अनुभूति

बिहे गर्दिन भन्दा आमा खुशी हुनुभयाे, तर किन…?

मलाई थाहा छैन, जिन्दगीको यात्रामा कति घुम्ती पार गरेपछि भेटिन्छ जीवनको गन्तव्य। र यो पनि थाहा छैन जिन्दगीमा पाउनु र गुमाउनुको अर्थ के हो?

‘जिन्दगी कसरी सुखमय हुन्छ?’ यो प्रश्न पछिल्लो समयमा धेरैलाई सोधेँ। मेरो प्रश्नको जवाफमा धेरैले भने, ‘बिहे गर। बिहे गरेसी खुशी मिल्छ।’

त्यसमध्ये थोरैले मलाई कन्भिन्स गराउन भने, ‘बियर पिउनुपर्छ नानी! जाँड खाने गर्‍या छौ? गाँजा तान्ने गरेको छ? त्यसको अनुभव नगरी बिहे गर्‍यो भने मान्छे पछुताउँछाै!’

ती मध्ये ज्यादै थोरैले मात्रै भने, ‘गाह्रो छ। तर हिम्मत गर्नु। आफ्नै खुट्टामा उभिनु। आफ्नै मर्जीमा चल्नु। एकबारको जुनीमा जाबो सम्झौता गरेर के बाँच्नु? म त कसैले बिहे नगरोस् भन्ने सल्लाह दिन्छु’– यस्तो सल्लाह दिनेले पनि यही वर्ष बिहे गरे। म अल्मलमा परेँ।

म के गरुँ?

कहिलेकाहीँ सोच्छु,

कहिल्यै नदेखेको मान्छेसँग एक्कासी ठोक्किँदा के गर्दी हुँ?

एउटा पूरा दिन, रात अथवा सिङ्गो जिन्दगी नै बिताउनु पर्दा के गर्दी हुँ?

सपनामा समेत कहिल्यै नदेखेको अनुहारलाई आफ्नै प्रतिबिम्ब बनाउनु पर्दा के गर्दी हुँ?

सोचिबस्छु यस्तै केही…

सम्झनाको धमिलो एल्बममा आईदिने अनुहारहरु

एक्कासी घामझैँ चहकिलो भएर जिन्दगीमा आयो र ग्रहण लागेसरी जीवनभर बसिराख्याे भने के गर्दी हुँ?

सोचिबस्छु यस्तै केही…

दु:ख सुखसँगै बिताउने वाचा गरेर कोही एक्कासी गायब भईदियो भने के गर्दी हुँ।

आफैलाई सम्हाल्न नसकेर साहारा खोजिरहेको बेला उसलाई र उसको परिवार सम्हाल्नु पर्दा के गर्दी हुँ ।

सोचिबस्छु यस्तै केही…

अस्ति भर्खर फक्रिएको अनुहार दुई दिनमै मुर्झाउन सक्छ।

वर्षौँदेखिको चोटले थलिएको शरीर छिनमै उड्न सक्छ।

उड्दाउड्दैको जिन्दगी

फक्रिदा फक्रिँदैको जिन्दगी

समाजभन्दा बाहिर झर्यो भने के गर्दी हुँ।

सोचिबस्छु यस्तै केही…

‘तेरी दिदीको बिहे गरिदिनु पर्यो। सुध्रन्छे कि!’, बुवाको चिन्ता बोकेर ऊ काठमाडौँसम्म आईपुग्छे। म आश्चर्यले आँखा ठूला पार्छु। ऊ मज्जाले हाँस्छे र भन्छे, ‘अब केटी सुध्रने भई।’

ऊ एकछिन हराउँछे मेरो अगाडिबाट। म अल्मलिन्छु। फेरि ढोकाबाट चिहाउँछे र भन्छे,  ‘अब त बिहे गर्ने होला नि।’ ऊ फेरि गायब हुन्छे। म ढोकातिर हेरिबस्छु। तर यतिबेला ऊ फर्केर आउँदिन।

उसले मलाई कहिल्यै जवाफ नभेटिने प्रश्न छोडेर गएकी छे।

करियर बनाउनको लागि तीस वर्षमा बिहे गर्नुभएकी दिदीले वर्षदिन नपुग्दै चटक्क करियरको माया मारेर गृहस्थ जिन्दगीका लागि समर्पित भएको मैले देखेकी छु।

यदी त्यसरी चटक्कै माया मार्ने भए मरिमरी किन करियर भनेर पछि लाग्न पर्यो? यसै घरमै थन्कने भएसी एक्काईस वर्ष कट्दा नकट्दै बिहे गरे भइहाल्यो नि!

दिदीले दश वर्ष लगाएर बटुलेको जागिरे जिन्दगीको उतारचढाव, सिकेको सीप र मास्टर डिग्रीको सर्टिफिकेटको गृहस्थी जिन्दगीमा के काम?

जागिर सरकारी भए मात्रै छोड् भन्न सक्दैनन्। नभए ‘प्राईभेट जागिर जति भए नि पाईन्छ। अहिले आमा बिरामी हुनुहुन्छ। तिमीले हेर्नु। म कमाउँछु’, भन्छन्। पछि जागिर खान्छु भन्दा अब बच्चा भएपछि है, बच्चा पनि त पाउनु पर्‍याे। फेरि बच्चा चार वर्ष पुर्‍याउनु पर्‍याे। अनि फेरि एउटा सन्तान के सन्तान? अर्को जन्माउनै पर्‍यो।

‘प्लिज समाज छ, परिवार छ। यत्ति मानिदेऊ। यसपछि म तिमीलाई दु:ख दिन्नँ।’, यस्तो मीठो सपना देखाएर जागिरे जिन्दगीबाट दश वर्ष अलग्याईन्छ। संसार घुमिहिड्ने चरी यसरी घरमै थन्किन्छे र असल बुहारी बन्न संघर्ष गर्छे। दुख त आखिर कहाँ छैन र!

यदि उसले बिद्रोह गरी भने?

सुरुमा पतिबाट अलग्गिन्छे। त्यसपछि घरपरिवारबाट, माइतीबाट र अन्त्यमा समाजबाटै उसले अलग्गिनु पर्छ। आफ्नाले मात्रै होइन, पराईले र अझ भनुँ भेटेजति सबैले भन्छन्,‘त्यति सहँदैमा के जान्थ्याे र? हामीले पनि सहेकै छम्। सहँदैमा मरिन्न के रे। मारेछन् भने पनि के र? लोग्नेको हातबाट मर्न पाउनु राम्रै त हो। सँगै बसेसी खुट्टा लागिहाल्छ। आगो पनि नठोसी बल्दैन के रे।’

आफ्नै वरिपरीका साथी सर्कलले भन्छन्, ‘लोग्ने र परिवारलाई रिझाउन गाह्रो छ। करियरको पछि लागेर हुन्छ? आखिर जागिर खाएर हुने के हो र? हामीले जागिर खाएर के गयौँ? कमाएर ल्याईदिने मान्छे भए आफू त खुट्टा हल्लाएर खाईन्थ्यो।’

खुट्टा हल्लाएर खाईन्थ्यो भन्ने पुरुषहरु कहिल्यै श्रीमतीको कमाईमा रमाउन सके? अहँ। बरु उनीहरुले श्रीमतीका लागि सधैँ प्रतिकुल वातावरण बनाईराखे। आजको दिनमा पनि यस्ता चरित्रका पुरुषहरु भेट्टाउन मुस्किल छैन।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍…

बिहे गर्नैपर्छ भन्ने दवावहरु चट्याङसरी बर्सिन थालेपछि सोच्न थालेँ, ‘म के गरुँ?’

यसरी बिहेको बारेमा सोच्दासोच्दै निदाउन थालेको पनि एक महिना भयो। यो एक महिनासम्म धाराप्रवाह सपना देखिरहेँ।

एउटा धनी केटाले आफूभन्दा दश वर्ष कम उमेरकी केटीसँग बिहे गर्छ। उसले भर्खर बिहे गरेर ल्याएकी श्रीमती कुट्छ। हामी चुपचाप हेरिबस्छौँ।

यसरी एक महिनासम्म उसले गरेको ज्यादती हेरेपछि मान्छेहरु दिक्क हुन्छन्। एक दिन म मकैबारीमा मकै गोड्दै लुकीछिपी परैबाट उनीहरुलाई हेर्छु। उसले श्रीमतीको स्तन गिजोल्न थाल्छ। पीडा सहन नसकेपछि श्रीमतीले प्रतिकार गर्छे र जोडले चिच्याउँछे। यसरी ऊ कहिल्यै चिच्याएकी थिइन।

उसको त्यो आवाज मलाई आफ्नै जस्तो लाग्छ। म मकै गोड्दा गोड्दैको कुटो फाल्छु र उनीहरुको घरमा पुगेर ढोका ढक्ढकाउँछु। ‘अब  अति भयाे, पुलिसलाई खबर गर्नैपर्छ।’

मेरो कुरा सुनेर आठ, दश जना भेला हुन्छन्। तर त्यहाँ कुनै झगडा थिएन। मोटरसाइकलले धुलो उडाउँदै अगाडि बढ्छ।

सबैलाई थाहा थियो, अघि भर्खरको चित्कार एउटी नवयौवनाको हो। तैपनि सबै जना नसुनेझैँ  उल्टै मलाई गाली गर्छन्। ‘कानको अप्रेशन गर्नु अब। कान नसुन्नेले अरुका लोग्नेस्वास्नी झगडा गरेको सुन्ने?’

म भर्खरै धुलो उडाउँदै गएको मोटरसाईकल ठम्याउँन खोज्छु। देख्दिन। थचक्क बस्न खोज्दा खाटबाट तल खस्छु।

एक महिनासम्म यहि सपना दोहोरिरह्यो। म सोच्न थालेँ– ‘पहिलो दिनको सपनामा नै पुलिसलाई खबर गरेको र उनीहरु बेपत्ता भएको किन देखिन? अरु बोल्लान् कि भनेर सपनामा पनि किन पर्खि बसेँ म? ओहो! कस्तो भयङ्कर सपना। सपनाको अर्थ हुन्छ भन्छन्। मेरो सपनाको अर्थ के होला?’

आज पनि अधिकांश परिवारमा महिलाको स्थान नोकरभन्दा बढी छैन।

प्रेम विवाह गरेका दिदीहरु कहिलेकाहीँ सुनाउँछन्, ‘प्रेम गर्नु र बिहे गर्नु फरक कुरा हो। बुढाले दुईचार लात्ती हानिहाल्छन् नि!’, अनि मुस्किलले मुस्कुराउँदै भन्छन्, ‘सबैकुरा सहेको भए त के हान्थे! माया गर्थे होलान्। मुखमुखै लागेसी यस्तै हो। कसलाई मनपर्छ र?’

मैले उनीहरुको कुरालाई कहिल्यै पनि गम्भीर रुपमा लिएकै थिइँन। उनीहरुको जिन्दगी हो। श्रीमान् रिझाउन पर्यो नि ! यस्तै सोच्थेँ। अहिले आफ्नो सोच देखेर आफैप्रति दया लाग्छ। म कति स्वार्थी रहेछु!

मेरो दिमागमा श्रीमान् स्वास्नी कुट्ने हुन्छन् भन्ने मात्रै रहेछ। भर्खर थाहा पाउँदैछु। सपनामा पनि श्रीमानले श्रीमतीलाई दु:ख दिएको र आफू रमिते बनेको बाहेक केही देख्दिँन। लामो स्वास तान्छु। उफ् !

श्रीमानले श्रीमतीलाई प्रेम गर्छन्। अगाडि बढ्न प्रेरित गर्छन्। सुख दु:खमा साथ दिन्छन्। भरोसाका बलिया आधार हुन् भन्ने कुरा मेरो अवचेतनमा नभएकै हो?

बिहे भन्ने शब्दसँग डर मान्नुपर्ने अवस्था के कारणले भयो? किन बिहे शब्द सुन्दा मात्रै पनि मन आतङ्कित हुन्छ? कहिलेकाँही सोचिबस्छु यस्तै केही।

एक दिन चोकमा पुगेर कोठामा छिर्नै लागेकी थिएँ। पल्लो घरबाट चिच्याएको आवाज आयो। सबैजना बाहिरबाट सुनेर बसे। सबैलाई थाहा थियो घरभित्र झगडा भइरहेको छ भन्ने। तर गेट पार गरेर भित्र छिर्ने साहस कसैले देखाएनन्। मैले जाँउ कि सोचेँ तर सकिँन।

कसलाई के भएछ भन्ने खुल्दुली भयो मलाई।

केहीबेरमा नाकबाट रगत बगाउँदै मेरै उमेरको केटो गेटबाट बाहिरियो। उसलाई छतबाट कसैले सोध्यो, ‘भाई भित्र के भएको?’

‘बाउले आमालाई कुट्यो। छुटाउन गएको मारमा परेँ। साला ! त्यसलाई जेलमा नजाकी छाड्दिनँ।’

उसको कुरा सुन्नेहरुले खासखुस गरे, ‘रक्सी खाएर मात्यो होला अनि पिट्यो। यस्तै हो। बुढाबुढीको ठाकठुक त भैहाल्छ नि! बरु त्यो छोरो बीचमा नगएको भए हुने।’

सधैँ सामान किन्न जाने पसलको आन्टीसँग अंकल नहुदाँ कहिलेकाहीँ बात मार्छु। ‘आन्टी! अंकलले गर्लफ्रेण्ड लिएर हिँडेको देख्नुभयो भने के गर्नुहुन्छ?’ आन्टी मुसुक्क हाँस्नुहुन्छ। ‘हिँडे के त। आखिर घर फर्कनैपर्छ केरे।’

‘अनि तपाईँ ब्वाईफ्रेण्ड बनाएर हिँड्नुभयो भने?’

‘छ्या! के साधेकी सिमाना! छोराछोरी छन्। समाज छ। फेरि त्यसरी हिँड्न थालियो भने अंकलले छाडिहाल्छन् नि। चरित्रवान् हुनपर्छ। संस्कारी हुनपर्छ। अनि पो माया गर्छन्। त्यसरी छुट्टिएर परिवार कहीँ बन्छ?’

म फेरि सोध्छु, ‘अंकलले गर्लफ्रेण्ड बनाउनु भयो भने साँच्चै तपाईँलाई नराम्रो लाग्दैन।’

‘किन लाग्नु? झन् आनन्दै हुन्छ।’

‘मतलब?’

‘बिहे गर्नु अनि बुझ्नुहुन्छ। के हुनुभएको सिमाना तपाईँ? यस्तो पनि सोध्ने हो?’

बिहे गरेपछिका सुखद् अनुभव मैले कहिल्यै सुन्न पाएकी रहेनछु। जीवनमा सुन्न बाँकी धेरै कुराहरु होलान्। कहिले सुन्न पाउँछु कुन्नि!

सुनाउनेहरुले बिहे गरेसी खानलाउनको दु:ख छैन भन्ने बाहेक अरु केही सुनाएकै छैनन्।  चिटिक्क सजिएर हिँडेसी, लोग्नेको हात समातेको देखेसी, अनि घर सम्हालेर घरभित्रै बसिराखेसी ऊ सुखी छे भनेर सोच्ने हामीहरुले उनीहरुका दु:खहरु पनि छन् भन्ने कहिल्यै महसुस गरेनौँ। उनीहरुले पनि बिहे गरेर खुशी छु भन्ने देखाईरहे। के उनीहरु साँच्चै खुशी छन् त?

ममीलाई सानो हुँदा सोधेकी थिएँ। अहिले यस्तो कुरै कहाँ हुन्छ र?

हामी ठूलो हुँदै गएपछि ममीलाई सोध्नुपर्ने धेरै कुराहरु सोध्न जरुरी ठान्दैनौँ। किनकी आमाहरु रेडिमेड उत्तर दिन्छन्। अझ धेरै कुराहरु नबोलिकनै बताउँछन्।

हामीले ती कुरा बुझ्ने मुटु कहाँ बनाईसकेका छौ र!

‘ममी बुवाले तपाईँलाई माया गर्नुहुन्न हो? नभए किन छाडेर जानुभयो?’, ममीले आँखाभरी आँसु पारेर भन्नुभयो, ‘तिमीहरुलाई माया गर्छन्। भईहाल्यो नि!’

आज वर्षौँपछि ममीको यो उत्तरले मन बिझाईरहेको छ। आमाहरु यहीँ कारण महान् मानिन्छन्। तर अबका आमाहरु महान् नबनिदिए हुन्थ्यो। सबै आमा विद्रोही बनेर निस्किए भने?

‘म बिहे गरुँ ?’ वैवाहिक जिन्दगीमा रमाईरहेकी साथीलाई फोनमा सोधेँ।

‘गरे नि हुन्छ, नगरे नि हुन्छ।’

‘ह्या! के गर्दा राम्रो हुन्छ भन न।’– मैले जिद्दि गरेँ।

‘गर न गर। तर एक्लै सक्ने भए नगरे पनि हुन्छ।’ उत्तर पाउने सुविधाले सोधेको प्रश्नले मनमा झन् दुविधा ल्याईदियाे।

केही समयपछि घरबाट फोन आउँछ। ‘राम्रो घरबाट कुरो आएको छ। फोटो हेरेसी केटोले मन परायो अनि केटाको घरबाट पनि। तेरो स्वीकृति भयो भने यही मंसिरमा बिहे गर्ने भन्या छन्। के भन्दिने हो?’ बुवाले सोध्न लगाएको प्रश्न ममीले एकै स्वासमा सुनाउनुभयो। ‘पछि भनम्ला।’ भनेर मैले फोन काटिदिएँ ।

त्यसको आधा घण्टापछि बुवाको मोबाईलमा फोन गर्छु। ‘ममी बुवा हुनुहुन्छ कि नाईँ?’

‘भर्खर पानी लगाउन जानुभयो। भन न किन हो?’

‘म साँच्चै बिहे गरुँम्?’ एक पटक फेरि सोधेँ ममिलाई।

‘बैङ्कमा जागिर खा। आफ्नो खुट्टामा उभिई। किन गर्न पर्यो बिहे?’ ममी सुक्सुकाउन थाल्नुभयो।

‘बिहे नगरोस् भन्ने किन लाग्छ ?’ मैले जिज्ञासा राखेँ।

‘खै किन लाग्छ, लाग्छ। तिमारुले कहिल्यै जस दिदैनौँ अनि।’

‘ममी साँच्चै हाम्रै कारणले हो दु:खी हुनुभएको? सन्तान नजन्माउँला नि त। हुन्न?’ ममी फोनमा धेरै समय मौन रहनुभयो।

ममी नबाेलेपछि मैले बाेलाएँ, ‘ममी…’

उताबाट सुस्तरी आवाज आउँछ। ‘सन्तानले त सधैँ खुशी दिन्छन्। तैँले बैंकमा काम गरेको हेर्ने रहर छ।’

‘दु:ख कसले दिन्छ त उसोभए?’

ममी मौन फेरि मौन बस्नुहुन्छ।

ममीले दिन नसक्ने उत्तर सोधेँ शायद। कि उत्तर दिन जरुरी ठान्नु भएन?

जे होस् ममी बोल्नुहुन्न। एउटा प्रश्न मौनतामै हराउँछ।

‘ममी म बिहे गर्दिनँ।’ ममी खुशीले बोल्नुहुन्छ, ‘ल ल, म बुवालाई भन्दिन्छु।

‘साँच्चै गर्दिनस् नि!’

‘साँच्चै भनेको। म बिहे गर्दिनँ।’

‘ल ल! बुवा आउनुभयो। आमाछोरी के–के बोले भन्ने हुन् फेरि।’ ममीले फोन काट्नु भयो।

मैले बिहे गर्दिनँ भन्दा ममी किन खुशी हुनुभयाे। बुवाले बिहे गरोस् भन्ने किन चाहनुहुन्छ?

साउन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्