आयोजक समितिका अध्यक्ष किरण राईको स्पष्टीकरण

मुख्यमन्त्री कप प्रदेश लिगबारे सार्वजनिक लेखा समितिद्वारा छानबिन सुरू

मोरङ-मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता प्रदेश एकको आयोजनाका क्रममा १ लाख ७९ हजार रुपैया अपुग भएको आयोजक समितिका अध्यक्ष किरण राईले स्पस्टीकरण दिएका छन्।

शुक्रबार विराटनगरमा प्रदेश एकको सार्वजनिक लेखा समितिद्धारा प्रतियोगिताबारे छानविनका क्रममा अध्यक्ष राईले सो कुरा बताएका हुन्। सार्वजानिक लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले प्रतियोगिताको बजेटमा ब्यापक अनियमितिता भएकोबारे जानकारी मागेका थिए।

प्रतियोगितामा अनियमितता नभएको भन्दै बचाउ गरेका अध्यक्ष राईले भने, ‘‘प्रतियोगिताका लागि प्रदेश सरकार समाजिक विकास मन्त्रालयबाट उपलब्ध एक करोड रकममा सञ्चालन भएको हो। जसमा प्रतियोगिता खर्च नै १ करोड २ लाख ४९ हजार रुपैया लागेको छ। जसअनुसार रकम अझै अपुग छ।’’

सो अपुग १ लाख ७९ हजार रुपैया रकम आयोजक समितिले अखिल नेपाल फुटबल संघ एन्फासँग माग गर्ने उनको भनाइ छ। समितिलाई जानकारी दिदैं सहभागी दुइ वटा टोलीबाट दर्ताको रकम १० हजार रुपैया भने प्राप्त नभएको अध्यक्ष राईले बताए। समितिलाई जानकारी दिदैं राईले सहभागि टोलीबाट ७० हजार मध्ये ६० हजार रुपैया प्राप्त भएको र बाँकी १० हजार रुपैया संकलन हुन बाँकी रहेको जानकारी दिए।

प्रतियोगिता सञ्चालनका विषयमा समितिका सभापति सिंहले तेह्रथुमको टोली अंक बराबर भएको अवस्थामा बाहिरिनुले खेल नियममा सञ्चालन नभएको प्रश्न गरेका थिए।

उनले भने, ‘‘धरानमा सम्पन्न लिगको अन्तिम २ वटा खेलहरु मिलोमतो भएको कुरा र लिगमा समान ८ अंक भएको अवस्थामा तेह्रथुम ४ गोलसहित अग्रस्थानमा हुदाँहुदै कसरी बाहिरिन पुग्यो। यहाँ भएको कमजोरीको जिम्मेवारी कस्को हो?’’

सो क्रममा यथेष्ठ प्रमाण विना खेल मिलोमतोलाई स्वीकार गर्न नसकिने बताएका राईले तेह्रथुम समान अंक हुदाँहुदै पनि बाहिरिनुमा प्राविधिक त्रुटि भएको हुनसक्ने स्वीकार गरे। उनले भने, ‘‘प्रतियोगिताका क्रममा म्याच कमिश्नर, म्याच एसेसर हुने भएको हुदाँ उहाँहरुकै रिपोर्टको आधारमा आयोजक समितिले अन्तिम निर्णय गरेको हो।’’

यस विषयमा तेह्रथुमको टोलीले २२ गते खेल सकिएपछि आफूलाई फोन सम्पर्कमात्र गरेको र २५ गते छानविनका लागि निवेदन दिएको बताएका राईले भने, ‘‘छानविनका लागि निर्धारित समयभित्र उजुरी प्राप्त हुदाँ आफू सोही अनुरुप अघि बढ्ने थिए। तर, त्यसो पनि नहुदाँ प्रतियोगितालाई रोक्न नसक्ने अवस्थामा थियौं र अघि बढ्यौ।’’

सोही विषयमा सभापति सिंहले प्रतियोगिता सञ्चालन नियमानुसार नभएको भन्ने कुरा छर्लंगै भएको र नयाँ टोली तेह्रथुम आयोजकको कमीकमजोरीको शिकार भएको बताएका थिए।

छानविन कै क्रममा नेकपाका सांसद एवं समिति सदस्य कुशल लिम्बु साम्बाले प्रदेश एकको गरिमामय प्रतियोगिता विवादरहित बन्न नसकेको स्पस्ट पारे। उनले भने, ‘‘लिग भयो तर बढि बदनामी भयो। अंकका आधारमा समेत स्पस्ट रुपमा विजयी हुदाँहुदै तेह्रथुम निकालियो।एन्फाले नियमानुसार काम गर्न सकेन्।’’
त्यसैगरि, उनले प्रतियोगितामा एन्फाबाट समावेश हुनुपर्ने ३३ लाख रकममा अनियमितता भएको आशंका ब्यक्त गरेका थिए।

प्रतियोगितामा एन्फाले आफ्नो संघ मातहतका प्रत्येक जिल्लालाई लिगका लागि ३ लाख रुपैया छुटाउनु र संघबाहिरको जिल्लालाई त्यसबाट विमुख गराउनु न्याय पक्ष नभएको बताएका लिम्बुले भने, ‘‘यहाँ सहभागि नयाँ टोली निरुत्साहित भएकाछन्। नयाँ टोलीलाई उर्जा दिनुपर्नेमा निरुत्साहित बनाइयो। प्रदेश सरकारले उपलब्ध गराइएको रकमबाट भएपनि ती जिल्लालाई तयारी खर्चको रकम उपलब्ध गराइनुपर्थ्‍यो।’’

सोही क्रममा संखुवासभाका नेकपा सांसद तुलसी न्यौपानेले एन्फाले मुख्यमन्त्री कप जस्तो प्रतिष्ठित प्रतियोगितामा सहभागि टोलीलाई तयारी खर्च दिने क्रममा काखापाखा गरेको बताएका थिए। प्रदेशको गरिमा र चासोको प्रतियोगितामा नियममै त्रुटी भएको उनको भनाइ थियो।

करिब २ घण्टा चलेको छानविनका क्रममा समितिले आयोजक पक्षलाई प्रतियोगिताको खर्च विवरण, रकम भुक्तानी, बैंक स्टेटमेन्ट, लगायतका कागजपत्र माग गरेको थियो। सोही अनुसार राईले लेजर, प्राविधिक रिर्पोट, खर्च भौचरसहित १७ वटा कागजपत्र समितिलाई बुझाएका थिए।

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता असार १६ देखि ३१ गतेसम्म भएको थियो। १४ जिल्लाको सहभागितामा पहिलो चरणको लिगको खेलहरु उदयपुर, धरान, र इलाममा खेलाइएको थियो। दोश्रो चरणको खेल र फाइनल विराटनगरमा हुने कार्यक्रम वर्षाका कारण धरानमा सारिएको थियो। जसमा मोरंगको बेलबारी फुटबल क्लबलाई १ का विरुद्ध २ गते हराउदै झापाको सैनिक युथ क्लबले उपाधि हात पारेको थियो।

त्यसैगरि छानविन समितिले मोरंगको बुढीखोलादेखि सुन्दरहरैंचासम्मको सडकखण्डको विषयमा समेत सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख शुभराज न्यौपानेसंग सोधपुछ गरेको छ।सडक निर्माण भएको केही समयभित्रै भत्कनुले कमसल र गुणस्तरहीन काम भएको समितिको भनाइ छ। सो क्रममा सडक डिभिजन कार्यालयका प्रमुख न्यौपानेले सो सडकखण्ड वर्षाका कारण भत्केको जानकारी गराएका थिए।

समिति समक्ष न्यौपानेले भने, ‘‘सडकको छेउमा ड्रेनेज नहुदाँ र पानी निकासीमा समस्या हुदाँ भत्किएको हो। तथापी सो सडक निर्माण गरेको इटहरीको गिताञ्जली, मुसुत र जोशी गरी तीन वटा निर्माण व्यवसायीले सडक मर्मत गर्नेछन्।’’ सो सन्र्दभमा समिति सदस्य कुसुम श्रेष्ठले पर्यटकीयस्थल भेडेटार धरान सडकखण्ड मर्मत गर्न जोड दिएकी थिइन्।

साउन १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्