उच्चशिक्षा लिन अष्ट्रेलिया पुगेका दुई युवा बाकसमा नेपाल फर्कँदैछन्

दुर्घटनामा ज्यान गुमाएका गोपाल भण्डारी र समीक्षा सुवेदी।

सिड्नी– गत आइतबार अर्थात् २७ जुलाईको बिहानीमा दुईवटा नेपाली मनहरूको सपना कंगारूको देशमा सदाका लागि बिलिन भए।

विदेशको व्यस्त दैनिकीबाट केही पलका लागि छुटकारा पाउनका लागि स्नोई माउन्टेन हिँडेका युवाहरूमध्ये समीक्षा सुवेदी र गोपाल भण्डारीको जीवनयात्रा सदाका लागि रोकियो।

कुमा नजिकै रोज भ्याली भन्ने ठाउँमा उनीहरू चढेको माज्दा–६ कार दुर्घटना भयो। दुर्घटनामा आश्विन कँडेल, सागर भट्टराई र संगीत देवकोटा घाइते भए।

दुर्घटनामा परेर मृत्यु हुने ती केवल दुईवटा मात्र सपना थिएनन्। त्यसभित्र अरू धेरै सपनाहरू अडिएर बाँचेका थिए। ती सपनासँगै बाआमाका अनन्त सपनाहरू पनि बिलिन भए अनि ती सपनासँगै दाजुभाइ, दिदीबहिनीका असंख्य सपना पनि हराए।

उनीहरुले देखेका सपनाहरुले केवल आफूसँगै मात्रै जोडिएका थिएनन्। त्यसको मर्म यो हृदयविदारक परिस्थिति भोग्नेलाई मात्र थाहा छ।

दुर्घटनामा परेर मृत्यु हुने गोपाल भण्डारी स्याङजा गल्याङ–६ का बासिन्दा थिए। करिब एक वर्षअघि सिड्नी आएर होमबुसमा बस्दै आएका उनी एटिआइटी कलेजमा डिप्लोमा अफ अकाउन्टिङ विषय अध्ययनरत थिए।

अर्की मृतक समीक्षा सुवेदी पनि स्याङ्जा वालिङ–१० की वासिन्दा थिइन् र उनी सिड्नीस्थित क्वीन्सफोर्ड कलेजमा अध्ययनरत थिइन्।

गत जुलाई २७ शनिबारका दिन १५ जना साथीभाइ मिलेर विदा मनाउन स्नोई माउन्टेन जाने निधो गरेका गरे। त्यसै दिन तीनवटा कारमा दिउँसो दुई बजेतिर सिड्नीबाट क्यानबेरातर्फ लागे र क्यानबेरानजिकै रहेको उडन रिजर्भमा क्याम्पिङ गरेर बसे।

भोलिपल्ट बिहानै पाँच जनाको एउटा समूह बिहानको करिब ३ बजे नै आफ्नो गन्तव्यतर्फ लाग्यो। गन्तव्यतर्फ लागेको केहीबेरमा अर्थात् करिब ३ बजेर ४० मिनेट जाँदा उनीहरू सवार कार दुर्घटना हुन पुग्यो।

समीक्षा सुवेदीले त्यसअघि आफ्नो फेसबुकमा सो भ्रमणका केही खुशीका पलहरू लाइभ समेत गरेकी थिइन्।  ‘हामी क्यानबेरा जाँदैछौँ, यहाँ अन्ताक्षरी चलिरहेको छ’, अनि सँगै रहेको एकजना साथीलाई जिस्काउँदै भनिन्, ‘यो मेरो चंखे बाँदर’ भिडियो लाइभ गर्दै उनले एउटा गीतसमेत गाएकी थिइन्, ‘मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ, मै मरे तिमीलाई कसले माया गर्छ’ उनले कैद गरेका ती दृश्य अब केवल सम्झनामा मात्र रहनेछन्।

पछिल्लो सिटमा रहेकी समीक्षा उछुट्टिएर गाडीबाट बाहिर केही मिटर पर पुगिन्। घाइते चालक र दुई यात्रुलाई न्यूसाउथवेल्स एम्बुलेन्सका प्यारामेडिक्सले घटनास्थलमा प्राथमिक उपचारपश्चात नजिकैको कुमा अस्पतालमा पुर्‍याए। चालक र एक यात्रुलाई भने थप उपचारका लागि हेलिकप्टरबाट क्यानबेरा अस्पताल लगियो।

यो घटनाले अस्ट्रेलियामा रहेको नेपाली समाजलाई विक्षिप्त तुल्यायो। नेपाली विद्यार्थीहरू यसरी परदेशमा दुर्घटनामा परेको यो पहिलो घटना भने होइन।

नेपालीहरूको उपस्थिति अस्ट्रेलियामा बढ्दै जाँदा यस्ता दुर्घटनाहरू बढ्दै जानुलाई सामान्य मान्न त सकिएला तर त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी उपायको खोजी नहुनु भनेको दुःखद् कुरा हो।

केही दिनको उपचारपश्चात् अहिले तीनैजना घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव नेपाल पठाउने जिम्मा इन्स्योरेन्स कम्पनीले लिएको अस्ट्रेलियाका लागि कार्यबाहक राजदूत दुरपदा सापकोटाले जानकारी दिइन्।

उनले भनिन्, ‘यस्ता दुर्घटना प्रवासको हाम्रो समुदायमा बढ्दै जानु दुःखद् कुरा हो। विशेष गरेर नयाँ विद्यार्थीहरूका लागि अस्ट्रेलियामा हुन सक्ने विभिन्न किसिमका दुर्घटनाहरूका बारेमा सचेतना बढाउने कार्यक्रमहरूको आयोजना अस्ट्रेलियामा बेलाबेलामा गरिए पनि त्यति प्रभावकारी रूपमा नेपाली विद्यार्थीको उपस्थिति भएको छैन। हामीले समुदायमा सम्बद्ध सबै पक्षसँग यस्ता घटनाहरुको न्यूनीकरण कसरी गर्न सकिन्छ भनेर उपायको खोजी गर्ने कार्य गरिरहेका छौँ।’

विदेशमा ट्राफिक नियमको उचित ज्ञान नहुनु, रातीकाे समयमा गाडी चलाउँदा सडक तथा वस्तुस्थितिको उचित जानकारी नलिनु, तथा तीव्र गतिमा गाडी हाक्ने हाइवेहरूमा अपनाउनुपर्ने सुरक्षाका उपायहरूलाई हेलचेक्र्याईँ गर्दा अस्ट्रेलियामा सडक दुर्घटना बढिरहेको तथ्यांकहरूले देखाउँछन्।

अगष्ट १ तारिख बिहीबारको साँझ गोपाल भण्डारी र समीक्षा सुवेदीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि वरउडस्थित युनिटी फ्युनेरल्समा राखिएको थियो। उनीहरुकाे शव मलेसियन एयरलाइन्सको जहाजमार्फत् शनिबार सिड्नीबाट काठमाडौँ पठाइने बताइएको छ।

साउन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्