मेडिकल रिपोर्टले आत्महत्या भन्दा पनि किन लागिरहन्छ हत्याको आरोप?

सांकेतिक तस्बिर

काठमाडौँ- कञ्‍चनपुरको भीमदत्त नगरपालिकामा शनिबार १६ वर्षीय सुरज लेखकले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरे। सुसाइड नोट लेखेकाले सुरजले आत्महत्या नै गरेको हो भनेर ठम्याउन प्रहरीलाई गाह्रो भएन।

तर मृतकका आफन्त यो मान्न तयार थिएनन्। सुरजले मानसिक यातनाका कारण आत्महत्या गरेको भन्दै उनी पढ्ने लिटिल बुद्ध एकेडेमीका प्लस टु कोअर्डिनेटर हरिलाल जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए, आत्महत्या दुरुत्साहन कसुरमा।

सुसाइड नोटमा ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्टर्ब गर्‍यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै ……’  उल्लेख थियो। अघिल्लो दिन कलेजमा चुरोट खाएको विषयमा जोशीले सुरजसहित तीन जना विधार्थीलाई स्टाफ रुममा बोलाएर कुरा गरेको जनाइएको छ।

असारको पहिलो साता बौद्धस्थित समता अस्पतालभित्र बिमला तामाङ झुन्डिएको अवस्थामा मृत फेला परिन्। बिमलाले समता अस्पतालमा काम गर्न थालेको दुई महिना पनि पुरा भएको थिएन्। मृतकका आफन्तले अस्पताल व्यवस्थापनविरुद्ध नारा जुलुस गरे। तामाङको मृत्यु शंकास्पद रहेको भन्दै हत्या हुन सक्ने दावीसहित अस्पतालका सन्चालक उत्तम सन्जेल र उनकी पत्नीसहितलाई पक्राउ गर्न माग गरे।

प्रहरीले तत्काल आत्महत्या दुरुत्साहन कसुरमा सन्जेल पत्निसहितलाई म्याद थपेर अनुसन्धान सुरु गर्‍यो। सुसाइड नोटमा ‘सर र म्याडम भनेर सम्बोधन’ गरिएकाले उनिहरुकै कारण बिमलाले मृत्युको बाटो रोजेको हुन सक्ने प्रहरीको दावी थियो। मेडिकल रिपोर्टले भन्यो- बिमलाको मृत्यु झुन्डिएर भएको हो। अदालतले पक्राउ परेका सबैलाई धरौटीमा छाड्ने आदेश दियो।

गत साउन १ गते बालाजुस्थित प्रेमीको कोठामा बर्थ डे मनाउन गएकी १६ वर्षीय जेनी तामाङ सोही घरको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परिन्। कोठामा प्रेमी अर्कै युवतीसँग बसिरहेको देखेपछि आक्रोसित जेनीले केहीबेरपछि नजिकैको शौचालयमा गएर पासो लागेकी थिइन्।

मेडिकल रिपोर्टमा जेनीको मृत्यु झुन्डिएर भएको पाइएको छ। प्रहरीले भीमलाई पक्राउ गरि आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले कर्तव्य ज्यानको पनि पुरक निवेदन दिएका छन्।

गत भदौदेखि लागु भएको मुलुक फौजदारी अपराध संहिताले आत्महत्या गर्न प्रेरित गर्नेलाई आत्महत्या दुरुत्साहन कसुरमा सजायको व्यवस्था  गरेको छ। यो एन लागु भएयता १० महिनामा देशभर आत्महत्या दुरुत्साहनका ५४ वटा मुद्धा दर्ता भएका छन्।

यो अवधीमा देशभर आत्महत्या गर्नेको संख्या पाँच हजार एक सय ५५ रहेको छ। झुन्डिएर ३ हजार ८ सय ६३ र विष खाएर एक हजार एक सय ८२ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काठमाडौं जिल्लामा मात्र आत्महत्या दुरुत्साहन सम्बन्धी ९ वटा मुद्धा र आत्महत्याका तीन सय ५१ घटना भएका छन्।

पूर्व डीआईजी हेमन्त मल्ल एनको मर्मअनुसार आत्महत्या दुरुत्साहन कसुरको कार्यान्वयन भइनरहेको बताउँछन्। ‘आत्महत्या गर्न प्रेरित गरेको केलाई मान्ने ? आत्महत्या आफैमा अपराध हो। कसैले गाली गरेको भरमा आवेगमा आएर आत्महत्या गर्‍यो भने आत्महत्या दुरुत्साहन कसुर लगाउने की नलगाउने ? पक्कै पनि कानुनको परिकल्पना यस्तो परिस्थितीलाई सोचेर गरिएको होइन’, लामो समय अपराध अनुसन्धानमा बिताएका मल्ल भन्छन्।

यसमा प्रहरीले भिडको दबाबभन्दा पनि ब्यापक अनुसन्धान गरेर मात्र निर्णय गर्नुपर्ने मल्लको भनाई छ। ‘मलाई लाग्छ प्रेरित हुन उसले दिएको यातना एक्स्ट्रिम हुनैपर्छ न की कसैले सुसाइड नोटमा नाम लेखिदिएकै भरमा मुद्धा चलाइ हाल्ने’, उनी भन्छन्।

 

 

साउन १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्