‘सिम्पल छ कुरा, हामीले खेल्न सकेनौँ र हामी हार्‍यौँ’

सिंगापुरमा भएको टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा कमजोर प्रदर्शनपछि नेपाली टोलीको आलोचना भइरहेको छ। उपाधिको निर्विकल्प दावेदार मानिएको नेपाल पाँच टोली सहभागी प्रतियोगितामा तेस्रो भयो। पाँच वर्षअघि नै टीट्वेन्टी विश्वकप खेलिसकेको र एक वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली टोलीको यो नतिजापछि आलोचना नहुनुपर्ने कुनै कारण छैनन्। जित र हार खेलको विशेषता भए पनि आफूभन्दा तल्लोस्तरको टोलीसँगको कमजोर प्रदर्शनपछि एसियाका कमजोर एसोसिएट टोलीमाझ नै नेपाल फितलो बन्न थालेको हो त भन्ने प्रश्न उठिरहेको छ। यसै सन्दर्भमा राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसँग देशसञ्चारका लोकेन्द्र प्रसाईले कुराकानी गरेका छन्-

१. सहजै छनोट हुन्छु भनेर सिंगापुर पुगेको टोली तेस्रो भएर  फर्कियो? के भयो? 

– सिम्पल, राम्रो गर्न सकेनौँ। गेम जित्न सकेनौँ।

२. एसियाली एसोसिएट क्रिकेटमा एक समय अफगानिस्तान टाउको दुखाइ थियो। हङकङ र यूएई लगभग बराबरका प्रतिद्वन्द्वी थिए। अफगानिस्तानले टेस्ट मान्यता पायो। नेपाललाई यो क्षेत्रको क्रिकेटमा केही सजिलो भयो। यसपटक हङकङ, यूएई र ओमानजस्ता  बलिया टोली एसियाली छनोटमा थिएनन् । तर पनि…….? 

– हामी हरेकपटक खेल्दा जित्ने मेन्टालिटीमा हुन्छौँ। जस्तोसुकै अपोनेन्ट भएपनि जित्नकै लागि खेल्ने हो। पार्टिसिपेट हुन मात्र कोही पनि खेल्दैन। अब अफगानिस्तानको कुरा गरेर हुँदैन। कसले कति सुधार गर्दै लग्यो भन्ने कुरा हो। हामी खेलमा मात्र सीमित भयौँ। खेलबाहिर विकासका कुरामा जान सकेनौँ, त्यसैले हामी जहाँको त्यही रह्यौँ। अरु टोलीले खेलबाहिर पनि ध्यान दिए अनि अगाडि आए। कुनैपनि खेलमा पेपरमा हिजोका दिनमा के थियो भन्ने कुराले त्यति ठूलो अर्थ राख्दैन। पहिला के भएको थियो भन्ने कुरा आजको जित हारमा निर्णायक हुँदैन। हरेक दिन नयाँ क्रिकेट खेल्नैपर्छ।  जित्नका लागि राम्रो गर्नैपर्छ। हिजो अफगानिस्तानलाई हरायौँ वा कमजोर टोलीसँग हार्‍यौँ भन्ने कुरा सम्झेर आजको खेल जित्ने वा हार्ने भन्ने हुँदैन। खेल भएको दिन विपक्षीभन्दा राम्रो खेल्नैपर्छ।

भिडियो हेर्नुहोस्:

३. तर पनि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको टोली विश्वस्तरको छनोटमा पनि नपुग्नु नेपाली क्रिकेटका लागि दुखद् हैन र?

– एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि धेरै कुराहरु आएका थिए, नेपालले अब धेरै गर्छ, धेरै माथि पुग्छ यस्तै यस्तै। साँच्चि भन्ने हो भने हामीले दुई वटा खेल जितेको भरमा एकदिवशीय मान्यता पाएका थियौँ। हो, एकदिवशीयको मान्यता पाउनु ठूलो उपलब्धि हो। तर  हामीले  एक खुड्किलो मात्र पार गरेका हौँ। टियू ग्राउन्ड लर्ड्समा परिणत भएको अवस्था होइन । हामीले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयता कतिवटा कम्पिटिटिभ म्याच खेल्यौँ त ? कतिवटा घरेलु प्रतियोगिता खेल्यौँ त ? वास्तवमै निराशाजनक छ। हामी जहाँको त्यहीँ छौँ। केही राम्रा कुराहरु देखिएपनि हाम्रो कल्चर ‘चेन्ज’ भएको छैन। यदी हामी अफगानिस्तानलाई हेर्छौँ भने ऊ कुन बाटो भएर त्यहाँसम्म पुग्यो ? त्यसलाई पछ्याउनै पर्छ।

४. टीट्वेन्टी फर्म्याटले अहिले क्रिकेटमा डोमिनेट गरिरहेको छ। राम्रा खेलाडीहरु विश्वभर व्यावशायिक क्रिकेट खेल्न पुगेका छन्। खेलाडीको आर्थिक पक्ष सुदृढ बनेको छ। यही फर्म्याटले नेपाललाई विश्वमाझ चिनाएको छ। पछिल्लो प्रदर्शन र नतिजाको असर यस क्षेत्रमा पर्दैन? 

– निश्चय पनि टीट्वेन्टी क्रिकेट लोकप्रिय बनिरहेको छ। यसले मानिसलाई मनोरन्जन दिइरहेको छ। मानिसहरु हरेक बलमा चौका छक्काको अपेक्षा गर्छन्। फुटबल किन मन पराइन्छ, अमेरिकामा बेसबल वा बास्केटबल किन लोकप्रिय छ ? किनभने छोटो समयमा सम्पन्न हुने यी खेलमा मानिसहरु सेकेन्ड सेकेन्डमा मनोरन्जन लिइरहेका हुन्छन्। दिनभर हुने ५० ओभरको वा पाँच दिनसम्म हुने टेस्ट मानिसहरु किन हेरेर बसुन्। मेरै घरमा पनि दिक्क मान्छन्। सायद आइसिसीले यही सोचेर सबै एसोसिएट टोलीलाई टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको हो। तरपनि टेस्ट क्रिकेटमा सतक बनाउने ब्याट्सम्यानको तुलना महान् खेलाडीसँग हुन्छ। त्यही ठाउँमा टीट्वेन्टीमा सतक बनाउनेको उचाइ त्यस किसिमको हुँदैन। मैले टीट्वेन्टी स्वरुपको अवमूल्यन गर्न खोजेको होइन। तर क्रिकेटलाई मात्र सोच्ने हो भने हामीले एकदिवशीय र टेस्टमा जान खोज्नुपर्छ। किनभने यी स्वरुप क्रिकेटका ब्युटी हुन्। यीनै स्वरुपका कारण क्रिकेटलाई जेन्टलम्यान्स गेम भनिएको हो। लामो समयका लागि सोच्ने हो भने हामी एकदिवशीय र टेस्टमै फोकस हुनुपर्छ।

५. प्रतिभावान युवा र अनुभवी खेलाडीको तालमेल थियो नेपाली टोलीमा। तर पहिलो खेलमै कतारसँग पराजित भयो? ओभर कन्फिडेन्ट भएर पो हो कि? 

-मलाई लाग्दैन त्यस्तो। टिम सन्तुलित थियो। हामी दावेदार हौँ भन्ने थियो तर राम्रो गर्न सकेनौँ भने अगाडि पनि बढ्न सक्दैनौँ भन्नेमा पनि सचेत थियौँ। वास्तवमा हामी आफ्नै कारणले त्यस खेलमा पराजित भएका थियौँ। हारेपछि स्वभाविक रुपमा सबै खेलाडी दुखित थिए।  प्रतियोगितामा यो हाम्रा लागि वेक अप कल जस्तै थियो। हामी सचेत हुनै पर्थ्यो। हामीलाई थाहा थियो बाँकी तीनवटा खेल जिते पनि अगाडि बढ्न सक्थ्यौँ। मलेसिया र सिंगापुरको खेल रद्द भएपछि हामीले आफ्नै खेल जिते मात्र पनि विजेता बनेर विश्वस्तरको छनोटमा पुग्ने समीकरण बनेको थियो। तर कुनैपनि कुरा ग्रान्टेड हुँदैन। हामीले खेल जित्न राम्रो प्रदर्शन गर्नै पर्थ्यो। हामी हरेक नतिजापछि टिमले सुधार गर्नुपर्ने पक्ष र विपक्षीका कमजोरीको समिक्षा गर्थ्यौँ।

६. पहिलो खेल हारेपनि लगातार दुई खेल जितेपछि अन्तिम खेलमा सिंगापुरलाई हराएमात्र पनि नेपाल अगाडि बढ्ने अवस्था थियो। बलियो बलिङ अट्याक भएको नेपालविरुद्ध सिंगापुरले एक सय ९१ रन जोड्यो। नेपाली ब्याट्सम्यान सस्तैमा आउट भए। के भएको थियो ? 

– कतारसँग हारिसकेकाले सिंगापुरसँग हामी सचेत थियौँ। प्रतियोगितामा हाम्रो फिल्डिङ राम्रो हुन नसकिरहेकाले सुधार गर्नुपर्छ भन्ने थियो। त्यो खेल हुने मैदानको स्ट्रेट सानो र स्क्वायर ठूलो थियो। आउट फिल्ड फास्ट थियो।  हामीले सोचेभन्दा उनिहरुले निकै राम्रो ब्याटिङ गरे। तर सिंगापुरले एक सय ९१ रन हान्न सक्छ भने हामी पनि एक सय ९२ रन हान्न सक्छौँ भन्नेमा विश्वस्त थियौँ। हरेक ओभरमा औसतमा १० रन चाहिन्थ्यो। अन्तिम केही ओभरमा पिट्छु भनेर बस्ने अवस्था पनि थिएन। पारस र मेरो ओपनिङ जोडीले सुरुको ६ ओभरमा कम्तीमा ६०/७० रन जोड्नुपर्छ भन्ने योजना थियो। योजना सफल हुन सकेन। पारस, म र शरद आउट भएपछि पनि हामीलाई विश्वास थियो। किनभने करन र सोमपालसम्मले राम्रो ब्याटिङ गर्न सक्थे। एक जना मात्र ब्याट्सम्यान जम्दियो भने पनि खेल जित्न सकिन्छ भन्ने लागेको थियो । सिंगापुरका पनि एक दुई जना ब्याट्सम्यानले मात्र खेलेका भरमा त्यति ठुलो लक्ष्य तयार भएको थियो। तर हामीमध्ये कोही पनि क्लिक हुन सकेन। उनिहरुको फिल्डिङ पनि बेजोड थियो। शरदको उत्कृष्ट क्याच लिएका थिए। त्यो दिन उनिहरुले हामीभन्दा राम्रो खेले। हामीले आफ्नो क्षमताको ५०/६० प्रतिशत पनि खेल्न सकेनौँ। मुख्य कुरा इफोर्ट कति लगायौँ भन्ने कुरा हो। उसेन बोल्टसँग दौडिनेले पनि जित्ने लक्ष्य राखेको हुन्छ। तर उसले सतप्रतिशत इफोर्ट लगायो भने नजिते पनि त्यसलाई सफल मान्नुपर्छ। हामीले आफ्नो खेल नै खेल्न नसकेपछि विपक्षीले कस्तो खेल्यो भन्ने दोस्रो कुरा हुने रहेछ। वास्तवमा सिंगापुरसँग हाम्रो इफोर्टले हारेकै हो।

७. सिंगापुरसँग हारिसकेपछि ड्रेसिङ रुमको वातावरण कस्तो थियो? तपाईले आफूलाई कस्तो पाउनु भयो? 

– हारेपछि पक्कैपनि कोही पनि खुसी हुँदैन। हामी पनि थिएनौँ। सबै जना निराश थिए। अब मैले यसो गरेको भए हुन्थ्यो उसो गरेको भए हुन्थ्यो भन्ने त सबैलाई हुन्छ नै। तर खेलमा इफ्स र बट्सको अर्थ हुन्। कुनै पार्टिकुलर मोमेन्टमा के डिसिजन लियो भन्ने कुराले ने अर्थ राख्छ। त्यो खेलमा हामीले राम्रो खेल्न सकेका थिएनौँ। हरेक खेलाडीले त्यो आत्मसमीक्षा गर्नुपर्ने विषय थियो। यस किसिमको सोचेभन्दा विपरितको नतिजाले मनमा धक्का चाहीँ दिने रहेछ। किनभने हामीले त पाँच वर्षअघि नै विश्वकप खेलिसकेका थियौँ।

अहिले विश्वस्तरको छनोटमै पुग्न नसक्नु दुर्भाग्य नै हो। तर जे भयो भयो। हामीसँग ओडीआई स्टाटस छ अझै तीन वर्षका लागि। हामीले यसबीचमा धेरै गर्न सक्छौँ। टिमले अब कसरी ग्रो गर्ने र आफैले आफैलाई कसरी ग्रो गर्ने भन्नेचाहीँ सोच्नैपर्छ। हिजोका गल्तीहरुलाई नदोहोर्‍याई इम्प्रुभ गर्नुपर्छ। तर हामीले आफुलाई सुधार गर्ने  कहाँ त ? घरेलु संरचना छैन।

खेलाडीले सुधार गर्न होस् या लय समात्न, खेल्न त पाउनु पर्‍यो नी। कुनै एक वा दुई खेलमा राम्रो प्रदर्शन गरेका भरमा हामी उत्कृष्ट भनिरहेका छौँ। तर उसले कस्तो ग्राउन्डमा खेल्यो, कस्तो ब्याट्सम्यान वा बलरसँग खेल्यो वा कस्तो सिचुएसनमा खेल्यो भन्ने चाहीँ विचार गर्दैनौँ। अब कुनै खेलाडीले नराम्रो खेल्यो भने उसको विकल्प ल्याउने कहाँबाट ? हामी यस्तै समस्यासँग जुधिरहेका छौँ। भन्दा दुख लाग्छ- यस्तो नतिजा ब्यहोरेर फर्किएका हामी अबको दुई तीन महिना क्रिकेट खेल्देनौँ किनभने कुनै प्रतियोगिता नै छैन। उता विश्वकप जितेको इङ्ल्यान्डले लगत्तै आयरल्यान्डसँग टेस्ट खेल्यो। अहिले अस्ट्रेलियासँग एसेस शृंखला खेलिरहेको छ।

८. यस्तो नतिजा र प्रदर्शनपछि घर फर्कँदा कुनैपनि टोली वा खेलाडीले के अपेक्षा राख्दछ ? 

– शान्त वातावरण। तर हार-हार मात्र सुन्छौँ। के हामी खुसीले हारेर आएका हौँ र। हारको सबैभन्दा दुख त हामी खेलाडीलाई नै हुन्छ। किनभने हाम्रो भविस्य जोडिएको छ। हामीलाई पनि त विश्वकप खेल्ने रहर हुन्छ। राम्रो खेल्न सकिएन भने भोली टोलीमा नपरिएला भन्ने चिन्ता हुन्छ। यसले हामीसँग जोडिएका मानिसहरुसँग पनि सम्बन्ध राख्दछ। नेपाललाई कुनै स्थानसम्म पुर्‍याउनु एक ठाउँमा छ तर हाम्रो व्यक्तिगत जिवन पनि सँगसँगै गाँसिएको छ। जे पर्छ हामीलाई परिरहेको हुन्छ। तर यहाँ नेपालले राम्रो खेल्यो भने खत्रा फ्यान र राम्रो खेल्न सकेन भने लाज लाग्यो भन्ने चलन छ। हामीले एक अर्कालाई सहयोग गर्नैपर्छ। खेलाडीलाई रेस्पेक्ट दिनैपर्छ। हामी पोजिटिभीटी चाहन्छौँ। सकारात्मक सल्लाह सुझाव चाहन्छौँ।

९. नेपालले वास्तविक धरातलमा उभिएर सोच्ने हो भने अन्तर्राष्ट्रिय क्रिकेटमा तत्काल पुरा गर्न सक्ने सपना के हो ? 

-भगवानको कृपाले भन्नुपर्छ घरेलु संरचना र बोर्ड नहुँदा पनि  हामी विकाशक्रमको एउटा फेजमा छौँ। लामो समय बोर्ड नहुँदा पनि हामीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाइरहेका छौँ। हामीसँग क्रिकेट त छ तर बिग्रन बाँकी केही छैन। अब जे गरेपनि बन्ने मात्र हो। जे गरेपनि राम्रोको विकल्प छैन।  त्यसैले अब बनाउन सुरु गर्नुपर्छ। हामीसँग ओडीआई स्टाटस अझै केही वर्ष बाँकी छ। अहिलेदेखि ने राम्रोसँग प्लान गरेर अगाडि बढ्ने हो भने २०२३ को एकदिवशीय विश्वकप खेल्न आँट हामीले गर्न सक्छौँ। त्यसको तयारी आजैदेखि थाल्नुपर्छ। टीट्वेन्टी विश्वकपको छनोट त हामी दुई वर्षपछि पनि खेल्न सक्छौँ।

साउन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्