डेमोक्र्याटिक बहस

बाइडेन अधिकांशको निशानामा, ह्यारिस तुलनात्मक रुपमा कमजोर

अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टी तर्फबाट उम्मेदवार बन्ने होडमा रहेका प्रत्यासीहरुको दोस्रो टेलिभिजन बहसको दोस्रो दिन १० नेताले विभिन्न विषयमा आफ्नो विचार प्रस्तुत गरेका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनमा नेपाली समय अनुसार बिहीबार बिहान भएको दोस्रो चरणको पहिलो बहसमा सहभागी १० नेताबिच स्वास्थ्य सुविधा, डिपोर्टेसन, क्रिमिनल जस्टिस तथा आप्रवासनसहितका विषयमा बहस भएको हो ।

दोस्रो चरणको दोस्रो बहसमा उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनसहित १० नेता सहभागी भएका हुन् । बाइडेनसँगै कमला ह्यारिस, क्रिष्टियन गिलिब्राण्ड, बिल डी ब्लासिओ, एन्ड्रयु याङ्ग, जुलिएन कास्ट्रो, कोरी बुकर, माइकल बेनेट, जे इनस्ली र तुल्सी गाबार्ड दोस्रो दिनको बहसमा सहभागी भए ।

यसअघि नेपाली समय अनुसार बुधबार बिहान भएको दोस्रो चरणको पहिलो बहसमा एलिजाबेथ वारेन, बर्नी सान्डर्स, पिट बुटजज, बेटो ओ’रोउक, एमी क्लुबुचर, तिम रायन, जोन डेलानी, स्टिभ बुलक, जोन हिकेनलूपर र मारिएनी विलियम्सन सहभागी भएका थिए ।

बिहीबार बिहान भएको बहसमा अधिकांश प्रत्यासीले पूर्व उपराष्ट्रपति तथा उम्मेदवार बन्ने होडमा सबैभन्दा अघि रहेका जो बाइडेनमाथि आक्रमक देखिए । त्यसमा बाइडेनले राम्रो जवाफ दिएका छन् । पहिलो चरणको बहसमा बाइडेनमाथि आक्रमण आक्रमण रुपमा प्रस्तुत भएकी कमला ह्यारिसमाथि पनि आक्रमण भयो । उनी दोस्रो चरणको बहसमा पहिलो चरणमा जस्तो प्रभावशाली देखिइनन् ।

कोरी बुकरले बाइडेनको क्रिमिनल जस्टिस सम्बन्धी प्रस्ताव अपर्याप्त रहेको बताए । बाइडेनको स्वास्थ्य सेवा तथा आप्रबासन सम्बन्धी योजनामाथि पनि अरु प्रत्यासीले आक्रमण गरे । तर बाइडेनले त्यसको जवाफ दिए ।

बाइडेनले लिंगका आधारमा पारिश्रमिकमा हुँदै आएको विभेद अन्त्य गर्ने तथा गर्भपतनलाई कानूनी मान्यता दिने बताए ।

यो बहसमा कोरी बुकरले राम्रो गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । बाइडेनले २१ मिनेट तथा ह्यारिसले १७ मिनेट केही सेकेण्ड समय पाएको देखिएको छ । त्यसपछि कोरी बुकर रहे, उनले १३ मिनेट भन्दा बढी समय बोलेका छन।

दोस्रो चरणको बहसको पूर्व सन्ध्यामा आएको सर्वेक्षणमा जो बाइडेन सबैभन्दा अघि रहेका थिए।

साउन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्