थिए ।

कोट्स सन् २०१७ को मार्चदेखि राष्ट्रिय गुप्तचर निकायको प्रमुखका रुपमा रहेका छन् ।

साउन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्