भारतमा तीन तलाक अबदेखि अपराध, पारित भयो विधेयक

भारतको राज्यसभाले पनि तीन तलाक विधेयक पारित गरेको छ । यसअभि यो विधेयक लोकसभाले पारित गरेको थियो । दुवै सदनले पारित गरेपछि अब चाँडै नै यो कानूनमा परिणत हुनेछ। राष्ट्रपतिले अनुमोदन गरेपछि यो विधेयकले कानूनको रुप पाउनेछ ।

यो कानूनले तीन तलाकलाई अस्वीकार गर्दै अपराध घोषित गर्नेछ । मुस्लिम महिला (विवाह अधिकार संरक्षण) विधेयक २०१९ को प्रावधान अनुसार एक पटकमै तीन तलाकमार्फत सम्बन्ध बिच्छेद गर्नु अपराध हो । यसका लागि तीन वर्षको जेल सजाय तथा जरिवानाको व्यवस्था गरिएको छ ।

सन् २०१७ मै सर्वोच्च अदालतले तीन तलाकको प्रक्रिया गैरसंवैधानिक रहेको बताएको थियो।

विधेयकका समर्थकले नयाँ कानूनले मुस्लिम महिलाको संरक्षण गर्ने बताएका छन् । तर यसको विरोध गर्नेहरुले यसको गलत प्रयोग हुन सक्ने बताएका छन् ।

विपक्षी कांग्रेसले यो विधेयकको विरोध गरेको थियो । राज्यसभामा विधेयकको पक्षमा ९९ र विरोधमा ८४ मत परेको थियो । टिआरसी, जेडिडू र एआईएडिएमले वाकआउट गरेकाले राज्यसभाबाट विधेयक पारित गर्न भाजपा सरकार सफल भयो ।

राज्यसभामा सदस्य संख्या २४१ थियो, तर केही पार्टीको वाकआउटका कारण यसको संख्या २१३ मा झरेको थियो ।

मंगलबार राज्यसभामा विधेयकमाथि मतदान हुनुपूर्व लामो छलफल भएको थियो ।

साउन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्