‘पठाओ दाइ’ को पैसा फिर्ता गर्छु भन्ने त्यो म्यासेज

साँझ साढे सात बजे सेभ नभएको मोबाइल नम्बरबाट म्यासेज आयो, ‘सरी है, जस्ट फर इन्फरमेसन मैले म्यासेज गरेको, तपाईँको चार्ज त ४५ रैछ, सो पैसा फिर्ता गर्नलाई तपाईँलाई पिक गरेको ठाउँमा आउँदा हुन्छ?’ रफ म्यासेज, अंग्रेजी–नेपाली मिसिएको, वाक्य नमिलेको।

मोबाइलको ‘फ्लाइट मोड’ अफ गर्ने बित्तिकै आएको म्यासेजले म झसंग भएँ, फोनको कल लग हेरेँ, दुई घण्टा अगाडि मलाई ड्रप गर्ने ‘पठाओको राइडर’ को नम्बर रहेछ। बाटो देखाउने निहुँमा हाम्रो कुराकानी भएको थियो। मलाई कस्तो कस्तो लाग्यो। रिप्लाइ गरिन, फटाफट घर हिँडेँ।

विज्ञापन

बाटोमा जाँदा म घोत्लिन थालेँ, ‘जाबो ५५ रुपैयाँ पनि कसैले फिर्ता गर्छ? फिर्ता गर्ने निहुँमा यसले मलाई भेट्न खोजेको होला। जुक्ति पनि कस्तो लगाएको?’

मैले उसको आकृति सम्झन थाले, रनक्क रिस उठ्यो। घरमा टुटल प्रयोग गर्दा विचार पुर्‍याउनू भनेको पनि सम्झेँ। कोही कोही मान्छेको टाँसिइरहने बानी अनि घरिघरि फोन गरेर दुःख दिएको सम्झेँ। र सोचेँ, ‘अब दोहोर्‍याएर म्यासेज गर्‍यो भने पुलिसमा कम्प्लेन गर्छु।’

उनी मंगोलियन अनुहारका थिए, मेरो अनुहार पनि मंगोलियन नै छ। धेरैपल्ट मंगोलियन ‘दाइ’ हरुको अनावश्यक प्रश्नमा परेकी छु। केही मंगोलियन दाइ सारै राम्रा पनि छन्। खैर यो कुरामा अहिले नजाउँ!

तर, त्यो मान्छेले मलाई किन पैसा फिर्ता गर्छ? मोबाइल दुईपल्ट हराउँदा मैले फिर्ता पाएको छैन, कतिपल्ट मेरो पर्सबाट मान्छेले पैसा चोरेका छन्। कस्ता मान्छे, पैसा चोर्दै छन् भन्यो भने धेरैले भन्थे, ‘पैसा भनेपछि महादेवको तेस्रो नेत्र त खुल्छ रे, मान्छे न परियो।’

स्नातक पढ्दा मेरो साथी लक्ष्मीले पर्सबाट पैसा चोरी भएको किस्सा सुनाएकी थिइन्। ‘मेरो पर्सबाट तीनपल्ट पैसा चोरी भयो। एकपल्ट मैले ‘यो चोरले मलाई घर जाने पैसा छोडेर अरु लगेको भए पनि हुने नि भनेको थिएँ, त्यसपछि त ब्यागमा २५ रुपैयाँ छोडेर चोरेको रहेछ।’ यसपछि हामी बेस्सरी हाँसेका थियौँ।

अरुको पोल्टामा भएको पैसा त चोर्ने मान्छे छन्, आफ्नै गोजीमा आइसकेको पैसा पनि कसैले फिर्ता गर्छ? ‘एमाउन्ट’ जति भए पनि पैसा त पैसा हो।

एक आन्टीलाई धारामा पैसा पखाल्दै गर्दा मैले भेटेको थिएँ, ५० रुपैयाँको नोट हिलोमा लतपतिएको रहेछ।

‘ओहो पैसामा सारै हिलो रैछ।’

आन्टीको जवाफ, ‘पैसा त आचीमा परेको भए पनि टिप्नुपर्छ।’

यस्ता कुरा हुन्छन्, कहिँ नपाएर मेरो ५५ रुपैयाँ फिर्ता गर्नलाई उसले मलाई सम्झेला त?

असार ८ गतेको कुरा हो, म एकदमै हतारमा थिएँ। ‘आज त चाँडै गर्छु’ भनेको दिन जानी जानी ‘ढिला गर्छु’ भनेको जस्तो हुन्छ। धन्न साथीलाई कुराएको थिइन, नत्र मैले कचकच पनि सुन्नुपर्थ्यो।

मलाई साढे पाँच बजे अनामनगरको मण्डला थिएटर पुग्नु थियो। सानेपास्थित अफिसमै पाँच बजिसकेछ। अब म टेम्पो चढेर टेकु पुग्ने, टेकुबाट बस चढेर माइतीघर मण्डला अनि सिंहदरबार क्षेत्रलाई देब्रे पार्दै सिंहदरबारको पूर्वी गेटसम्म हिँड्दै पुग्नलाई एकदमै छिटो पुगे पनि ४५ मिनेट त लाग्छ लाग्छ। मसँग त्यति समय थिएन।

अब मैले छिटो हुने विकल्प अपनाउनुपर्‍यो। कहिँ नरोकिने सवारी साधनमा गए भने मैले भ्याउथेँ।

अफिसकै कोही साथीलाई बाइकमा पुर्‍याइदेऊ भनौँ भने साँझपख अलि चटारो हुन्छ। भिडियो न्यूज, अरु कामहरु-  साथीहरुको काम बिगारेर जाऊँ भन्न मनले मानेन, भनेको भए पनि मान्थे भन्ने पक्का नभएपछि यो विकल्पतिर गइनँ म।

हिजोआज आफ्नो सवारी साधन नहुनेलाई केही सजिलो छ, ‘पठाओ, टुटल’ बुक गर्‍यो, तोकिएको पैसा तिर्‍यो, सक्कियो। गल्ली गल्ली पनि छिर्ने, ट्याक्सी भन्दा छिटो पनि पुगिन्छ।

नजाउँ?

यो त झन् भएन। त्यो दिन नाटक ‘क्लेशा’ को अन्तिम शो थियो। नाट्यकर्मी प्रतीक्षा कट्टेलले लेखेको यो नाटक जेठ १७ गतेदेखि मञ्चन सुरु भएको थियो। जान्छु भन्दाभन्दै अन्तिम शो हुने दिन आइसकेछ। साँच्चै फसाद पर्‍यो।

तर जहाँ इच्छा त्यहा उपाय- ‘पठाओ’।

हिजोआज आफ्नो सवारी साधन नहुनेलाई केही सजिलो छ, ‘पठाओ, टुटल’ बुक गर्‍यो, तोकिएको पैसा तिर्‍यो, सक्कियो। गल्ली गल्ली पनि छिर्ने, ट्याक्सी भन्दा छिटो पनि पुगिन्छ।

मैले धेरै प्रयोग गर्ने एप हो ‘पठाओ’ जाने ठाउँ ट्रर्‍याक गर्न सजिलो हुन्छ। टुटल घर फर्कने बेलामा मात्र प्रयोग गर्छु।

घर पुगेपछि बहिनीलाई कुरा सुनाएँ, उसको विचार मेरोभन्दा फरक थिएन। अझ उसले त मलाई केही समय अगाडि मिडियामा आएको समाचार पनि सम्झाई, ‘टुटल राइडले राइड सक्किएपछि पनि फेरि म्यासेज गरेको।’

हामीले लामै छलफल गर्‍यौँ, कुरा यत्तिकै टुङ्गिने भएन, बहिनीले नै फेरि हराएको सामान भेटिएको किस्सा सम्झिइन्।

मैले दोहोर्‍याएर म्यासेज हेरेँ, सामान्य थियो, चिप्लो घस्ने शब्द लेखिएको थिएन। मैले अहिलेसम्म एकदमै कम म्यासेजलाई इग्नोर गरेको छु, नत्र जे भनेर भए पनि म्यासेज फर्काउने बानी छ।

यति भनेपछि मैले त्यो राइडको समयमा के के भयो, सम्झेँ–पठाओमा बुक गर्दा ९० रुपैयाँ देखाएको थियो। अफिस सानेपा चोकबाट टेकु जाने बाटोमा ओरालो सक्किने बित्तिकै आउँछ, उसको लोकेसन सानेपा चोक देखायो। म दंग परेँ, ऊ चाँडै आउँछ, म चाँडै पुग्छु।

नभन्दै बुक गरेको ४ मिनेटमै ऊ आइपुग्यो। लोकेशनको लागि दोहोरो फोन संवाद भएन। उसको टाउकोमा हाफ हेल्मेट थियो । डिओ स्कुटर। दुईवटा लुकिङ ग्लासको डन्डीमा वारपार हुने गरी बुद्धको सन्देश लेखिएको ध्वजा टाँगिएको थियो। जिन्सको ज्याकेट अनि जिन्सकै पाइन्ट लगाएको ऊ त्यति बोलक्कड थिएन। ‘कहाँ जाने, बाटो भन्नुहोला है मलाई थाहा हुन्न।’

सिधा अनि छोटो कुरापछि मैले स्कुटरमा चढ्दै भनेँ,  ‘माइती घर मण्डला हुँदै जाने हो।’

त्यसपछि ऊ चुईँक्क बोलेन। मलाई भने खसखस भयो, ‘मेरो अफिसको लोकेशनको लागि कम्तिमा तीनपल्ट फोनमा कुरा गर्नुपर्छ। उसलाई यो कुरा भन्नु परेन तर धेरैजसोलाई थाहा हुने सिंहदरबार पूर्वी गेट जाने बाटो उसलाई कसरी थाहा भएन ?’

मैले कुराको मेलो निकाले, ‘तपाईँले मेरो लोकेशन एकैपल्टमा थाहा पाउनुभयो त ?’

‘म सानेपा चोकमै बस्छु।’

‘काठमाडौँ भर्खरै आउनुभएको हो ?’

‘स्कूल पढ्दादेखि नै यही हो।’

‘ओहो, सिंहदरबार पूर्वी गेट त धेरैलाई थाहा हुन्छ, तपाईँलाई यो बाटो हिँड्नु परेको छैन जस्तो छ, झन् पठाओ राइडरलाई त चोक चोक थाहा हुन्छ।’

‘म त मोबाइल पसलमा काम गर्थेँ, न्यूरोडमा। त्यति बाहिर हिँड्दिन। अब चाँही यो काम पनि ट्राइ गरौँ भनेर।’

‘ए, नो प्रब्लम। बाटो म भन्छु नि।’

त्यसपछि मैले त्यो बाटोमा पर्ने केही अरु ठाउँहरु पनि भने, सिंहदरबार पस्ने गेट, हनुमान थानबाट अगाडि जाने बाटोबाट पुगिने पुरानो बानेश्वरका केही ठाउँहरु।’

हामी पूर्वी गेट पुग्यौँ, उसले स्कुटर मोडेर मण्डलाको पार्किङ गेटमा रोक्यो। मैले उसलाई १०० रुपैयाँको नोट दिँदै भने, ‘मलाई पैसा फिर्ता चाँहिदैन, तपाईँको फस्ट राइड रहेछ, तपाईँलाई बेस्ट अफ लक।’

उ मुसुक्क मुस्काएर ‘थ्याङ्कयू’ भन्यो। म थिएटर हिँडेँ।

मैले धेरै कम उमेरका भाइहरुलाई टुटल राइडरका रुपमा भेटेको छु। उनीहरु कलेजपछिको खाली समय पकेट मनिको लागि राइड गरेको भन्थे। मैले मेरा भाइहरु र अरु साथीहरुलाई पनि घरमा पैसा मागेको देखेको छु, उनीहरुको उमेर टुटलका भाइहरुको भन्दा ठूलो छ। म आफैँ पनि स्नातक सकेर मात्र काम गर्न थालेकी हुँ, ‘प्लस टु पढ्दा’ को परीक्षा तयारी गर्दै गरेका कमाउने भाइहरुलाई देखेर म दंग परेकी थिएँ, किनभने घरमा पैसा मागेर कुनै कफी सपमा गफ गरिरहन छोडेर, घुम्न छोडेर, फिल्म हेर्न छोडेर उनीहरु आत्मनिर्भर हुने बाटो खोज्दै थिए।

मैले ‘म यति बेला यो ठाउँमा आउँछु’ भन्ने खालका केही सन्देश नजाने गरी म्यासेज फिर्ता गरेँ, किनकी मलाई उसलाई भेट्नु थिएन। यतिबेला रातिको ९ बजेर ४७ मिनेट गइसकेको थियो।

मलाई उसको मनसाय पनि बुझ्न मन लाग्यो।

‘अचम्म भयो त! यस्तो कसरी भयो मलाई थाहा छैन, तपाईँ मलाई भन्नुहुन्छ?’

रिप्लाई आयो, ‘आई अल्सो डन्ट नो, सायद मेरो पहिलो ट्रिप अनि तपाईँ पहिलो ग्राहक भएकोले होला।’

मैले बल्ल पो बुझेँ- पैसा किन ४५ रुपैयाँ मात्र उठ्यो। ‘पठाओ’ पहिलोपल्ट चढ्ने ग्राहकलाई ४५ रुपैयाँ मात्र तिर्नु पर्छ भन्ने थाहा थियो। तर राइडरको पहिलो ग्राहकलाई पनि यो सुविधा छ भन्ने बल्ल थाहा भयो।

‘ओके, द्याट्स ग्रेट।’

‘सो, ह्वेन क्यान आई गिभ इट टू यू ?’

मैले फेरि म्यासेज फिर्ता गरिन। मलाई के भन्ने भयो।

एकछिनमा मैले ‘सम्भव भए, ५० रुपैयाँको रिचार्ज कार्ड पठाउन सकिन्छ?’ भनेँ। उसले ओके भन्यो। त्यसको एक मिनेट नपुग्दै मोबाइलमा ५० रुपैयाँ रिचार्ज भएको म्यासेज आयो, मैलै ‘थ्याङ्यू’ भनेर म्यासेज टाइप गर्दै थिएँ, उतैबाट म्यासेज आयो, ‘आयो ?’

दंग परेँ र ‘थ्याङ्यू’ को अगाडि ‘आयो’ लेखेर पठाएँ,

बहिनीलाई पनि भनेँ, ‘राम्रो मान्छे रहेछ, भनी।’

म भने छ्याङ्ग भएँ। निन्द्रा भाग्यो।

मोबाइल फेरि घ्वाँ गरेर करायो, उताबाट म्यासेज आएको रहेछ, ‘यू आर वेलकम।’

साउन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्