‘भाजपा’ विदेश विभाग इन्चार्ज डा. चौथाईवाला

‘नेपाल सार्वभौम मुलुक हो, हाम्रो कुनै अदृश्य ‘डिजाइन’ छैन’

तस्बिरहरु: रविन आचार्य

काठमाडौँ — भारतीय जनता पार्टी ‘भाजपा’का विदेश विभाग इन्चार्ज डा. विजय चौथाईवालाले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक रहेको र उसकाविरुद्ध भारतमा कुनै पनि अदृश्य ‘डिजाइन’ नभएको स्पष्ट पारेका छन्।

उनले नेपाललाई अपमान नभई ऊसँग सहयोगी हात अघि बढाउन चाहेको पनि बताएका छन्।  दुई दिन अघि नेपाल आएका नेता चौथाईवालाले नेपाल र भारत सानो ठूलो भन्दा पनि नेपालसँग समान राष्ट्रका आधारमा अघि बढ्ने नीति भारतले लिएको बताएका हुन्।

नेपाल भारत मैत्री समाजद्धारा ललितपुरमा शुक्रबार आयोजित एक अन्तरक्रियामा नेता चौथाईवालाले नेपाल—भारतबीच कुनै मुद्दा भए त्यसमा छलफल अघि बढ्न चाहेको बताएका छन् ।

तर उनले नेपाल र भारतको मित्रवत सम्बन्धको ‘बोन’ सँधै बलियो भएको र आवश्यक बहसबाट त्यसलाई अझ बलियो बनाउने आश्वासन दिएका छन्।

उनले नेपालमा पछिल्लो पाँच वर्षमा भएको राजनीतिक परिवर्तन भारतका लागि स्वागतयोग्य रहेको पनि स्पष्ट पारे।

आफ्ना अध्यक्ष एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत असंलग्न राष्ट्र हुँदाहुँदै आवश्यकताअनुसार भारतले विभिन्न शक्तिहरुसँग समिकरण बनाउने तथा पाकिस्तान लगायत छिमेकी राष्ट्रहरुसँग सम्बन्ध सुदृढ गराउनेतर्फ लागेको जनाए।

यद्धपी पाकिस्तानले उससँग वार्ता हुनु अघि केही महत्पूर्ण निर्णयहरु लिनु पर्ने पूर्व सर्त भारतले अघि सारेको जानकारी समेत गराएका छन्।

उनले ति कस्ता सर्तहरु हुन भन्नेबारे नखुलाए पनि पाकिस्तानले आतंकवादलाई प्रश्रय नदिने खालका निर्णयहरु लिनु पर्ने संकेत दिएका हुन्।

अन्तरक्रियामा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले नेपाल र भारतबीचको खुल्ला सीमानाले निम्ताएको समस्या, प्रकृतिक प्रकोपको कठिनाई, जलवायु परिवर्तनका कारण हिमाल पग्लने समस्या दुवै मुलुकले मिलेर हल गर्नु पर्ने बताएका थिए।

एक अर्को प्रसंगमा उनले नेपालमा भारतका लागि लागनीको अथाह अवसर र सम्भावना रहेको उल्लेख गर्दै त्यसमा अघि बढ्न सुझाव दिए।

नेपाल र भारतबीच अनेक कारणले सम्बन्ध गहिरो भएको र सानातिना उतारचढाव छोडेर अघि बढ्नुपर्ने उनको सुझाव थियो।

अन्तरक्रियामा सामेल पूर्वअर्थमन्त्री रामशरण महतले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धमा कसैले पनि फाटो ल्याउन नसक्ने बताएका थिए ।

उनले नेपालले भारत या चीन दुवै मुलुकको विरोधी नरहेको स्पष्ट पार्र्दै उनले त्यसबारे भ्रम नफैलाउन आग्रह गरे।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतमा विद्यमान सरकारको पक्षमा मदतादाताले देखाएको समर्थन चुनावी मान्यताका हिसावले असामान्य भएको भन्दै त्यो प्रक्रियालाई व्याख्या गर्न आग्रह गरेका थिए।

नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले नेपाल र भारतबीच स्वास्थ्य, शिक्षा, संस्कृति र आर्थिक सहकार्यको आवश्यकता रहेको र त्यसमा केन्द्रित हुनुपर्ने बताएका थिए।

उनले दुवै पक्षीय हितबारे बहास जारी रहेको र त्यसबाटै सहकार्यको निष्कर्ष निकाल्ने बताए।

अन्तरक्रियामा सामेलमा सुन्दरमणि दिक्षितले नेपालमा बढ्दो धर्म परिवर्तनले भारत नेपाल सम्बन्धका आधारभुत पक्षलाई कमजोर बनाएको अभिव्यक्ति दिएपनि हिन्दुराष्ट्र र हिन्दुधर्मबारे चौथाईवालाले कुनै प्रतिक्रिया जनाएनन् ।

त्यस्तै पूर्वमन्त्री तथा राजपाका नेता महेन्द्रराय यादवाले १९५० को मैत्री तथा शान्ति सम्झौतामा मधेसको संलग्नताबिना कुनै परिवर्तन गर्न नहुने सुझाव दिए।

उनले नेपाल भारत सम्बन्ध समिक्षा गर्न सरकारद्धारा गठित प्रवुद्ध समूहमा मधेसको सहभागिता नभएकोले त्यसका निष्कर्षहरु मान्य नहुने बताए।

 

साउन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू