खेलकुद मैदानसँग अनाैठाे नाता गाँसिएका पञ्चमानकाे कथा

मोरङ– पञ्चमान थापा विराटनगरको शहिद मैदानमा बिहान–बेलुकै भेटिन्छन्। उमेरले ६ दशक नाघिसक्यो। अनुहारकाे छाला लत्रिएकाे देखिन्छ। तर पनि खेलप्रतिको मोह भने झन् झन् बढ्दो छ।

२०/२२ वर्षको अल्लारे उमेरमा खोटाङबाट तराई पसेका थापा विराटनगरमा शहिद मैदान वरिपरि डुली हिड्थे।

खेलकुद मनपराउथे तर, खेल्न जान्दैनथे। उ बेलाको कुरा सम्झँदै गर्दा थापा भन्छन्, ‘२०३७ सालमा लाहान निवासी सरस्वतीसँग विवाह गरेँ र विराटनगर झरेँ। त्यसपछि खोटाङ फर्केको छुइन्।’

उनले आफ्नाे पहाड घरको ठेगानासमेत बिर्सिसकेका छन्।

मुलुकमा प्रजातन्त्रको विगुल फुकिँदै थियो। तर त्यसअघि तत्कालिन समयमा अञ्चालाधिशको कार्यालय विराटनगरमा कार्यरत थिए रामभक्त श्रेष्ठ।

विराटनगर टाउन क्लब र काठमाडौँको फ्रेण्डस क्लबबाट राष्ट्रियस्तरको फुटबल खेलिसकेका श्रेष्ठ अञ्चलाधीशको कार्यालयबाट खेलकुदको जिम्मेवारी बहन गर्थे।

उनै श्रेष्ठको ठाडो निर्देशनमा पञ्चमान करारमा शहिद मैदान हेरचाहका लागि खटाइए। त्यसपछि उनी खेलकुदका लागि अहोरात्र खटिएका छन्।

त्यसपछि मैदानसँग यस्तो माया बस्यो कि फूलमा माहुरी झैँ। उनी भन्छन्, ‘माहुरी त फुलबाट रस लिन्छ र फर्कन्छ। तर मलाई यो ठाँउ छोडेर जान कहिल्यै मन लागेन। बरु यहाँ आउन नपाउँदा खल्लो लाग्ने गर्छ।’

अब त उमेरले पनि घरमै बस्नु भन्छ होला नि? भन्ने प्रश्नमा मन्दमुस्कानसहित मुजामुजा परेर अनुहारबाट सुस्तरी आवाज आयो, ‘उ बेला विवाह गर्दा श्रीमतीसँग माया बस्यो, त्यसपछि त अहिले दोश्रो श्रीमती झै खेलकुद मैदानसँग माया बस्यो। यहाँबाट कतै जानै मन लाग्दैन। बस यहीँ आयो दिन काट्यो।’

‘काम गर्ने सिलसिलामा कति कर्मचारी झर्किन्छन्, कतिले रिस देखाउछन् तरपनि उनी आफ्नो कार्यमा तल्लिन रहन्छन्, उनको यही बानीले सबैको मन जितेको छ’, फुटबलका प्रशिक्षक पारस चौधरी भन्छन्।

दुई छोरा एक छोरीका पिता थापाले पारिवारिक व्यवहार हलुको गरिसकेका छन्। घरमा नातिनातिना खेलाएर बस्ने उमेरमा उनी मैदानको चौतर्फी काममा दौडिरहेका हुन्छन्।

फुटबलका पूर्व सहायक रेफ्री मधुसुदन खनाल भन्छन्, ‘धेरै लामो समयदेखि उनी यहाँ कार्यरत रहेका छन्। उनी यहाँ रहँदा खेलकुद आयोजनाका लागि समेत सहजता हुने गरेको छ। सहयोगी छन्।’

सहिद मैदानमा खटिए पनि उनको रुची भने ब्याडमिन्टन रहेछ। एकपटक नजिकैको कर्भड हलमा खेल्न समेत पुगेछन्। तर किन हो त्यसपछि र्‍याकेट समात्ने मौका उनलाई जुरेन। उनी सम्झन्छन्,‘उहिले एकपटक चाहीँ ब्यामिन्टन खेलेँ तर त्यसपछि चाहीँ अघि बढिन।’

को खेलाडी मन पर्छन् भन्ने सन्दर्भमा उनी पुराना दिन सम्झन्छन्, ‘नयाँ खेलाडीमा त्यो जोश जाँगर नै देख्दिन, उ बेला रामभक्त श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ लगायतको फुटबल हेर्न लायकको हुन्थ्यो। दुवैको म त एकदम फ्यान। शहिद मैदानमा खेल हुँदा घेरा लगाएको हुन्थ्यो। तर म नाघेरै हेर्न आउथेँ।’

यति कुरा गर्दा उनको पत्रैपत्र परेको छाला तन्किदै अनुहारमा मुस्कान छायो। कारण थियो त्यतिबेलाको आफ्नाे गल्ती। त्यति बेला रकम तिरेर खेल हेर्नुपर्थ्याे, तर उनी घेराबाट कसैले नदेख्ने गरि नाघेर मैदानमा पुग्थे।

खेलकुद मनपर्ने र त्यसकै कारण आफू यहाँ आउने गरेको बताएका थापालाई केही वर्षअघि सम्पन्न दिवारात्रीको विराट गोल्डकपमा भने चित्त बुझेको रहेनछ।

उनी भन्छन्, ‘खेलकुदका कुनै पनि कार्यक्रममा बाहिर हुन्न। सबैले माया नै गर्नुहुन्छ। तर विराट गोल्डकपको समयमा भने कसैले मलाई टिकट पास दिएनन्। यहाँ काम गर्ने हुँ भन्दासमेत खेलका क्रममा भित्र पस्न दिएनन्। त्यसपछि मैले यहाँ खेल नै हेरिन।’

जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय प्रमुख देवराज कटुवाल अनुसार हाल उनलाई समितिको आन्तरिक श्रोतबाट ८ हजार ५ सय र थप १ हजार ५ सय गरि कुल १० हजार रुपैयाँ मासिक उपलब्ध हुँदै आएको छ।

कटुवाल भन्छन्, ‘थापाको मेहनत र लगनशीलताका कारण कान्छो छोरा डम्बरलाई यहीँ करारमा राखिएको छ। जसलाई राष्ट्रिय खेलकुद परिषदबाट पारिश्रमिक उपलब्ध हुन्छ।’

उनका कान्छो छोरा डम्बर २०७२ साल साउनबाट मोरङ जिल्ला खेलकुद विकास समितिमा करारमा नियुक्त भएका छन्। जेठा छाेरा दीपेन्द्र एक उद्योगमा सामान्य काम गर्ने गरेको बताए।

विदाको दिन उनी मैदानमा खेलकुद भए घरमा बस्दैनन्। उनी नत्र अन्य कामकाजी दिन भने बिहान ९ बजे कार्यालय, मुख्यद्वारको ताला खोल्न पुगिसक्छन्।

बेलुका ७ बजे मैदानको सबै काम सकेर उनी घर फर्कन्छन्। अब उनको एउटै ध्येय भनेको डम्बरलाई यही स्थायी जागिरे बनेको हेर्ने, उनी भन्छन्, ‘यसको जागिर स्थायी होस्।’

साउन १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू