के ज्ञानेन्द्रलाई अलिकति सम्मान दिँदा व्यवस्थै डगमगाउँछ?

बिरामी त ‘राजा’ ज्ञानेन्द्र पनि हुँदा हुन्। उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न। तर तिनलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान किन नआएको होला?

त्यत्रो दुई सय वर्षभन्दा बढ़ी शासन गरेको राजसंस्थाका अन्तिम शासक ज्ञानेन्द्रको हल्ला गरिएजस्तो विशाल सम्पत्ति पनि देखिएन। अन्य देशका राजधानीमा प्रायः हरेक राजाका दर्जनौं दरबार हुन्छन्। एक दुई थान हेलिकप्टर, निजी जेट विमान र प्राइभेट जङ्गलहरू हुन्छन्। त्यही एउटा निर्मल निवासबाहेक काठामाडौंमा उल्लेख्य दरबारहरू पनि उनको नाममा रहेनछन्। त्यही निवास पनि पुरानो समयमा अलि धेरै जग्गामा बनेकाले ठूलो देखिएको होला, दरबारजस्तो छैन। नागार्जुनमा उनी बस्ने घर जम्मा चार कोठे छ रे। नारायणहिटी नै पनि के नै दरबारजस्तो थियो र? अलिकति जग्गा र पर्खाल न हो। सङ्ग्रहालय बनेको त्यो दरबार छिर्दा म अचम्म बनेको थिएँ। कति मामुली बेडरूमहरू, कति सामान्य सजाबट। बरु राणाहरूले बनाएका महल भव्य र महँगा लाग्ने। उनले विदेशतिर अकूत सम्पत्ति जोडेको पनि देखिएन। हाम्रा प्रधानमन्त्रीले बालुवाटार छोड्दा पकाउने भाँडाकुँडा र कार्पेट पनि लैजान्छन्, उनी एउटा कारमा बिदा भएका थिए। भारत या चीनसँग हदैसम्म झुकेको भए कतै राजसंस्था बची पो हाल्थ्यो कि ? त्यस्तो प्रयास पनि देखिएन।

विज्ञापन

बिरासतमै प्रशस्त सम्पत्ति लिएर आएका ज्ञानेन्द्रभन्दा चप्पल लगाएर काठमाडौं छिरेकाहरू नै बरु बढी धनी देखिन्छन्। ज्ञानेन्द्रमात्रै होइन, यति लामो राजवंशमा सयौं अन्य राजपरिवार पनि होलान्! सत्ता र शक्तिको नजिक रहेका ती नेपालको सबैभन्दा धनी परिवारमध्ये हुनुपर्ने हो, तर ती पनि गुमनाम देखिन्छन्। देउबादेखि माधव नेपालसम्म बेलायत-अमेरिका आइरहन्छन्। ज्ञानेन्द्रलाई घुम्ने मन पनि खासै नलाग्ने रहेछ कि?

देउबादेखि माधव नेपालसम्म बेलायत-अमेरिका आइरहन्छन्। ज्ञानेन्द्रलाई घुम्ने मन पनि खासै नलाग्ने रहेछ कि?

सबैभन्दा महँगो कार चढौँ, सबैभन्दा अग्लो महलमा बसौं, सबैभन्दा महँगो डिजाइनको फेशन लगाऊँ भन्ने चाहना पनि किन नआएको होला? म नाथेलाई त लोभ लाग्छ। मन्त्रीहरू एकपल्ट चढेको गाड़ी नचढ्ने भन्छन्, उनले नयाँ गाड़ी मागेको या किनेको पनि सुनिन्न। लण्डनको ह्यारोड्समा सपिंग गर्ने रहर होला कि नहोला? फ्लोरिडा या मियामीमा होलिडे मनाउने रहर किन नआएको होला? किन चितवन या पोखरामात्रै मन परेको होला? पूर्व नै भए पनि राजा त हुन्, यसो हेर्दा पनि अति सामान्य लाग्ने जीवनशैली किन अपनाएको होला?

ज्ञाने चोर देश छोड् भन्ने मध्ये म पनि एक थिएँ। अझै पनि हाम्रा शासकले होच्याएरै बोल्छन्। अनेक धम्की दिन्छन्। कहिलेकाहीँ आमजनताले जस्तै देशबारे दुई शब्द बोल्दा अपराधै गरेजस्तो गर्छन्। तैपनि तिनकै स्तरमा उत्रेर क्षुद्र वचन बोल्न ज्ञानेन्द्रलाई केले छेकेको होला?

यसो सोच्छु, हैन कस्तो खाले सामन्त होलान् यी जुन हाम्रा प्रखर समाजवादीहरू भन्दा पनि सामान्य जीवन बिताउँछन् र राजपाट सबै खोसिँदा र त्यत्रो अपमान हुँदा पनि देशमै बस्छन्! कतै जाँदैनन्! लोकप्रिय, जनवादी, सर्वहारा र क्रान्तिकारी राष्ट्रपतिलाई बरु डर लाग्छ र आकाश-धर्ती खालि गर्नुपर्छ, यी सामन्ती मनुवा सड़कमा खुलेआम मान्छेको बीचमा देखिन्छन्! कस्तो डर पनि नलागेको होला?

परिस्थितिले राजा बनेका थिए, जनताले राजसंस्था चाहिन्न भनेर आन्दोलन गरे, यिनले छोडिदिए। त्यसबाहेक खास गल्ती यिनको के नै थियो र? लौ राजसंस्था खराबै होला रे, तर यिनले सुरु गरेको त होइन। अलि अर्घेलो भनेको शेरबहादुरलाई अक्षम भनेर फालेका थिए यिनले। अहिलेका दुई तिहाइ वालाले पनि उनलाई अक्षम नै त भन्छन्। अलि राम्रो होला कि भन्ने लाग्यो होला, भएन। तर स्विट्जरल्याण्ड बनाउँछु भनेर गफ पनि त दिएनन्। भएकोभन्दा अलिकति राम्रो बन्छ कि भन्ने न थियो। एउटा दुई महिने नाकाबन्दीले हाम्रो आर्थिक वृद्धिदर शून्यप्रतिशतमा झरेको थियो, माओवादी द्वन्द्वले देशै नाकाबन्दी जस्तो हुँदा पनि अर्थतन्त्र स्वस्थ नै रह्यो। अहिलेजस्तो कहालीलाग्दो व्यापारघाटा त्यो बेला थिएन। अहिले राजदूत या जिएम नियुक्ति जसरी हुन्छ, उनले त्यसरी नै गरेको भए जम्मै मन्त्री र कर्मचारी शाह र राणामात्रै हुन्थे होला।

तर अचम्म, हाम्रो सरकारले तोकेको मर्यादाक्रममा देउबादेखि माधव नेपालसम्मको मर्यादा त तोकिएको छ तर उनका लागि कुनै ठाउँ छैन। उनी एउटा इतिहास त हुन् नि। हाम्रा नेताहरूलाई पत्रिकाले ‘तिमी’ भनेर सम्बोधन गरेको मन पर्दैन तर तिनैले पूर्व राष्ट्रप्रमुखलाई तपाईं भन्ने सामान्य आदर गर्न पनि किन हिचकिचाउने होलान्? किन कुनै महत्त्वपूर्ण सरकारी कार्यक्रमहरूमा उनलाई ननिम्त्याइने होला? के हाम्रो लोकतन्त्रमा उनी अटाउन्नन्? के उनलाई राज्यले अलिकति आदर दिँदा हाम्रो व्यवस्थै डगमगाउँछ?

देशको नागरिकता त्यागेकाहरूलाई त राजनैतिकबाहेक सांस्कृतिक र सामाजिक अधिकारसहितको गैर-आवासीय नागरिकता दिने व्यवस्था भएको छ, अलिकति ठूलो मन गरेर यी अन्तिम राजा बाँचुन्जेल राजनैतिकबाहेकका चाडपर्व, जात्राहरू र मठमन्दिरसँग जोड़िएका सांस्कृतिक अधिकार दिन सकेको भए पनि हुन्थ्यो। हाम्रो समस्या राजनीतिसँग पो थियो  धर्मनिरपेक्ष देशमा नास्तिक, भौतिकवादी, मुश्लिम या क्रिश्चियन जो पनि राष्ट्रप्रमुख बन्न सक्छ, तर उसलाई मच्छिन्द्रनाथको भोटो दर्शन गराउनु कत्तिको सार्थक होला?

(फेसबुकबाट)

साउन १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्