भलिबल खेलाडी रेश्मा भण्डारीसँग गफगाफ

टिकटक पनि बनाउँछु, ‘सट’ पनि हान्छु

तस्बिरहरु: रविन आचार्य

असार ११ गते पल्सर स्पोर्टस अवार्डमा विभिन्न विधामा मनोनयन सार्वजनिक भयो। १० विधामा विभिन्न खेलाडीको नाम सार्वजनिक हुँदा रेश्मा भण्डारी असाध्यै खुसी भइन्। भलिबलको ‘सट’ हान्न उफ्रिए झैँ उफ्रिउँजस्तो लाग्यो, किनभने मनोनयनमा

क्रिकेटबाट – सन्दिप लामिछाने
फुटबलबाट – सावित्रा लामिछाने
ब्याडमिन्टनबाट – प्रिन्स दाहाल

शारीरिक सुगठनबाट – महेश्वर महर्जन सँगै भलिबलबाट – ‘रेश्मा भण्डारी’ को नाम आयो।

जति खुसी १३ वर्षमा उनले आफ्नो खेल जीवनमा बटुलेकी थिइन्, एउटा ‘अनाउन्समेन्ट’ ले त्यसलाई कयौँ गुना बढाइदियो। ‘मेरो लागि सबैभन्दा ठूलो कुरा उहाँहरुसँग मेरो नाम आउनु थियो, जित्नु नजित्नु त पछिको कुरा हो ।’

१६ औँ पल्सर स्पोर्टस अवार्डमा नाम आएपछि रेश्माले आमासँग खुसी साटिन्। ‘किनकी मेरो सफलतामा सबैभन्दा धेरै खुसी हुने ममी नै हो।’ खेल जीवनको सुरुमा आमालाई रेश्माको काम पट्क्कै मन परेको थिएन, आमाले रेश्मालाई बाटो मोड्न धेरै भनेकी थिइन्।

तर नजानिँदो तरिकाले सुरु भएको भलिबलको अध्याय अझै लामो हुँदै गयो। यसैले उनलाई फरक पहिचान दिलायो। यो सबै संयोगले भएको थियो।

रेश्माले प्राथमिक विद्यालय पढेको स्कूल बन्द भयो। अनि उनी न्यू डायमण्ड स्कूलमा कक्षा ६ मा भर्ना भइन्। कुमार सर विद्यालयका प्रिन्सिपल थिए। साथै खेल प्रशिक्षक पनि। उनी विद्यार्थीलाई खेलकुदमा पनि अग्रसर पनि गराउथेँ।

भिडियो हेर्नुहोस्:

उनी पाँच फिट ७ इन्च अग्ली छिन्, नयाँ स्कूलमा भर्ना हुँदा कक्षामा सबैभन्दा अग्ली भइन्। त्यसैले कुमार सरको नजरमा उनी ठोक्किइन्।

‘त्यो बेलामा भलिबल खेल्ने केटी कोही थिएनन्, मलाई सरले एक्लै सिकाउन थाल्नुभयो।’ रेश्मा सम्झिन्छिन्, ‘पछि बिस्तारै अरु अरु कक्षाका केही साथीहरुलाई जम्मा गरेर एउटा टोली बन्यो।’

बिहान उठेर अभ्यास गरेको, बलको सट मारेको अनि भलिबल प्रति समर्पित भएको ठ्याक्कै १३ वर्ष भईसकेको छ। तर विद्यालय स्तरमा त्यति मेहनत र अभ्यास गर्ने, नियम सिक्ने अवसर र चाख दुवै रेश्मामा थिएन। बेलुका ४ बजेपछि अभ्यास हुन्थ्यो, कहिलेकाँही मन लागेन भने ‘ह्या’ भनेर घर जान्थिन्।

कारण – बिनालक्ष्य भलिबल खेलाडी भएकाले।

‘त्यो बेलामा बल खेल्ने भन्दा, ओहो ! केटीले पनि बल खेल्ने ? नियम केही नजाने पनि बच्चा दिमागले कस्तो रमाइलो हुन्छ होला भन्‍ने ठान्यो।’ रेश्माले भनिन्, ‘बल खेलेर हातभरी निलो हुँदा ममीले अब नखेल भन्नुहुन्थ्यो, तर पनि सरको सिकाई र प्रेरणाले खेल छुटेन। मलाई भलिबल खेलको यस्तो ठूलो क्षेत्र छ भन्ने पनि थाहा थिएन।’

तर सशस्त्रमा गएपछि उनको खेल्ने शोख मात्र भएन, काम भयो। छुट्टै अनुशासनमा बस्नुपर्‍यो। जतिबेला अभ्यास भयो, त्यति नै बेला उठ्नुपर्ने नियम भए। कुनै कुनै कुरा ‘एडजस्ट’ गर्न सारै गारो हुन्थ्यो।

अर्कै खालको गाह्रो अनुभव जीवनको पहिलोपल्ट खेल मैदानमा उत्रँदा पनि भएको हो। खेल्न, ओभर ह्याण्ड, डिगिङ गर्न, सर्भिस क्रस गर्न नसक्ने अवस्था थियो। तर बिस्तारै गुरुको सहयोगमा सीप सिकिन्।

अन्धाधुन्ध तरिकाले सुरु गरेको यात्रा अहिले राष्ट्रिय खेलाडीको सदस्यसम्म आइपुगेको छ। भलै जीवनको पहिलो म्याचमा ‘अमर ज्योति स्कूल’ हार व्यहोरेको होस् त्यसले अगाडिको बाटो रोकेन। ‘हामी पहिलो खेलमा धेरै आत्तियौँ, बललाई तातो आलु हातमा परेजस्तै गरी छिटो छिटो फाल्यौँ।’ भण्डारीले सम्झदैँ भनिन्, ‘त्यो बेला ‘खेल्ने ?’ भन्दा ‘हुन्छ’ भनेर खेलियो, पछि ‘देशकै लागि खेल्छु’ भन्ने सोचेको पनि थिइन।’

उनकै भाषामा भन्दा, ‘खेल्दा खेल्दै खेलाडी भइयो।’

तर उनीसँग सिकेका सबै खेलाडी भएनन्, धेरैको विवाह भइसक्यो, कतिले आफ्नै व्यवसाय सुरु गरिसकेका छन्। उनीहरुलाई त भेट्ने समय पनि मिल्दैन।

जीवनमा अगाडि बढ्दा केही पुराना कुरा छुट्छन् अनि नयाँ कुरा थपिँदै जान्छ, रेश्माले स्कूलको पहिलो प्रतिस्पर्धा देखि सुरु गरेर, क्षेत्रीय स्तर, राष्ट्रिय स्तर गर्दै अन्तर्राष्ट्रिय खेलहरु पनि खेलिसकेकी छन्। गारो, कडा मेहनत, प्रेसर अनि हौसला, गौरव र जित्ने आकांक्षा पनि एकैपल्ट अनुभूत गरेकी छन्।

नतिजा जे भएपनि आफ्नो तर्फबाट सक्दो मेहनत गर्नु कर्तव्य ठान्छिन् रेश्मा। यसको लागि उनले आफ्नो शरीरलाई धेरै तालिम गराएकी छन्, फिट राखेकी छन्।

उनको फिटनेश र सुगठित शरीर अनि सुन्दरताको चर्चा पनि सामाजिक सञ्जालमा हुन्छ। रेश्मा इन्स्टाग्राम, टिकटक अनि फेसबुमा सक्रिय छिन्। उनको तस्बिर, भिडियोले मिश्रित प्रतिक्रिया पाउँछ। ‘खेलमा ध्यान नदिइ कता कता लागेको?’ भन्दा रेश्माको जवाफ हुन्छ, ‘मेरो पनि पर्सनल लाइफ छ, मैले खेल बाहेकका अरु क्षेत्रमा मलाई चाख लाग्ने कुरा गर्न पाउँछु। मलाई राम्ररी थाहा छ, सामाजिक सञ्जालमा मेरो सक्रियताले अहिले सम्म खेल जीवनलाई प्रभाव पारेको छैन।’

उनकी बहिनीले ‘म्यूजिकल्ली’ मा भिडियो बनाएको देखेकी थिइन्, सिकाउन आग्रह गर्दा पनि सिकाइनन्। पछि बहिनी अष्ट्रेलिया गएपछि रेश्माले आफैँ सिकिन्। अहिले खेल अभ्यास गर्दाकै कपडामा टिकटकमा भिडियो बनाउछिन्। उनको अनुहारको, हाइटको प्रशंसा हुन्छ, रेश्मालाई यो कुरा राम्रो लाग्छ। आँखामा गाँजल, अनुहारमा फाउन्डसन लगाएर उनी छिट्टै आफूलाई तयार पार्छिन्।

विवाहमा उनलाई खासै चासो छैन, आफू केही हुनु छ ताकि पछि दोस्रो व्यक्तिमा भर पर्नु नपरोस्। अहिलेलाई भलिबल नै उनको लक्ष्य हो। विवाहका प्रस्ताव पनि आएका छन् तर उनले मन मिल्ने, माया गर्ने साथी भेटिसकेकी छैनन्। भन्छिन्, ‘शारिरीक बनावट देखेर माया हुँदैन।’ त्यसैले उनलाई विवाहको बारेमा सोध्नेलाई उनी ‘हुन्छ विस्तारै’ भनेर टारिदिन्छिन्।

खेल जीवन सुरु भएपछि उनका केटी साथी छुटेका छन्। उनीहरुको बिदामा रेश्मा व्यस्त अनि रेश्मा खाली हुँदा साथीहरु व्यस्त। त्यसैले खाली समय टिकटक पनि काम आउँछ।

आफूलाई मन लागेको कुरालाई फलो गर्नुपर्छ भन्ने लाग्छ। ‘मलाई फोटो धेरै खिच्न मन पर्छ, म खेल जीवनमा नभएको भए सायद मोडलिङ गर्थे होला।’

यो भन्दा अगाडि सुन्दरी भलिबल खेलाडी सिपोरा गुरुङको सुन्दरताको चर्चा भएको थियो, उनले चलचित्रहरुमा काम पनि गरिन्, रेश्मालाई चलचित्रमा काम गर्ने प्रस्ताव नआएको होइन्, तर बरु म्यूजिक भिडियो खेल्ने रहर छ। ‘अभिनय धेरै गाह्रो कुरा हो, यस्सै अफर आयो भनेर गर्नुभन्दा पनि केही सिकेर गर्नुपर्छ।’ भण्डारी भन्छिन्, ‘तर पहिलो लक्ष्य भनेको ‘साफ च्याम्पियनसीप जित्नु छ।’

पिपुल्स चोइस अवार्डमा नाम आउँदा उनले मिश्रित प्रतिक्रिया पाइन्, ‘फूटबलको सावित्रा, क्रिकेटको सन्दिप अनि शारिरीक सुगठनमा महेश महर्जन जस्ता अन्तर्राष्ट्रिय स्तरमा ख्याति पाएका खेलाडी छन् तिम्ले कहाँ जित्छौँ त भनेका थिए, मैले पनि त्यही सोँचे’ रेश्माको फ्यानहरु सामाजिक सञ्जालमा उल्लेखनीय नै छ तर मनोनयनमा परेका अरु खेलाडिको भन्दा धेरै कम। त्यसमाथि भलिबल ‘राष्ट्रिय खेल’ भएपनि त्यति एक्पोज हुन नसकेको अवस्थामा ‘अवार्ड जित्दिन होला’ भनेर सोच्नु सामान्य थियो। तर कतिले उनलाई भनेका थिए, ‘तिम्लाई नेपालमा भलिबलको क्रेज थाहा छैन’, नतिजा आएपछि उनी गलत भइन्।

 

View this post on Instagram

 

NSJF Pulsar peoples choice Sports Award-2075#winner ❤️

A post shared by RESHMA BHANDARI(RB8) (@resmabhandari) on


दशरथ रंगशालाको कभर हलमा अहिले साफ च्याम्पियनसिपको बन्द प्रशिक्षण चलिरहेको छ। गुरु जगदिश भट्टले उनीसँगै २५ जनालाई सिकाईरहँदा उनी पसिना बगाएर मेहनत गरिरहेकी थिइन्। मेहनत त पर्छ नै, थकाइ लाग्यो, आज अल्छि लाग्यो भन्न पाइदैन। खेलाडिलाई दुई सिफ्टमा बाँडिएको छ। उनी दोस्रो टोलिमा थिइन्, लिप्टर, ब्लकर, ब्याक प्लेयरलाई तालिम भइरहेमने थियो।

तालिम सकिएपछि ज्यान सेटिङ गर्ने अभ्यासमा गह्रौ बललाई समात्दै ‘एक, दुई भनेजस्तै उनको खेल जीवन क्रमिक रुपमा अगाडि बढिरेहेको छ। ‘खेलेर पनि पैसा पाइने रहेछ’ भन्ने अवस्था देखि राष्ट्रको गौरब राख्ने ठाउँमा आइपुग्दा धेरै कुरा बुझ्ने मौका पाएकी छन्। यो अवसर एसएलसी पछि ‘कपिल किशोर श्रेष्ठ’ ले शसस्त्रको खेल टोलिमा सदस्य हुने प्रस्ताव राखेपछि पाइन्। प्लस टु पछि उनले निरन्तरता दिइन्। वि सं २०६९ देखि खेलाडिमात्र हैन जागिर पनि भयो। शसस्त्रमा आवद्ध भएपछि उनले करियर के होला भनेर कहिले पछाडि फर्केर हेर्नु परेको छैन।

तर यति कुरा पक्का हो, अहिलेसम्म जति नाम छ, यदि भलिबल बाहेक अरु क्षेत्रमा भएको भए रेश्माले पाउने थिइनन्। उनी भन्छिन्, ‘कुमार सरले भलिबल नखेलाएको भए रेश्मा भण्डारीलाई कसैले चिन्‍ने थिएनन्। कपिल किशोर श्रेष्ठ, वीनिता दिदी, ज्ञानेन्द्र विष्टको कारणले शसस्त्रमा आवद्ध भए, यसले मलाई राष्ट्रिय खेलाडि बन्ने बाटो खुलायो।’

जीवनमा सामान्य समस्या त पर्छन्, तर परिवारसँगै बस्‍न पाएकोले रेश्मालाई आनन्द छ। उनको घर ढुंगा अड्डा तीन थाना हो। यो चन्द्रागिरी नगरपालिकामा पर्छ।

‘जति फुटबल र क्रिकेट चर्चामा छ, राष्ट्रिय खेल भएर पनि भलिबलको चर्चा छैन। खेलाडिलाई अभ्यास गर्ने व्यवस्थित हलसम्म भए पनि हुन्थ्यो।’ रेश्मा भन्छिन्, ‘खेल अभ्यासमा हामी कम छाैँ। अरु व्यवस्थापकीय कुरामा चाँहि मलाई चाख छैन, म खेलाडी हुँ, मेरो काम खेल्ने हो।’

उनीहरु बास्केटबल कोर्टमा भलिबलको नेट टाँगेर अभ्यास गरिरहेका थिए। भूकम्पले आंशिक क्षति पुर्‍याएको हलमा रेक्ट्रोफिट्रिङको काम भइरहँदा रेश्मा पनि देशको नाम राख्‍ने मजबुद सपनाको जग बसाउँदै थिइन्, ‘सपना धेरै थरीको हुन्छ, अहिले देशको लागि गोल्ड मेडल जित्‍ने सपना छ।’

साउन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्