राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेथिति

चोर बाटोबाट स्वीकृत गरेको नियमावलीमा टेकेर कर्मचारी भर्नामा मनाेमानी

दाङ– दाङको घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल लामो प्रयासपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भयो। तर प्रतिष्ठान शुरुदेखि नै विवादको भुमरीमा फसेको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान बिरामीको उपचारभन्दा पनि कर्मचारी भर्ना गर्ने थलो बन्न थालेको छ। २०७४ माघ २२ गते बसेको प्रतिष्ठानकाे पहिलो सिनेट बैठकमा ‘शिक्षक तथा कर्मचारी सेवाको शर्त तथा सुविधा सम्बन्धी नियमावली–२०७४’ प्रस्तुत गरिएको थियो।

उक्त नियमावली सुझावसहित परिमार्जन गर्न स्वास्थ्य सचिवको अध्यक्षतामा पाँच सदस्यीय टोली गठन भएको थियो। तर, सुझाव अनुसार नियमावली परिमार्जन गरिएन।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीले तत्कालिन स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति दिपक बोहोराबाट नियमावलीमा सुझाव विना नै एकलौटी रुपमा स्वीकृत गराएको पाइएको छ।

प्रतिष्ठानकाे सिनेट बैठक।

यतिवेला एकलौटी रुपमा स्वीकृत गराइएको शिक्षक तथा कर्मचारी सेवाको शर्त तथा सुविधा सम्बन्धी नियमावली २०७४ मा टेकेर डिन, प्रवन्धक लगायत अन्य कर्मचारी नियुक्त गरिएकाे छ।

उपकुलपति भण्डारीमाथि सुझाव अनुसार नियमावली परिमार्जन नगरी ‘नक्कली’ नियमावलीको आधारमा कर्मचारी भर्ना गरिएको आरोप लागेको छ।

नियमावली विना नै कर्मचारी भर्ना प्रक्रिया थालिएपछि यसबारे अध्ययन गर्न मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीको संयोजकत्वमा नीति योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ र चिकित्सा सेवा महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंह सदस्य रहेको समिति गठन गरेको थियो।

समितिले सभाले गठन गरेको समितिको सुझाव विना नै सहकुलपतिले नियमावली स्वीकृत गरी सोही अनुसार कर्मचारी भर्ना प्रक्रिया थालेकाले नियमसंगत नदेखिएको प्रतिवेदन बुझाएको थियो।

छानबिन समितिको प्रतिवेदनकै आधारमा मन्त्रालयले गत वर्ष वैशाख २४ मा पत्र लेखेर प्रतिष्ठानलाई कर्मचारी भर्ना तत्कालका लागि रोक्न निर्देशन दियो। तर कर्मचारी भर्ना रोकिएन।

सभा र मन्त्रालयको निर्देशनलाई बेवास्ता गर्दै कर्मचारी भर्ना थालिएपछि मन्त्रालयले असोज १९ मा स्पष्टीकरण मागेको थियो।

प्रतिष्ठानमा विधिअनुसार काम नभएको गुनासो आएपछि गत माघ २३ मा संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान हुने गरी स्थलगत अध्ययन गर्न उपसमिति गठन गर्‍याे।

प्रतिष्ठानमा यतिवेला सुझाव नसेमेटर स्वीकृत भएको नियमावलीको आधारमा धमधाम कर्मचारी भर्ना गरिएको छ। केही समयअघि मात्रै स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. वसन्त लामीछाने र निर्देशक डा. सागर क्षेत्रीलाई नियुक्त गरिएको छ।

यसअघिका डिन डाक्टर रितु बरालले प्रतिष्ठानमा काम गर्ने वातावरण नभएको भन्दै सो पदबाट राजिनामा दिएकी थिइन्। अहिले नियुक्त गरिएका डिन र निर्देशक नियमसंगत नभएको दावी छ।

सुझावलाई लत्याउँदै,  अघि बढ्दै 


केही दिन अघी काठमाण्डौंमा सम्पन्न सिनेट बैठकमा शिक्षाध्यक्ष विश्वनाथ यादवले उपकुलपतीले एकलौटी रुपमा प्रतिष्ठान चलाउन खोजेको, प्रतिष्ठानमा आर्थिक पारदर्शीता नभएको, नियमसंगत रुपमा अघी बढ्न नसकेको लगायत दश बुँदामा आफ्ना असहमति राखे। प्रतिष्ठान बनेपछि उपचार सेवा खस्किएको, सामाजिक सुरक्षा सेवा वन्द भएको, पोषण पुनःस्थापनाको काम बन्द भएको लगायतका आरोप छन्।

यसअघिका शिक्षाध्यक्ष रतिन्द्रनाथ श्रेष्ठले पनि उपकुलपतीले मनोमानी रुपमा प्रतिष्ठान चलाउन खोजेको भन्दै प्रधानमन्त्री एवं कुलपतीको कार्यालयमा लिखित निवेदन दिएका थिए। तर त्यसको सुनुवाई भएन।

प्रतिष्ठानको कामप्रति एकपछि अर्काे छानविन भैरहेको छ। तर छानविन समितिले दिएको प्रतिवेदन र सुझाव कुनैपनि कार्यान्वयन हुन सकेको छैन्।

आन्दोलनको अखडा बन्दै प्रतिष्ठान


राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत कर्मचारीलाई प्रतिष्ठान बनेपछी बर्खास्त गरिएपछि उपचार सेवा ठप्प हुनेगरी कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलित बने।

अस्पतालमा कार्यरत कर्मचारी प्रतिष्ठान मातहतमा लगिनुपर्ने सर्त समेत थियो। आन्दोलन पश्चात साविक राप्ती उपक्षेत्रिय अस्पताल प्रतिष्ठानमा हस्तान्तरण भएपछि स्वास्थ्य मन्त्रालयले अर्को व्यवस्था नभएसम्म काम गर्न निर्देशन दिएपछि सात महिनादेखि तलव पाउन नसकेका कर्मचारीले तलव पाएका थिए।

प्रतिष्ठानमा ५३ स्थायी र २४ करार कर्मचारी प्रतिष्ठानमा कार्यरत छन्। यता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति भण्डारीले भने  प्रतिष्ठान प्रकृयागत रुपमा अघि बढेको दावी गर्दै आएकी छन्।

साउन १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्