भयावह बन्दै इबोला महामारी

५०% इबोला संक्रमित पहुँच बाहिर, महामारी अन्त्य हुन तीन वर्ष लाग्ने चेतावनी

प्रजातान्त्रिक गणतन्त्र कंगोमा हाल इबोलाको महामारी फैलिएको छ । हालसम्म इबोलाका ५० प्रतिशत संक्रमण मात्रै पहिचान भएको इबोलाविरुद्धको अभियानमा समन्वय गरिरहेको सरकारी टोलीले बताएको छ ।

हाल फैलिएको महामारी अन्त्य हुनका लागि तीन वर्षसम्म लाग्ने समन्वय समितिका जोँ ज्याक्स मुएम्बीले चेतावनी दिएका छन् ।

रुवाण्डासँग सीमा जोडिएको गोमा शहरमा पनि इबोलाको संक्रमण फैलिएपछि चिन्ता थपिएको छ । यो हप्ता इबोलाका कारण निधन भएका गोमाका एक व्यक्तिका १० सन्तान रहेको र अरु धेरै व्यक्तिमा पनि संक्रमण फैलिएको उनले बताएका छन् ।

इबोला संक्रमणका कारण १८ सय भन्दा बढीको ज्यान गइसकेको छ । कम्तिमा २७ सय जना इबोलाबाट संक्रमित भएको जनाइएको छ । कंगोको इतिहासमा यो हालसम्मकै भयानक इबोला संक्रमण हो ।

कंगोमा जारी हिंसाका कारण इबोलाविरुद्धको अभियानमा समस्या आएको छ ।

यो हप्ताको सुरुमा रुवाण्डाले संक्रमण फैलिन सक्ने भयमा कंगोसँगको सीमा क्षेत्र आंशिक रुपमा बन्द गरेको छ ।

गोमाका शुक्रबार समन्वय समितिका मुएम्बीले इबोला महामारी नियन्त्रणका लागि अहिले गरिएको भन्दा थप प्रयासको खाँचो रहेको बताएका हुन् । अहिले पहिचान भएको जति नै इबोलाको संक्रमण पहिचान भन्दा बाहिर रहेको हुन सक्ने र त्यसले समस्या विकराल बन्ने उनले बताएका हुन् ।

उनले चेतावनी दिँदै भने, ‘हामीले इबोलाविरुद्धको अभियान अहिलेको जस्तै कायम राख्ने हो भने यो नियन्त्रणमा आउन दुई या तीन वर्ष लाग्नेछ।’

सुन खानीमा काम गर्ने गोमाका एक व्यक्तिको हालै निधन भएको विषयमा उनले भने, ‘ती व्यक्तिबाट अरु धेरैमा इबोला सरेको हुन सक्छ । तर हालका लागि उनकी श्रीमती र १० मध्ये एक सन्तान मात्रै बिरामी भएका छन् ।’

मृत्यु भएका व्यक्तिकी बहिनी दक्षिण किभू प्रान्त गएकी थिइन्, तर उनलाई गोमामै ल्याइएको उनले बताएका छन् ।

गोमामा इबोलाको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले इबोला संक्रमणलाई विश्वव्यापी चासोको स्वास्थ्य आपतकाल घोषित गरेको थियो ।

इबोला संक्रमित क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा जाँदै । तस्बिर : एएफपी–गेट्टी इमेज

उत्तर किभू प्रान्तको राजधानी गोमामा २० लाख मानिसको बसोबास छ । गोमासँग सीमा जोडिएको रुवाण्डाको गिसेनयी शहरमा झण्डै ८५ हजार मानिसको बसोबास छ । गोमाका धेरै बासिन्दा रुवाण्डा तिर तथा रुवाण्डाका बासिन्दा गोमा तिर आउने गरेका छन् ।

इबोलाविरुद्धको अभियानमा जुटेकामाथि हुने गरेका हिंसात्मक घटनाले समस्या भइरहेको छ । यो वर्ष हालसम्म सातजनाको इबोलाविरुद्धको अभियानकै क्रममा ज्यान गएको छ भने ५८ जना घाइते भएका छन् । हालसम्म यो वर्ष इबोलाविरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मीको टोलीलाई लक्षित गरी १९८ पटक आक्रमण भएको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकी क्षेत्रमा फैलिएको इबोला महामारीका कारण ११ हजार भन्दा बढीको ज्यान गएको थियो । कंगोमा पछिल्लो पटकको महामारी सन् २०१८ को अगस्टमा सुरु भएको हो । हाल कंगोका नर्थ किभू र इतुरी प्रान्तमा महामारी छ।

साउन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्