
नेपालगञ्ज – इलाका प्रहरी कार्यालय, धनौली बाँकेबाट भागेका सिमन बिक पनि पक्राउ परेका छन्। प्रहरी कार्यालयबाट असार २८ गते तीन जना थुनुवा भागेकोमा दुई जना साउन ५ गते पक्राउ परिसकेका छन् ।
लागु औषधी मुद्दाका थुनुवा विक, सार्वजनिक मुद्दाका निर्मल थापा र उज्वल कार्की असार २८ गते राती साढे ११ बजे शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका थिए ।
थापा र कार्की साउन ५ गते पक्राउ परेपनि विक फरार थिए । उनी भारत भागिसकेका थिए । प्रहरीले उनलाई भारतबाट पक्राउ गरेको ल्याएको स्रोतले बतायो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले भारततिर भाग्दै गर्दा नाकाबाट विकलाई पक्राउ गरिएको बताए ।
‘भारततिर भाग्दै थिए, हामीले समातेर ल्याएको छौं, प्रवक्ता सापकोटाले भने, भागेका जति सबै पक्राउ परेकाले एउटा तनावबाट मुक्त भयौँ ।’
असार २८ गते राती साढे ११ बजे पानी परेको बेला शौचालयको भेन्टिलेटर तोडेर तीन जना भागेपछि डिउटी बसेका एकजना प्रहरी जवानलाई निलम्बन गरिएको थियो ।
डिएसपी सापकोटाको संयोजकत्वमा छानबिन टोली बनाइएको थियो । टोलीले डिउटीमा बसेका प्रहरी र कमजोर भौतिक संरचनालाई दोष देखाएको थियो । ‘भागेका तिनै जना पक्राउ परेकाले निलम्बनमा परेका प्रहरीको जागीर बच्ने भयो, आन्तरिक कारबाही त भइहाल्छ,’ छानबिन समितिका संयोजक डिएसपी सापकोटाले भने ।
लागु औषध र सार्वजनिक मुद्दामा प्रहरी हिरासतमा पुगेका तीन जनालाई थप सजाय हुने भएको छ । हिरासतबाट भागेकाले उनीहरुलाई थप सजाय हुने डिएसपी सापकोटाले जानकारी दिए ।