एनआरएनए अध्‍यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्‍यक्षमा बेलायत निवासी व्‍यावसायी कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन्। संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका आचार्यले संघको नवौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको देश सञ्‍चारलाई बताए।

उनले भने, ‘म एनआरएनए युकेको साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेँ। त्‍यसपछि एनआरएन युकेको कार्यसमितिको सदस्य, उपाध्यक्ष हुँदै कार्यसमितिमा हुँदै अध्यक्षको जिम्मेबारी समेत निर्वाह गरेँ। त्‍यसपछि अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै आठौ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष पदमा विजयी भएँ। अब केन्द्रीय अध्यक्षमा उम्‍मेदवारी दिने निर्णयमा पुगेको छु।’

उनले गैर आवासीय नेपालीहरुको समस्‍यालाई मध्यनजर गर्दै उनीहरुको लागि कार्ययोजना ल्‍याउने आफ्नो तयारी रहेको बताए। उनले अबको आफ्नो उम्‍मेदवारी नेपालीहरुको समस्यालाई समाधान गर्न र कुनै स्वार्थमा नलाग्‍न भएको जिकिरसमेत गरेका छन्।

उनले अब आउने चुनावमा कुनै पनि परिवार, नातावाद, कृपावाद, लोभबाट ग्रसित हुन नहुने र नेतृत्व तन्दुरुस्त हुनुपर्ने बताए।

साउन १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्